सुदूरपश्चिममा एमालेको जिल्ला नेतृत्वमा पुगेन पूर्वमाओवादी

पदाधिकारीमा पनि कमजोर उपस्थिति

धनगढी । सुदूरपश्चिमका जिल्लाहरूमा भएको एमाले अधिवेशनमा नेतृत्वमा पुग्ने पूर्वमाओवादीको उपस्थिति कमजोर देखिएको छ । अधिवेशन भएका जिल्लाहरूमा पूर्वमाओवादीतर्फका नेताहरु पराजित भएका छन् भने सहमति भएका जिल्लामा पनि उपस्थिति कमजोर बनेको हो ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म आठवटा जिल्लामा अधिवेशनमार्फत र चार जिल्लामा सहमतिमार्फत नेतृत्व चयन भइसकेको छ । जिल्ला अध्यक्षमा पूर्वमाओवादीतर्फबाट कोही पनि अध्यक्ष हुन सकेका छैनन् भने अध्यक्षको उम्मेदवार भएको कञ्चनपुरमा पनि पराजित भएका छन् ।

एमाले कञ्चनपुरको अध्यक्षमा पूर्वमाओवादी नेता वीरबहादुर थापा ‘पातल’ अध्यक्षमा उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै ओपी पक्षीय सुरेन्द्र बिष्ट प्यानलसहित विजयी भए । विष्ट दुई सय ८१ मत ल्याएर विजयी हुँदा थापाले एक सय ८३ मत मात्रै पाए । थापा अहिले एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका पार्टी सचिव लेखराज भट्टसँगै एमालेमा गएका थिए । उनी नेकपासमेत एमाले जिल्ला अध्यक्ष थिए ।

भट्टकै समर्थनमा अध्यक्षमा उम्मेदवार बनेका थापालाई पूर्वमाओवादी नेताहरूसँगै ओली पक्षकै केही नेताहरू र एमालेमा १० बुँदे सहमतिका पक्षधर नेताहरूको समर्थन रहेपनि ओली पक्षका विष्टसँग पराजित भए । अधिवेशन भएका अन्य जिल्लामा पदाधिकारीमा उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरू पनि पराजित बने । कैलाली, र अछाममा पदाधिकारीमा पूर्वमाओवादी नेताहरू ‘क्लीन स्वीप’ नै भए ।

भट्टको गृहजिल्ला कैलालीमा एमाले बनेका पूर्वमाओवादी नेताहरू पदाधिकारीमा पराजित भएका छन् । आफ्नो प्यानलबाट अध्यक्ष र उपाध्यक्षले चुनाव जित्दा सचिवका उम्मेदवार दानबहादुर बिक र उपसचिवका उम्मेदवार प्रेमबहादुर डगौरा पराजित भए । उनीहरू दुवै जना माओवादी त्यागेर एमाले बनेका हुन् ।

अछाममा पनि पूर्वमाओवादीबाट गएका एमाले नेताले पदाधिकारीमा हार व्यहोर्नु परेको छ । जिल्ला अध्यक्षमा भट्ट पक्षबाटै चन्द्र बोहरा विजयी हुँदा उनकै प्यानलबाट सचिवमा उम्मेदवारी दिएका आदर्श साउँद पराजित भए । उनी भट्टसंगै एमालेमा लागेका थिए ।

अछाममा अध्यक्ष ओली र भीम रावल निकट दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । माओवादीबाट गएका एमाले नेताहरूले ओली प्यानलबाट उम्मेदवारी दिएका थिए । अध्यक्षमा हारे पनि पदाधिकारीमा रावल निकट प्यानलका उम्मेदवार विजयी भए ।

निर्वाचनमार्फत कमिटी गठन भएका जिल्लामध्ये दार्चुलामा मात्रै माओवादीबाट गएकी एमाले नेतृ चन्द्रा कुँवर उपसचिवमा विजयी भएकी छन् ।
यसैगरी सहमतिमा कमिटी गठन गरिएका जिल्लामध्ये डोटीमा माओवादीबाट गएका नेताहरू पदाधिकारीमा समेटिएनन् । बाजुरामा माओवादीबाट आएका भरत बुढा, बैतडीमा रमिल बम र डडेल्धुरामा धनबहादुर धामीलाई एमालेले उपाध्यक्ष बनाएको छ । त्यसबाहेक यी जिल्लाहरूमा पदाधिकारीमा पूर्वमाओवादी नेताहरू पदाधिकारीमा अटाउन सकेनन् । सुदूरपश्चिमका ९ जिल्लामध्ये बझाङमा भने अहिलेसम्म अधिवेशन हुन सकेको छैन ।

निर्वाचनमा आफूले समर्थन गरेका नेताहरू पदाधिकारीमा पराजित भएपछि एमाले सचिव एवम् प्रदेश इन्चार्ज लेखराज भट्टलाई गृहक्षेत्रमै कमजोर देखिएको एमाले वृत्तमा चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *