बढ्दै जसपा विवाद, बहुअध्यक्ष प्रणालीबारे बहस

काठमाडौँ । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) मा नेतृत्व तहको टकराव अब सतहमा देखिन थालेको छ । कार्यकारी अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई एकलौटी रूपमा चलाउन खोजेको आरोप संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले लगाउँदै आएको छ ।

खासगरी शेरबहादुर देउवा नेतृत्वको सरकार बन्दा पार्टीको तर्फबाट सरकारमा सामेल हुने नेताहरूको नाममा सहमति नजुटेपछि भट्टराई-यादवबीच विवादको विजारोपण भएको हो । मन्त्रीको नाम टुङ्ग्याउन बनेको तीन सदस्यीय कार्यदललाई लत्याउँदै यादवले आफूनिकटका नेताहरूलाई मात्रै सरकारमा पठाएपछि विवाद अझ चर्किएको हो ।

यसपछि भट्टराई-यादवबीच थप दूरी बढ्न थालेको जसपाका नेताहरू बताउँछन् । यसपछि जसपाभित्र बहुअध्यक्ष पणालीमा जानुपर्ने आवाज उठ्न थालेको छ । यो विषयमा भट्टराईनिकटका नेताहरूबीच छलफलसमेत भइरहेको छ । भट्टराईनिकट एक नेताले भने, ‘पार्टीमा एकलौटी हाबी भयो, पार्टीलाई अब बहुअध्यक्ष प्रणालीमा लानुपर्ने देखियो, यस विषयमा छलफल हुँदैछ ।’

माघ दोस्रो साता जसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । सोही बैठकमा बहुअध्यक्ष प्रणालीको प्रस्ताव लैजाने भट्टराई पक्षको तयारी छ । ती नेताले थपे, ‘उहाँ (यादव) ले मात्रै नेतृत्व गर्दा पार्टीले समावेशी सिद्धान्त र चरित्र बोक्न सकेन, त्यसैले अब बहुअध्यक्ष प्रणालीमा जाने भनेका हौँ । लाग्छ- अब याे आवश्यक पनि छ ।’

यो पक्षले बहुअध्यक्ष प्रणालीको प्रस्ताव स्वीकारिए भट्टराई या यादव केन्द्रीय कार्यकारी अध्यक्ष र वरिष्ठ नेता अशोक राईलाई संघीय परिषद् अध्यक्षमा प्रस्ताव गर्ने तयारी गरेको छ । ‘नेतृत्वमा यी तीन नेता रहँदा भने समावेशी चरित्र पनि हुने तर्क यो पक्षको छ,’ ती नेताले भनेका छन् ।

अध्यक्ष यादव भने बहुअध्यक्ष प्रणालीको पक्षमा छैनन् । एकभन्दा बढी अध्यक्ष भएको खण्डमा पार्टीमा बढी किचलो हुने उनको विश्लेषण छ । संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने, ‘त्यो हुने कुरा होइन, यो प्रणाली नेपालमा असफल भइसक्यो । हाम्राे मात्रै हाेइन, अरु दलमा पनि याे पुष्टि भइसक्याे नि । अब याे हुँदैन ।’

त्यसो त डा. भट्टराई पक्षका नेता गंगा श्रेष्ठ जसरी हुन्छ त्यसरी समस्याको समाधान गरेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । पछिल्लो समय पार्टीमा वैचारिक बहस शून्यतातिर गएको र यसैले समस्या निम्त्याएको उनको दाबी छ । ‘पार्टीलाई मजबुत र सुदृढ बनाउने कुरा हो, जसरी हुन्छ त्यसरी बलियोगरी अगाडि जानुपर्छ भन्ने पक्षमा म छु । पार्टीभित्र अलिक वैचारिक बहस गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’

बहुअध्यक्ष प्रणाली नेपालको सन्दर्भमा असफल प्रणाली प्रमाणित भइसकेको भनिएपनि आवश्यक परे पुनः सुदृढ तरिकाले लागू गर्न सकिने उनको धारणा छ । ‘हुनलाई हाम्रै जसपामा पनि यो अभ्यास असफल देखिएको हो, कतिपय साथीहरूले यो प्रणालीमा जानु हुँदैन भनेर तर्क राख्नुभएको छ । जसरी हुन्छ पार्टीलाई पार्टीलाई सुदृढ बनाउनेगरी अगाडि जाने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *