एपीएफको दोस्रो जित, हिमालयन शेर्पा पराजित क्लब

काठमाडौँ । विभागीय टिम एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा शुक्रवार भएको खेलमा हिमालयन शेर्पालाई १-० ले पराजित गरेको एपीएफले ३ अंक थप्दै अंक तालिका सुधार गर्यो।
पहिलो हाफको अतिरिक्त समयमा आभाष लामिछानेले गरेको एकमात्र गोल नै खेलमा निर्णायक बन्यो। लामिछानेले लिगको पहिलो गोल गर्ने क्रममा नविन लामाको कर्नरमा आकर्षक हेडर गोल गरेका थिए। सुरुवातबाटै प्रतिस्पर्धात्मक रहेको खेलमा १३ औँ मिनेटमा आशिष लामाले गोलको मौका चुकाउँदा एपिएफ सुरुवाती अग्रताबाट विमुख भयो।
२१ औँ मिनेटमा हिमालयन शेर्पाले गोलको राम्रो मौका पाएपनि मनिष थापाको कर्नरमा आशिष गुरूङले गरेको प्रहार बारमा लागेर बाहिरिंदा अग्रताको अवसरबाट शेर्पा चुकेको थियो। दोस्रो हाफमा पनि दुबै टीमले गोलका केही मौका पाएपनि गोल गर्न सकेनन् । अन्तिम समयमा एपीएफले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो। तर उसले महत्वपुर्ण तीन अंक भने हात पार्यो ।
जितपछि एपिएफ ९ खेलबाट १० अंक बनाएर आठौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा भने ९ खेलबाट ११ अंकका साथ छैटौं स्थानमा छ ।








