आजदेखि खोप कार्ड अनिवार्य

काठमाडौँ । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीको निर्णयअनुसार गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरेको हो ।

सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरूले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । सबै निकायहरूले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेशमा उल्लेख छ ।

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।

सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनोलगायत बन्द गर्ने निर्णय भएको छ । यस्तै शैक्षिक संस्थाहरूले भौतिक रूपमा पठन पाठन नगर्ने निर्णय भएको छ भने परीक्षाहरू पनि स्थगित गर्ने निर्णय भएको छ ।
सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, विदेशबाट आउँदा ५ दिन होम क्वारेन्टिनमा बस्न पनि स्थानीय प्रशासनले आदेश दिएको छ । यसैगरी सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी हुन नपाइने निर्णय गरिएको छ भने खोप कार्ड पनि अनिवार्य गरिएको छ ।

यस्तै विवाह, व्रतबन्ध,लगायतका सामाजिक कार्यमा २० जनाको उपस्थिति हुन छुट दिइएको छ भने पार्टी प्यालेस प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्नेछ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरेर रेस्टुरेन्ट खोल्ने, जोर बिजोरका आधारमा निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्ने, मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *