बुस्टर डाेज ललितपुरमा शुरू, काठमाडौँमा सोमबार र भक्तपुरमा मंगलबारबाट मात्र 

काठमाडौँ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत फ्रन्टलाइनरका लागि दिइने कोरोनाविरुद्धको बुस्टर डोज खोप ललितपुरमा शुरू भएको छ । ललितपुरमा आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले मकालुखबरलाई जानकारी दिए।

मन्त्रालयको निर्देशन बमोजिम खोप शुरू गरिएको विष्टले बताए । ललितपुरका सबै स्थानीय सरकारले बुस्टर डोज खोप दिने तयारी छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आइतबाट शुरू गर्ने भनिए पनि काठमाडौँ र भक्तपुरमा भने आइतबारबाट खोप शुरू हुन सकेन । खोप ल्याउने लगायत प्राविधिक काम नसकिएकाले आइतबारबाट शुरू गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ र भक्तपुरले जनाएका छन् ।

आजदेखि बुस्टर डोज, क-कसले पाउँछन् ? 

काठमाडौँमा सोमबारबाट मात्रै बुस्टर डोज लगाउन थालिने जिल्ला कार्यालयले जनाएको छ । आइतबारबाटै खोप लगाउन शुरू गर्ने मन्त्रालयको निर्देशन भएपनि प्राविधिक तयारी नसकिएकाले सोमबारबाट मात्र खोप लगाउने गरी  तयारी भइरहेको कार्यालयले जनाएको छ ।

यस्तै स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार खोप ल्याउनेलगायत  काम नै बाँकी भएकाले भक्तपुरमा भने मंगलबारबाट मात्रै बुस्टर डोज खोप दिने तयारी छ । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रमा माघ २ गते आइतबारबाट बुस्टर डोज खोप दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *