कीर्तिमानको कोर्टमा अहमको तगारो

काठमाडौँ । ६ जनवरी, २०२२ मा अस्ट्रेलियाको मेलबर्नमा उत्रिँदै गर्दा नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन नखेली स्वदेश फर्किनुपर्छ भनेर सोचेका पनि थिएनन् होला । विश्व टेनिसका यी नम्बर एक खेलाडीलाई कुनैपनि सरकार या राज्यले रोक्ने वा छेक्ने आँट गरिहाल्ला भनेर अरू पनि कमैले मात्र पत्याउन सक्लान् ।

तर अस्ट्रेलियाली सरकारले आफ्ना नागरिक र विश्वभरबाट आउने आप्रवासीका लागि गर्ने जत्तिकै आँट गर्‍यो । अस्ट्रेलिया सरकारले आफ्नो देश प्रवेशका लागि कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य हुनुपर्ने नियम जोकोभिचलाई पनि लागू हुने निर्णय गर्‍यो । जनस्वास्थ्यभन्दा ठुलो कुरा केही नहुने भन्दै अस्ट्रेलिया सरकारले आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकले कोरोनाविरुद्धको खोप लगाएको हुनैपर्ने नियम धेरै अघिबाटै अनिवार्य गरिएको हो ।

अस्ट्रेलिया नै त्यो देश हो, जसले ओलम्पिक प्रतियोगितामा स्वर्ण पदक जितेर फर्किएका आफ्नै देशका खेलाडीलाई समेत विमानस्थलको होटलमा १४ दिन क्वारेनटिन बस्नैपर्ने नियम लगाएको थियो । जहाँ उनीहरूको हरेक दिन कोरोना परीक्षण गरिन्थ्यो । देशलाई स्वर्ण पदक दिलाएका, खेलेर थाकेका र कुनै लक्षण नभएका र खेलाडीमाथि यस्तो व्यवहार ठिक नभएको भन्दै चर्को आलोचना भए पनि अस्ट्रेलिया सरकारले कोभिड प्रोटोकलमा कुनै सम्झौता गरेन । जुन अडान जोकोभिचको लागि पनि कायमै रह्यो ।

अस्ट्रेलियन ओपनका लागि आयोजकसँग जोकोभिचले खोपबीनै प्रतिस्पर्धा खेल्ने अनुमति लिएका थिए । आयोजकले उनलाई अरुलाईभन्दा फरक व्यवहार गर्दै खोप बिना पनि प्रतियोगिता खेल्न सक्ने उनले अनुमति पाए। तर अस्ट्रेलियाका प्रधान मन्त्री स्कट मरिसनले कानून सबैलाई बराबरी हुने भन्दै यदि कसैले आफूलाई कोरोना प्रोटोकलभन्दा माथि मान्छ भने उसलाई विमानस्थलबाटै फिर्ता पठाइदिने बताए । जोकोभिचलाई पनि खोप लगाएको प्रमाण पेश नगरे एयरपोर्टबाटै फिर्ता गर्ने उनको चेतावनी थियो ।

जसअनुसारनै ६ जनवरीमा मेलबर्न प्रवेश गर्नसाथ अस्ट्रेलिया सरकारले जोकोभिचलाई खोप लगाएको प्रमाण पेश नगरेको भन्दै स्वदेश फिर्ता गर्ने निर्णय गर्‍यो । त्यसपछि उनी अदालत पुगे । अदालतले जोकोभिचको पक्षमा निर्णय गर्दै अस्ट्रेलिया सरकारको निर्णय खारेज गरिदियो ।

तर कुरा यत्तिमै सकिएन । त्यसपछि जे विवाद बाहिर आयो त्यसले जोकोभिचलाई नै ब्याक फुटमा धकेल्यो । जोकोभिचले अध्यागमनलाई झुट विवरण बुझाएको समाचार बाहिरियो। जोकोभिच आफैले पनि यो कुरा स्विकार्न बाध्य भए । उनी कोभिड सङ्क्रमित भएका थिए । उनले अस्ट्रेलिया उड्नु दुई साता अघिसम्म कतैपनि भ्रमण नगरेको विवरण बुझाए पनि उनी स्पेन र सर्वियाका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। योसँगै जोकोभिच विवादमा पनि तानिए।

लगतै अस्ट्रेलियाका अध्यागमन मन्त्रीले विशेष अधिकार प्रयोग गर्दै दोस्रो पटक जोकोभिचको भिसा रद्द गरे । जुन मुद्दामा तीनजना न्यायाधीशको संयुक्त इजलासले आइतबार सुनुवाइ गर्दै सरकारको निर्णयलाई सही ठहर्‍यायो । जोकोभिचलाई फिर्ता पठाउने अस्ट्रेलिया सरकारको निर्णय सदर गरिदियो । अस्ट्रेलिया सरकारले जोकोभिचलाई ‘सार्वजनिक खतरा’ भएको भन्दै भिसा रद्द गरेको थियो ।

निराश जोकोभिच
प्रधान न्यायाधीशले जोकोभिचको मुद्दा खारेज गरिएको जानकारी दिएपछि जोकोभिचले अदालतको निर्णयपछि निराशा व्यक्त गरे । उनले निर्णय अत्यन्तै निराशाजनक रहेको भएपनि आफूले स्विकार्ने र देश फर्कन अधिकारीहरूलाई सहयोग गर्ने बताए ।

उनले अस्ट्रेलियन ओपनमा सोमबार खेल्ने तालिका थियो । यो पटक उनी उपाधि रक्षाका लागि कोर्टमा हुने थिए । तर अब यो सम्भावना समाप्त भएको छ। २०२१ को अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचले डेनियल मेदवेदेवलाई ७-५, ६-२ र ६-२ ले हराउँदै उपाधि जितेका थिए ।

यतिमात्र होइन यो पटक उनी कीर्तिमानी २१ औँ ग्रान्डसलामको खोजीमा पनि थिए । अन्ततः उनी आफ्नै अहमको सिकार भए। कोभिडको संक्रमण तीव्र भइरहँदा उनी खोप नलगाउने आफ्नो जिद्दीमा कायमै रहन चाहे । उनले बरु आफू सङ्क्रमित भएको कुरा ढाँट्ने प्रयास गरे । जसले गर्दा जोकोभिचले वर्षको पहिलो ग्रान्डसलाम त गुमाउनु पर्‍यो नै साथै ऐतिहासिक रूपमा सर्वाधिक ग्रान्डसलाम जित्ने खेलाडी बन्ने सपना समेत तत्काललाई त्याग्नु पर्‍यो। यति मात्र होइन उनका समर्थकहरू पनि उनको जिद्दी व्यवहारका कारण दुखी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *