‘भाइरल’ कथाका गुमनाम लेखक

काठमाडौँ । मनका भावना वा कल्पना शब्दमा पोख्ने क्षमता सबैमा हुँदैन । कोही लजाउँछन् त कोही धकाउँछन् । कोही आँट गर्दैनन् त कोही जान्दैनन् । जसले गर्दा व्यक्त गर्न चाहेका कुराहरू मनमै गुम्स्याइराख्नुपर्छ । कतिपयले व्यक्त त गर्छन्, तर ती अरुका लागि रुचीकर नहुन सक्छन् । यसैकारण लेखन एउटा विशेष कला हो । शैली र शिल्प मिलाएर व्यक्त भएका भावनामा बन्ने कथा धेरैले मन पराउँछन् । मन पराउने मात्र होइन, यो त मेरै लागि लेखिएको हो भन्ठान्छन् ।

मनभित्रका भावनालाई धेरैको मन छुने बान्कीमा अभिव्यक्त गर्ने व्यक्ति हुन् रविन सापकोटा । उनले लेखेका कथाहरू सामाजिक सञ्जालमा ‘भाइरल’ हुने गरेका छन् । तर, उनी भने गुमनाम छन् । उनले लेखेका कथाहरू युवामाझ अति परिचित छन् । तर, त्यसको लेखक को हो भन्ने कमैलाई मात्र थाहा छ । यसको कारण छ । सामाजिक सञ्जालमा उनका कथाहरू वाचन गर्नेहरू धरै छन् । जसमध्ये केही केहीले मात्र यो कथा रविनले लखेको भनेर ‘क्रेडिट’ दिन्छन् । केहीले आफ्नै जस्तो बनाएर त केहीले त्यसमा तोडमोड गरेर पनि वाचन गर्ने गरेका छन् ।

भाइरल बनेका कथाहरूमा मलाई क्रेडिट नै दिइएन ।

पछिल्लो समय ‘आन्टी चिया बन्छ ? मैले चिया पसलको आन्टीलाई सोधेँ ।’ यो वाक्य धेरैले सुनेको हुनुपर्छ । यसका धेरै ट्रोल र विज्ञापनसमेत बनेका छन् । रविनले लेखेको यो कथा साइग्रेस पोखरेलले वाचन गरेर आफ्नो यूट्युब च्यानलमा राखेका छन् । जुन लाखाैंले हेरेका छन् । सन् २०२० मा ब्राह्मण समूह नामको ग्रुपमा पहिलोपटक पोस्ट भएको यो स्टोरी फेसबूकमा २ सय भन्दा बढी ग्रुपमा सेयर भएको छ ।

रविनले लेखेका सबै छोटा कथाहरू युवा पुस्तामाझ लोकप्रिय भएपनि यो सबैभन्दा बढी मन पराइएको कथा हो ।

सामान्य जीवन, उस्तै संघर्ष

काभ्रेपलाञ्चोकको ‘रयाँले’ गाउँमा जन्मिएका रविनको जीवनमा थुप्रै संघर्षका कथा छन् । किसान परिवारमा जन्मिएका रविनले सुखदु:ख, अभाव सबै झेलेका छन् ।

लेखन उनको मूल पेशा होइन । उनी जीविकाेपार्जनका लागि अरु नै काम गर्छन् । जसबाट केही रकम आफ्ना बा, आमालाई दिन पाउँदा अति नै आनन्द लाग्ने उनले सुनाए । हालैको भेटमा मकालुखबरसँग उनले भने– ‘छुट्टि भयो कि घर गइहाल्छु । खेतीपाती आफैँले गर्ने हुँदा बा आमालाई सघाउन पुग्नैपर्छ । घुमफिर गर्ने समय नै हुँदैन ।’ घर जान एउटा ‘थोत्रो’ स्कूटरले सहयोग गर्ने रविन सुनाउँछन् । ‘निकै वर्ष लगाएर जोहो गरेको रकमले किनेको स्कूटरले कहिलेकाहीँ स्टार्ट नै नभएर सताउँछ,’ रविन फिस्स हाँसे ।

भाइरलको भोक छैन

|लेखक : रविन सापकाेटा|

काम गर्ने क्रममा नै कथा फुर्ने रविन सुनाउँछन् । रविनले लेखेका कुनै कुनै कथा वास्तविक भएपनि प्रायः काल्पनिक नै हुन्छन् । कुनै भोगेर, कुनै देखेर त कुनै कल्पेर शब्द र ढाँचामा कथा लेख्ने उनले बताए ।  यस्ता कथा उनी पहिले आफ्नो फेसबूकमा पोस्ट र ग्रुपहरूमा सेयर गर्छन् । उनको आफ्नै फेसबूक पेज र यूट्युब च्यानल भने छैन । उनका कथा वाचन गरेर पेजमा लाइक बनाउने र यूट्युबमा सब्स्क्राइब अनि भ्युज बढाउने भने धेरै छन् ।

उनी सामाजिक सञ्जालमा आफूले लेखेका कथाहरू व्यापक सेयर भएको देख्छन्, कति राम्रो शब्द भनेर कमेन्ट लेखेको देख्छन् तर कसैलाई त्यो कथाको लेखक म हुँ भन्दैनन् । किन त ? रविनले हाँस्दै भन्छन्— ‘मलाई भाइरलको भोक छैन । म व्यवसायिक लेखक पनि हाेइन । मेरो शब्द मन परादिँदा खुसी लाग्छ । त्यति मै म सन्तुष्ट छु ।’

उनका कति कथा त अनुममतिबिना नै वाचन भएको हुन्छ । कतिपयले यो कथा कसले लेखेको हो वा आफूले कहाँबाट साभार गरेको हो भन्नेधरि भन्दैनन् । ‘ उहाँहरूले त्यसै गर्दै आउनुभएको छ । म पोष्टमा मलाई चिन्नेहरूले कमेन्टमा मेन्सन गरेपछि मात्र थाहा पाउँछु । त्यसै गर्नुहुन्छ । क-कसलाई क्रेडिट चाहियो भन्नु ?,’ रविनले भने ।

युवापुस्ता माझ बढी चर्चा

रविनले लेखेकामध्ये ‘आन्टी चिया बन्छ ?’, ‘पुरुष हराएको सूचना’, ‘मैले नि बाइक किनेँ नि’, ‘निर्मला र सम्झनालाई न्याय’, ‘डिभोर्स एनिभर्सरी’ बढी चर्चित छन् ।

खासगरिकन युवा पुस्तामा उनका कथा बढी लोकप्रिय छन् । आफूले लेखेका कथा युवा पुस्ताले बढी मन पराउनुमा आफ्नैजस्ता कथा हजारौँ युवाले बोकेर हिँड्ने कारणले हो भन्ने रविनलाई लाग्दो रहेछ । भन्छन्— ‘यहाँ हरेक युवा समान संघर्ष, उस्तै भावना बोकेर बिरक्तिएर हिँडिहरेका हुन्छन् । सपना देख्नु र पूरा गर्न नसक्नु जस्ता कुरा मिल्ने अनि आफूसँग कनेक्ट हुने भएर होला ।’ यो कुरालाई पुष्टि गर्दै उनले थपे– ‘मानिसलाई गीतका शब्द पनि आफूसँग मिलेपछि बढी मन पर्छन् । आफ्नो कथा बोल्ने गीतले छुन्छन् । त्यस्तै त हो । त्यसैले मेरै उमेरकाले मेरा शब्दलाई बढी रुचाउनुहुन्छ । उहाँहरूकाे साझा भोगाइका कथा लेख्न सक्दा सन्तुष्टि मिल्छ ।’

अबको योजना

रविन अब भने आफ्नो कथालाई यत्तिकै पोस्ट नगर्ने योजनामा छन् । आफ्ना कथालाई व्यवसायिक बनाउने योजना छ उनको । रविन भन्छन्– ‘अनुमति नै नलिइ जताततै पोस्ट गरिने, अझ आफ्नै सिर्जनाजस्तो गर्ने अनि उनीहरूले नै आर्थिक लाभसमेत लिने कुरा त न्यायोचित भएन नि, त्यसैले अब अझै राम्रो लेख्ने र त्यसको जस अपजस पनि आफैँ लिने योजनामा छु ।’

रविनले आफूलाई कथा लेख्न आग्रह गर्ने धेरैजना भएकाले उनीहरूसँग सम्झौता नै गरेर काम गर्ने तयारी भइरहेको उनले बताए । अहिलेसम्मका कथाबाट पैसा कमाउन नसकेपनि धेरैले चिन्दै गएकोमा उनी खुसी छन्शी उनी । ‘अहिलेसम्म जे भयो ठिकै छ अब भने अलि फरक ढङ्गले अघि बढ्ने योजनामा छु,’ रविन सुनाउँछन् ।

प्रतिक्रिया

One thought on “‘भाइरल’ कथाका गुमनाम लेखक

Leave a Reply

Your email address will not be published. Required fields are marked *