क्यामेरा र चरा भनेपछि हुरुक्क ओम

काठमाडौँ । आफूलाई रुचि भएको काम गर्न सबैले पाउँदैनन् । त्यसैले पनि होला मन लागेको काम गर्न पाउनुलाई भाग्यको रूपमा पनि अर्थ्याउने गरिन्छ । फोटोग्राफर ओम यादव त्यस्तै ‘भाग्यमानी’ व्यक्ति हुन् जो आफ्नो रुचिको क्षेत्रमा अघि बढ्न पाएका छन् । ओम विराटनगरमा जन्मिए । सिरहा घर भएका ओमको मामाघर विराटनगर थियो । तर हुर्किए काठमाडौँमा ।

उनी पढ्नको लागि २०४१ सालमा काठमाडाैँ आए । तर बुबा व्यापारी  भएकाले त्यसबेलाको सशस्त्र द्वन्द्वका कारण २०५७ सालमा परिवार नै सिरहाबाट काठमाडौँ आउनुपरेको ओमले सुनाए ।

विद्यालय तहसम्म बुढानीलकण्ठ स्कुलबाट पूरा गरेका उनले त्यसपछि विज्ञान हुँदै सूचना प्रविधि पढे । ओमले ग्राफिक्स डिजाइन, प्रोगामिङ र पाठ्यक्रम विकास सम्बन्धी धेरै काम धेरै कार्यालयमा काम गरे । तर, आफ्नो मुख्य रुचि भनेको फोटोग्राफी र त्यसमा पनि ‘वाइल्डलाइफ फोटोग्राफी’ रहेको ओम बताउँछन् । ललितपुरको कुपण्डोलमा उनको ‘फोटोवाक’ स्टुडियो छ । जहाँ उनले फोटोग्राफीसँग सम्बन्धित काम गर्छन् ।

उनले पेसागत रूपमा सन् १९९८ देखि फोटोग्राफी सुरु गरेका हुन् । भलै, फोटो खिच्न भने विद्यालयमा पढ्दादेखि थालिसकेका थिए । औपचारिक रूपमा फोटोग्राफी थाल्दाका बखत कतैबाट पनि सकारात्मक प्रतिक्रिया नपाउँदा उनी निराश भए । तर आफूलाई मन पर्ने विषयमै लागिरहे मात्रै राम्रो नतिजा दिन सकिन्छ भन्ने बुझेका उनी विचलित भने भएनन् । सन् २००६ मा भएको ‘नेचर फोटोग्राफी कन्टेस्ट’ मा आफूले खिचेकाे फोटो पुरस्कृत भएपछि आफ्नो फोटोग्राफीको यात्रा र परिवेश अझ फराकिलो भएको ओम बताउँछन् ।

वाइल्डलाइफ फोटोग्राफी नै किन त ?

आफू एकान्तप्रेमी भएको ओम बताउँछन् । आफूलाई सुनसान ठाउँमा बस्न, समय बिताउन औधी मनपर्ने भएकाले सानैदेखि बगैँचामा टहलिने गरेको उनी अझैपनि सम्झन्छन् । ‘बगैँचामा बस्दा दैनिक आउने पुतली, चरालगायतका किटपतङ्ग मन पर्ने भएकाले त्यसैको फोटो खिच्न थालेँ ।

यसरी फोटो खिच्दा खिच्दै मलाई फोटो खिच्ने बानी नै लाग्यो’ ओमले मकालुखबरलाई बताए । जंगल, जंगली जीवन र प्रकृतिको फोटो खिच्दै हिँड्नुको मुख्य कारण भने अर्कै रहेको ओमले सुनाए । काठमाडौँमा फोहोरका डङ्गुर, गरिबी, रोडको बिचमा बिरामी परेर सुतिरहेको गाई, दुःख, भोक र शोकका तस्बिरहरू धेरै चर्चामा रहने गरेपछि नेपालमा त्यो मात्रै छैन । भन्ने चिनाउन आफू वाइल्डलाइफ फोटोग्राफीमा तानिएको उनी बताउँछन् ।

‘यहाँ त प्राकृतिक सुन्दरता, जैविक विविधता, सुन्दर प्राणी र उनीहरूको जीवनका लोभलाग्दा तस्बिरहरू पनि त ल्याउन सकिन्छ नि भन्ने लाग्यो’ उनले हाँस्दै सुनाए ‘एकातिर यो पक्ष र अर्कोतिर बगैँचामा टहलिने र फोटो खिच्ने क्रममा चरा र पुतलीसँगको प्रेम, यी दुवै पक्षहरू मिलेपछि मैले ‘वाइल्डलाइफ फोटोग्राफी’ रोजेँ ।’

आफ्नो देश प्राकृतिक रूपमा सुन्दर छ भनेर चिनाउनकै लागि फोटो खिच्दै हिँड्ने बानी परेपछि उनी त्यही काममा लागिरहे । सन् २०११ मा ‘भिजिट नेपाल २०११’ मनाइयो । जहाँ उनले पहिलोपटक आफूले खिचेको ट्राभल फोटो सेयर गरे । जम्मा ११ वटा फोटो छानेर फ्रेमिङ गरेर राख्ने भनिएकोमा ६ वटा ओमले खिचेका फोटो छानिएका थिए । त्यसपछि आफूले पर्यटन बोर्डसँग निरन्तर काम गरिरहेको उनी बताउँछन् ।  सन् २०१६ मा नेपाल पर्यटन बोर्डको वेबसाइट रिडिजाइन गर्दा पनि त्यसमा राखिएका धेरैजसो फोटो ओमले नै खिचेका थिए । एउटा चराको फोटोले देखाएको बाटो

सन् २०११ को डिसेम्बरमा ओम साथीहरूसँग चितवन, सौराहाको हात्ती महोत्सव हेर्न गएका थिए । महोत्सव शुरु भइनसकेकाले उनी हात्ती प्रजनन केन्द्रतर्फ लागे । केन्द्रअघिको चौरमा बसे । त्यहाँ सुनसान थियो । अलि परको बुट्यानमा एउटा चिबे चरो बसेको थियो । हरियो रङमा घाममा असाध्यै राम्रोसँग टल्किएको त्यो चराको फोटो खिच्न उनी चरातर्फ अघि बढे । नजिकै पुग्दा पनि चरो उडेन । ओमले फोटो खिचे । फोटो यती राम्रो लाग्यो की अहिलेसम्म पनि उनको घरमा ठुलो आकारमा प्रिन्ट गरेर राखेको उनी बताउँछन् । त्यसपछि उनी केही दिन त्यहीँ जाने चरा कुर्ने र फोटो खिच्ने काम गरे । भोलिपल्ट चौरको अर्को भागबाट २ घण्टामा उनले १० प्रजातिका चराको फोटो खिचे । त्यसपछि उनले बाल्यकालमा झैँ एक्लै बगैँचामा डुल्ने क्रम बढाए । अहिले पनि यो कामले जस्तो सन्तुष्टि अरू कुनै कामले नदिने ओम बताउँछन् । उनी बिस्तारै चरा र जंगली जनावरको व्यवहारबारे खोजी गर्न थाले । जसबाट उनमा चराप्रति अझ रस बस्दै गयो । उनी जंगली जनावर र चराकै फोटो खिच्नकै लागि बर्दिया राष्ट्रिय निकुञ्ज, चिसापानी, खप्तड राष्ट्रिय निकुञ्ज, जोमसोम, कागबेनी, लोमान्थाङ, कोशीटप्पु, इलामसम्म पुगेका छन् ।

वाइल्डलाइफ फोटोग्राफीको कल्पना र वास्तविकता

जङ्गलमा गएर फोटो खिच्ने काम हामीले बलिउड, हलिउडका सिनेमा र डकुमेन्ट्री हेरेजस्तो नहुने ओमको अनुभव छ । ‘त्यसरी काल्पनिक कथा र चलचित्रमा देखाए जस्तो भयावह काम भने यो होइन’ ओम भन्छन्, ‘तर कहिलेकाहीँ निकै जोखिम भने मोल्नुपर्ने र मुटु ढुकढुक बनाउने गरिएका घटना नै नहुने भन्ने चाहिन् होइन ।’ १० वर्षको अनुभवमा उनले पनि केही त्यस्ता जोखिमपूर्ण क्षण भोगेका छन् । तर जंगल, जंगली जनावर, उनीहरूको आनीबानी, जोगिने उपायबारे ज्ञान र तयारी भएमा बच्न सकिने उनी बताउँछन् । ‘राम्रो गाइड र कुन जनावरसँग कसरी बच्ने भन्ने थाहा हुनुपर्छ’ उनी भन्छन् । जंगलमा बाघ अत्यन्तै कम मात्र भेटिने र सामान्यतया बाघले आक्रमण गर्नेभन्दा पनि लजालु स्वभावको हुने आफूले पाएको उनी बताउँछन् । गैँडा, जंगली हात्ती अझ एक्लै छ भने, बँदेल, चित्तल लगायत जनावरसँग भने धेरै सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

उनले २०१३ को एउटा घटना सम्झिए, ‘दुईजना साथी लिएर चितवन राष्ट्रिय निकुञ्ज गएको थिएँ । खोला पारी एउटा भाले चित्तल थियो । साथीले फोटो खिच्न सुरु गर्‍यो । अझ राम्रो खिच्न सकिन्छ भनेर नजिकै जाँदै गर्दा त्यो चित्तलले साथीलाई आक्रमण गर्न लाग्यो । मैले त्यो संकेत पाएँ र उसलाई बचाएँ । यदि त्यसले हान्न भेटेको भए बाच्ने सम्भावना नै हुँदैनथ्याे ।’

त्यसैले जंगलमा बाघ देखेपछि भाग्ने र हरिण, मृग, चित्तललाई लखेट्न सकिन्छ भन्ने भ्रम सधैँ सत्य नहुने भएकाले जनावरले के संकेत दिइरहेको छ बुझ्नुपर्ने बताउँछन् ओम । यदि गैँडा ठाडो परेर नाकको माथिको भाग हल्लायो भने त्यसले गन्ध लियो भनेर बुझ्नुपर्छ । त्यसो गरेपछि चर्न लागे जसरी तुरुन्तै भुईँतिर फर्कियो भने अब यसले आक्रमण गर्‍यो भनेर जाने हुन्छ । त्यस्तो अवस्थामा भागिहाल्नुपर्ने उनले बताए । घाँसे मैदानको बिचमा आइरहेको जनावरलाई देख्न सकिँदैन । त्यस्तो अवस्थामा आकाशतिर केही किरा खाने चराहरू उडिरहेका छन् भने जनावर आइरहेको छ भनेर बुझ्नुपर्ने उनको अनुभव छ । त्यसैले ज्ञान, अनुभव, राम्रो गाइड भएमा जंगलमा कुनै समस्या नहुने ओमले बताए । ओमले हाँस्दै भने, ‘जंगलमा समूहमा फोटो खिच्दै जाँदा भाग भन्ने निर्देशन पाएपछि भागिहाल्नुपर्छ । किन भाग्ने ? के भएको छ ? के आएको छ भन्ने बाँचेपछि सोध्ने हो ।’

एक्लै बस्न मन नपराउने, धैर्यता राख्न नसक्नेलाई भने यो काम असाध्यै बोरिङ हुने उनको अनुभव छ ।

फोटोवाक कार्यक्रम

फोटोवाक नेपाल ओमले निःशुल्क सुरु गरेको कार्यक्रम हो । आफूले जानेको ज्ञान अरूलाई बाँड्न नचाहने सोचलाई चिर्न फोटोवाक नेपाल सुरु गरेको उनी बताउँछन् । ज्ञान बाँडे बढ्छ नत्र बिस्तारै हराउँदै जान्छ भन्ने सोचका साथ उनले फोटोवाक सुरु गरेका हुन् । महिनाको एउटा शनिवार कतै फोटो खिच्न जाने र त्यो सम्बन्धी ज्ञान समूहमा बाँड्ने भनेर यो कार्यक्रम सुरु गरेको उनले बताए । बिस्तारै यसमा जोडिने र घुम्ने अनि फोटो खिच्नेको सङ्ख्या बढ्दै गएको ओमले बताए । यसमा कुनै शुल्क नलाग्ने र सिकारुले पनि सहभागी हुन सक्ने उनले जानकारी दिए । सन् २००६ मा महिनाको एक शनिबार गर्न थालिएकोमा सन् २०११ देखि प्रत्येक शनिबार गर्ने निर्णय भएको उनले बताए । त्यसरी सुरु भएको फोटोवाक कोभिड र महाभूकम्पको समयमा बाहेक चलिरहेको उनले बताए । सन् २०१७ बाट भने प्रत्येक शनिवार नभई एक शनिवार बिराएर फोटोवाक हुने गरेको छ ।

हलिउडको समूहसँग काम गर्ने अवसर

फोटोग्राफीकै माध्यमबाट ओमले नेपालका विभिन्न संस्था र निकायसँग मात्र नभएर हलिउडको चर्चित कलाकारको समूहसँग समेत काम गर्ने अवसर पाएका छन् । उनले सन् २०१८–०१९ मा डिज्ने र बीबीसी १ को लागि पनि काम गरेका थिए । त्यसमा ‘ब्ल्याक नार्सिसस्’ १९४८ मा सिनेमाटोग्राफी र प्रोडक्सन डिजाइनमा एकेडेमी अवार्ड पाएको ड्रामाको रिमेक नेपालमा सुटिङ हुँदा ओमले काम गर्ने मौका पाएका थिए । हलिउडका कलाकार जेमा आर्टेटन, निला आलियालगायतको भूमिका रहेको चलचित्रमा ओमले फोटोग्राफरको काम गर्ने मौका पाए ।

उनी यो सबैलाई फोटोग्राफीले दिएको मौकाका रूपमा लिन्छन् । ‘अरू क्षेत्रमा गएको भए यस्तो अवसर पाउने नपाउने निश्चित थिएन’, ओम भन्छन् ‘सबैभन्दा ठुलो कुरा त मनले चाहेको कुरा नै गर्न पाइने थिएन नि’ ओमले हाँस्दै भने ।

प्रतिक्रिया

One thought on “क्यामेरा र चरा भनेपछि हुरुक्क ओम

Leave a Reply

Your email address will not be published. Required fields are marked *