सन्दर्भ: ३००औं पृथ्वीजयन्ती

पृथ्वीनारायण शाह : केही टिप्पणी

पृष्ठभूमि

पृथ्वीनारायण शाहलाई सामन्ती राजा भनेर आजभोलि मूल्याङ्कन गर्ने गरेको सुनिन्छ । पृथ्वीनारायणको समय भनेको अठारौँ शताब्दीको समय हो । यो समय संसारको कुन कुनामा गैह्र-सामन्ती राज्य थियो ? पृथ्वीनारायणले खडा गरेको राज्य एकात्मक नै हो । इतिहासको कालखण्डलाई सामन्ती समाज भन्नु स्वाभाविक कुरा हो, तर त्यो समाजको सदस्यको रूपमा कोही एक व्यक्तिको भूमिकालाई त्यो समाजको कारक मान्नु त्रुटिपूर्ण कुरा हो । यसको मतलब पृथ्वीनारायण भगवान नै हुन्, गल्ती नै गरेनन् भन्ने होइन। यो शैली पनि ठिक होइन । प्रसङ्ग नेपाल राज्य खडा गर्ने सूत्रपातको हो । त्यो कामलाई सामन्ती भनेर अहिले त्यो ऐतिहासिक घटनालाई अस्वीकार गर्नुले हामीलाई कहीँ पनि पुर्‍याउँदैन । तटस्थ भएर हेर्दा के देखिन्छ भने पृथ्वीनारायणले गरेको गोरखा विस्तार नै हो । ठूलो र सम्पन्न मुलुकको राजा हुने महत्वाकांक्षा नै हो पृथ्वीनारायणको । तर त्यो समयमा सबै राजा (शासक) को चिन्तनै त्यही थियो भने पृथ्वीनारायणको त्यो चिन्तन कसरी गलत भयो ? समाजको दवाब नै त्यही थियो ।

यसलाई इतिहासको कसीमा हेर्नु उपयुक्त हुन्छ । सन् १७६८ मा पृथ्वीनारायणले काठमाडाैँ जितेका थिए । संसारले प्रजातान्त्रिक आन्दोलन र सुरुवात भनेको भनेर मान्ने गरेको अमेरिकी स्वतन्त्रता आन्दोलन १७७६ मा भएको थियो र अमेरिकाको संविधान (जुन संघियताको प्रारूप थियो) १७८७ मा आएको थियो । अमेरिकाको युद्ध पनि बेलायती उपनिवेशविरुद्ध थियो । अमेरिकामा त्यो समय कुन खालको समस्या थियो र मुलुक एक हुन नसकेका प्रसङ्गहरू के के थिए भन्ने सामान्य इतिहासको विद्यार्थी धेरैलाई थाहा भएकै कुरा हो । अर्को आन्दोलन फ्रान्सको राज्यक्रान्ति हो, १७८९ को। त्यो राज्यक्रान्ति कति सफल, कति असफल भन्ने बहसको विषय हो । त्यसपछि नेपोलियनको उदय भयो फ्रान्समा । यूराेपकाे उन्नाइसौं शताब्दीको पहिलो आधा त मेटरनिखको दबदबामै बित्यो । औद्योगिक क्रान्ति अठारौँ शताब्दीको पछिल्लो खण्डमा शुरू भएपनि त्यसको उत्कर्ष उन्नाइसौँ शताब्दीमा भएको हो । पूँजीवाद औद्योगिक क्रान्तिको परिणाम हो । साम्राज्यवादको धङधङीबाट बेलायत अझ राम्ररी बौरिएको छैन ।

वर्तमान नेपालले चर्चेको भूमि मुख्य रूपले चार खण्डमा विभाजित थियो । पश्चिममा कर्णाली नदीको दायाँबायाँ बाइसे राज्यहरू थिए । गण्डकी क्षेत्रमा चौबिसे राज्यहरू थिए । बाइसे, चौबिसे राज्यबाहेक पनि विभिन्न भुरे टाकुरे समूहहरू थिए। जस्तो कि द्रव्य शाहले विजय गरेको लिगलिग, सिरानचोक आदि चौबिसे राज्यभन्दा बाहेकका भूमि थिए । नेपाल उपत्यकामा नै तीन राज्य थिए । उपत्यका वरिपरिका क्षेत्रमा उपत्यकाकै मल्लहरूको शासन थियो । पूर्वमा मकवानपुरदेखि सेनहरूको राज्य थियो । पहाडी क्षेत्रमा किराँतहरू थिए । उपत्यकामा यक्ष मल्लको १४८२ मा मृत्यु भएपछि उनका छोराहरू बीच राज्यको भागभन्डा भएको थियो । दुई सय वर्षसम्म उनीहरूबीच परस्पर पटकपटक युद्ध भयो, एक अर्कविरुद्ध षड्यन्त्रहरू भए । आफू आफैँभित्र पनि उत्तराधिकारको खिचातानीले उपत्यकाको राजनीति जर्जर थियो । तर आर्थिक दृष्टिले नेपाल उपत्यकाको स्वर्णकाल थियो । नेपाल उपत्यका तिब्बत र दक्षिणको व्यापारको सेतु थियो । उपत्यका आफ्नै उत्पादनले भन्दा पनि व्यापारको कारण समृद्ध बनेको थियो ।

दक्षिणमा मुगल साम्राज्य लगभग छिन्नभिन्न हुने क्रममा थियो । सन् १७०७ मा मुगल बादशाह औरङ्गजेबको मृत्यपछि नाम मात्रका बादशाह उदाए । स्थानीय स्तरमा उठेका रजौटाहरू आफू आफूबीच युद्धमा चर्लुम्म डुबेका थिए । यसैबीच पश्चिमा मुलुकको साम्राज्य विस्तार भारतसम्मै आइपुग्यो । सन् १४९८ मा पोर्चुगलबाट जहाज लिएर भास्को डी गामा भारत आइपुगेपछि त्यसको जग बसेको हो । सन् १५४० मा बेलायती व्यापारिक कम्पनी इस्ट इन्डिया कम्पनीले मद्रासमा आफ्नो अफिस खडा गरेर व्यापार शुरू गर्‍याे । अर्को सय वर्षसम्ममा भारत इस्ट इन्डिया कम्पनीमार्फत बेलायतको उपनिवेश बनिसकेको थियो । सन् १७५७ को पलासीको युद्ध अङ्ग्रेजविरुद्धको अन्तिम युद्ध बन्न पुग्यो ।

नेपालको छुट्टै पहिचान

यो पृष्ठभूमिमा वर्तमान नेपाल बन्नेगरी नेपालको छुट्टै अस्तित्व प्रकट भएको हो । सामाजिक, राजनैतिक दृष्टिले नेपाल सामन्ती युगमै थियो । इतिहासका घटनामाथि वास्तवमै निर्मम समीक्षा हुनुपर्छ । यसमा दुई मत छैन । तर नेपालको वर्तमान स्वतन्त्र अस्तित्वको उपादेयतामाथि प्रश्न गरेर होइन । छुट्टै मुलुकको रूपमा रहँदा यो मुलुकका बासिन्दाले पाएका र पाउन सक्ने लाभको कसीमा इतिहासका घटनाको मूल्याङ्कन हुनुपर्छ। राष्ट्रिय मूल प्रवाहमा आउन नसकेका, आउन नदिइएका समुदायलाई मूल प्रवाहमा ल्याउनु सबैको दायित्व हो । तर पृथ्वीनारायणलाई गलत सिद्ध गर्ने प्रयासमा मुलुकको स्वरूपलाई अस्वीकार गर्नु कदापि उपयुक्त हुँदैन ।

‘एकीकरण’ भन्ने शब्द कति उपयुक्त हो बहसको विषय हो । तर भौगोलिक रूपले यो जुन स्वरूपमा एकीकृत छ, त्यो यथार्थ हो । अहिले नेपाल भनिएका भाग नेपालको नभए अर्कै मुलुकको भाग हुन्थ्यो होला । मेची पारि र काली पारिका भूभागको दृष्टान्त हाम्रै सामुन्ने छ । साना चिर्कटाजस्ता जमिन छुट्टै राज्यको स्वरूपमा रहन सक्थे कि सक्थेन भन्ने कुरा संसारका धेरै ठाउँको इतिहासबाट छर्लङ्ग हुन्छ । नेपाल छुट्टै मुलुक भएकोले सामान्य योग्यता भएका मानिसले विभिन्न राजनैतिक हैसियत प्राप्त गरेका छन् । सर्वसाधारण जनतालाई त, लौ त भनुँ भने, यो देश र ऊ देश भनेर कुनै फरक पर्दैन । अहिलेको गतिविधिलाई हेर्ने हो भने नेपाल बेग्लै हुनुको उपलब्धि यिनै नेताबाहेक अरूले उस्तो भोगेका पनि छैनन् । भौगोलिक एकीकरण र त्यसपछिका विभिन्न परिघटनाले यो अवस्था आइपुगेको हो । अबको ‘एकीकरण’ सर्वसाधारण जनताको तहसम्म लैजानेगरी हुनुपर्छ । पृथ्वीनारायणले यो मुलुकलाई सबैको साझा फूलबारी हो भनेको कुरा यहाँ स्मरणीय छ ।

हामीकहाँ केही भ्रम छ । पहिलो भ्रम, जनजाति भनेर पहिचान खोज्नु भनेको पृथ्वीनारायणलाई गलत भन्नु हो भन्ने । दोस्रो, उग्र कान्तिकारी हुनु भनेको पृथ्वीनारायणलाई तिरस्कार गर्नु भन्ने । यी दुवै विकृत चिन्तन हुन् । पहिचानलाई पृथ्वीनारायणले कहाँ मासे ? छुट्टै राज्य हुनु, भुरे टाकुरे राज्यका बासिन्दा हुनु पहिचान हो ? रुसमा पनि पहिलेका राजाहरूले निर्माण गरेको भूमिलाई जोगाउन स्टालिन लङौटी कसेरै लागेका थिए । वरिपरिका साना-साना मुलुकलाई मासेर संघ बनाएको होइन ? स्वायत्तताको कुरा गर्ने हो भने स्टालिनचाहिँ कसरी कम्युनिष्टका नेता भए ? चीनमा पनि सिङ्गो मुलुक कायम राख्न कसरी चिनियाँ सरकार दमनमा उत्रने गरेको छ ? तिब्बतलाई हड्पिनु कहाँको न्यायसङ्गत कुरा हो ?

हामी बुझ्नुभन्दा पहिले दिग्भ्रमित छाैँ । पहिचानको, आत्मनिर्णयको, स्वायत्तताको लडाइँ कहाँ छैन ? समूहमा बसेपछि नै पहिचानको खोजी हुन्छ । समूहबाट अलग्गिनेको त्यो मुद्दा पनि समाप्त हुन्छ । जहाँसम्म जातीय विभेदको कुरा छ, त्यो पृथ्वीनारायणले लागू गर्न पनि भ्याएनन् । समस्याको जड जयस्थिति मल्लले काठमाडाैँमा लागू गरेको मनुस्मृतिको सङ्कुचित रूप थियो, जुन मुलुकी ऐनको नाममा सन् १८५४ मा अझ विस्तारित रूपमा संस्थागत भयो । काठमाडाैँलाई राजधानी बनाउँदा यहाँ लागू नियम कानून, धर्म प्रथा सबै अपनाउनु एउटा कारण हो । एउटा सामान्य व्यक्तिले– जनजाति, वा अरू पहाडे वा मधेसी– जुनसुकै रूपमा जुन आवाज बुलन्द गर्न पाएको छ, त्यो नेपाल भन्ने छुट्टै मुलुक भएकोले हो । अङ्ग्रेजको पञ्जाबाट नेपाल बच्न नसकेको भए के हुन्थ्यो भन्ने सामान्य रूपमा सोच्दा नै नेपालको छुट्टै अस्तित्वको महत्व देखिन्छ ।

पृथ्वीनारायणले अङ्ग्रेजबाट जोगाएर नेपाल बनाए । अथवा भनाैँ राज्य विस्तार गर्ने प्रतिस्पर्धामा पृथ्वीनारायणले अरू भुरे टाकुरेलाई उछिने । राज्य जोगाउन अङ्ग्रेजको चाकडी गरेनन् । त्यसैले नेपाल नामको मुलुक बन्न पुग्यो । अहिले नेपाली भनेर चिनिदाँ के नोक्सान छ ? अथवा यो छुट्टै मुलुक हो भन्दा के हानी छ ? नेपाल र नेपाली भनेर चिनिएपछि यहाँभित्र रहेका सबैको समानता र सहअस्तित्वको कुरा हुनुपर्छ भन्ने कुरामा दुई मत हुनुहुँदैन । तर त्यो सिङ्गो नेपालको विरुद्धमा होइन ।

गोरखामा बाहुन क्षेत्रीभन्दा जनजातिकै बाहुल्य थियो । काठमाडाैँ आएपछि नेवारको बाहुल्य भयो । कान्तिपुरको राजा हुने क्रममा पृथ्वीनारायणले नेवारको सबै संस्कार र प्रथालाई स्वीकारेका थिए । यहाँको कुमारीलाई आफ्नो इष्टदेवीसमेत स्वीकारे । मकवानपुर पूर्वका सेनहरू आफूलाई हिन्दुपति ठान्थे, सम्भवत: दक्षिण–पश्चिम भारतमा शिवजीले उठाएको आन्दोलनको प्रभावमा । सेनहरूको राज्य दख्खल गरेपछि पृथ्वीनारायण स्वतः हिन्दुपति ठानिए । पृथ्वीनारायणले त्यसको दाबी गरेको भने पाइँदैन ।

उपत्यका विजयपछि केपुचिन पादरीसहित इसाईधर्मावलम्बीहरूलाई निष्कासन गर्नुबाहेक धार्मिक विषयमा दख्खल गरेको पनि बुझिँदैन । सबै जातजातिले आफ्नो कूलधर्मअनुसारको व्यवहार कायम राख्नु् भन्ने निर्देशन नै थियो । केपुचिन धर्मप्रचारकहरूलाई निष्कासन गर्नुमा पनि धार्मिकभन्दा राजनीतिक कारण बढ्ता बुझिन्छ । किनभने उपत्यकामाथि नाकाबन्दी लगाउँदा तीन शहरमा भएका केपुचिन पादरीहरूलाई बाह्य सम्पर्क गरी आवश्यक सामग्री किनमेलको छुट पृथ्वीनारायणले दिएका थिए, जुन सुविधा उपत्याकाका बासिन्दालाई थिएन । तिब्बतमा दलाई लामाले सर्वस्वहरण गरेर निष्कासन गरिदिएका पादरीहरूलाई पृथ्वीनारायणले त्यसो गरेका थिएनन्, स–सम्मान निष्कासन गरेका थिए । उसो त, पृथ्वीनारायण एक मानिस हुन् । यिनीबाट गल्ती नै भएन भनेर देवत्वकरण गर्नुको पनि कुनै तुक छैन ।

नेपालको एकताको कुरा गर्दा विजितको कुरा मात्र गर्नु राम्रो होइन, र जो अगाडि देखियो उसको मात्र कुरा गर्नु पनि राम्रो होइन । पराजित हुनेले पनि एकतामा सघाएका थिए । भक्ति थापा जो पछि गोरखा फौजका सरदार भए लमजुङबाट गोरखाविरुद्ध लडेका थिए । मतलब के भने, साझा प्रयासबाट मात्र एकता सम्भव हुन्छ । जे जस्तो छ, त्यो सबैको हो भन्ने भावना आउनपर्‍याे । पराजित भयाैँ भन्नेले पनि प्राप्त गरेका कुराको खोजीनीति गर्नुपर्छ, त्यसको लेखाजोखा गर्नुपर्छ । अहिले सयको सङ्ख्यामा भएका समूहले पनि आवाज उठाउन पाएका छन् । यो पनि त अवसर हो नि नेपाल छुट्टै मुलुक हुनुको । छुट्टै एउटा डाँडा छुट्टै राज्यको रूपमा त पक्कै पनि अस्तित्वमा रहने थिएन । कदाचित्, विशाल भारतको अङ्ग भएको भए लाखको जनसंख्या पनि बिलाएर जाने थियो, आवाज उठाउन पाउने त अर्कै कुरा । सकारात्मक कुरा पनि खोज्नुपर्छ हामीले । पृथ्वीनारायण धेरैमध्येका एक हुन् र पछिल्लो समयको एकताको नेतृत्व गरेका थिए । पृथ्वीनारायणले सत्यनारायण पूजा लगाएका होइनन् अपुङ्गो बाँड्नेगरी ! युद्ध भएको थियो । युद्धको नियम, विनियम धेरै हुन्छन् । कतिपय अवस्थामा युद्धको नियम तोडिएका पनि हुन्छन् । बदलाभाव र क्रुरता युद्धको आवश्यक तत्व ठानिन्छ । त्यो कति र कुन हदको भन्ने बहस हुनुचाहिँ आवश्यक हुन्छ । पृथ्वीनारायणले गरे, गराएका सबै कर्म सबै कोणबाट सदर नै गरिनुपर्छ भन्ने पनि होइन ।

पृथ्वीनारायणका क्रुरताको उदाहरण दिनुपर्दा पाटनका काजीहरूलाई काट्न लगाएको, जयन्त रानालाई छाला काढेको, भक्तपुरमा लुटपाट गरेको आदि उदाहरण दिने गरिन्छ । पाटनका ती काजीहरू अवसरवादी राजनीति गर्थे । लामो समयसम्म राजाहरू फेरबदल गर्दै राजनीतिमा सर्वेसर्वा भएका व्यक्ति थिए । पछिल्लो समय पृथ्वीनारायणलाई साथ दिए पनि विश्वासचाहिँ गरेका थिएनन् । पाटनबाट काठमाडौँ आउन लाग्दा आफ्नो साथमा नआएपछि पृथ्वीनारायणले मृत्युदण्ड दिएका थिए । जयन्त राना पहिलाका आफ्नै भारदार भागेर जयप्रकाशकहाँ पुगेको भएर दोहोरो बदला लिएको हुन सक्छ । यद्यपि त्यो क्रुरता थियो । भक्तपुरको लुटको प्रसङ्गको कुरा गर्दा पाटन र कान्तिपुरमा नगरेको लुट भक्तपुरमा किन भयो प्रश्न उठ्नुपर्छ । लुटपाटबाहेक आगजनी, भक्तपुरका जनतालाई अनावश्यक दण्ड, जरिवाना पनि उल्लेख गरेको पाइन्छ । त्यसको यथेष्ट प्रमाणहरू प्राप्त भैसकेका छैनन् । भक्तपुरसँग गोरखाको मितेरी सम्बन्ध थियो र भक्तपुरका गुमेका भूभाग फिर्ता गराउन पृथ्वीनारायणले सहयोग पनि गरेका थिए । यद्यपि भक्तपुरलाई छोडेर उपत्यकामा आधिपत्य भने हुने थिएन । कान्तिपुर र पाटनका राजाहरूलाई संरक्षण प्रदान गरेर गोरखालाई घात गरेको अर्थमा प्रतिशोध लिइएन भन्न सकिँदैन । तर त्यस्तो प्रतिशोध लिइएकै भएपनि सर्वसाधारण जनता पर्नु हुँदैनथ्यो । त्यसको उचित मूल्याङ्कन हुनैपर्छ । उपत्यकाका मल्ल राजाहरूको द्वन्द्वको कुरा गर्दा उपत्यकाका राज्यहरूबीच पनि त्यस्तै लडाइँ पर्दा परस्पर लुटपाट र आगजनी हुने गर्थे भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। बाहिरबाट आउनले पनि पटकपटक उपत्यकामा आगो लगाइदिएका थिए । भक्तपुरमा आक्रमण गर्न जानेहरू गोरखाका मात्र नभएर कान्तिपुर र पाटनका सैनिक पनि थिए ।

कर्तिपुर युद्धमा भारी नोक्सान व्यहोर्दासमेत नगरिएको लुटपाट भक्तपुरमा किन भयो खोजको विषय हुन सक्छ ।

प्रारम्भमा पृथ्वीनारायणमा केही उन्माद पक्कै पनि थिए भन्ने अनुमान हुन्छ । मकवानपुरमा जुत्ता लगाएर सलाम गर्ने सेनाका जवानहरूलाई कटाउनु यसको एउटा उदाहरण हो । यद्यपि त्यो जेठान दीगबन्ध सेनसँग लिएको तात्कालीक प्रतिशोध हुन सक्छ । काशीबाट फर्किँदा गोरखपुर नजिक चेकजाँच गर्ने मुसलमान कर्मचारी पनि पृथ्वीनारायणको उन्मादको शिकार भएका थिए । अर्काको मुलुकमा सुझबुझले काम गर्नुपर्ने ठाउँमा मारधाडमा उत्रिनु बुद्धिमत्ता पक्कै पनि होइन । गोरखा फर्कने क्रममा बुटवलमा पनि त्यस्तै घटना घट्यो । यसमा केही बढाइचढाइ पनि हुन सक्छ । पूर्वी नेपाल दखल गर्ने क्रममा अरुण किनारमा भएको युद्धमा विपक्षीतर्फ ठूलो हताहत भएको थियो । सेनाका कतिपय जवान अरुणमा बेपत्ता भएका थिए । यसलाई लिएर ज्यूँदा मानिसलाई बोरामा हालेर अरुणमा फ्याँकिएको पनि बताइन्छ । त्यस्ता घटना हुँदै भएन भनेर दाबी गर्न सकिँदैन । तर उचित अनुसन्धानको अभावमा तथ्य र तथ्याङ्कको तोडमरोड भएको हुन सक्छ सम्भावना पनि त्यत्तिकै रहन्छ । किनभने उपत्यकाबाट निष्कासित इसाई धर्मावलम्बी र तिब्बतसँगको व्यापारमा नियन्त्रण गरिरहेका काश्मिरी मुसलमान र गोसाइँहरू पृथ्वीनारायणसँग असन्तुष्ट थिए ।

उनीहरूले तथ्यलाई बढाइचढाइ गरी प्रचार प्रसार गरेका थिए । विशेष गरी पश्चिमा इतिहासकारहरूको वर्णनमा यस्ता चर्चा परिचर्चा र हल्लाले पनि प्रशस्त स्थान पाएका देखिन्छन् । नुवाकोट फत्ते गरेपछि बेलकोट हान्न जान केही धैर्य गर्न कालु पाँडेले दिएको सल्लाह नमानेर हतारिएर जाँदा झन्डै आफै परेका घटना हेर्दा पृथ्वीको हतारिने र फुर्सदमा पछुताउने स्वभाव पनि देखिन्छ ।

विश्लेषण

इतिहास भनेको एउटा ठूलो वर्णपट हो । कतिपय परम्परा आदिबाट कोही पनि व्यक्ति मुक्त हुन सक्दैन । पृथ्वीनारायण प्रचलनलाई मानेरै अघि बढेका हुन् । त्यो अस्वाभाविक होइन । अहिले हामीले खोजेको क्रान्तिकारी चरित्र उनमा देखिएन भनेर उनको योगदानलाई अस्वीकार गर्नु तर्कसङ्गत देखिँदैन । मनुस्मृतिलाई विकृत ढङ्गले प्रयोग गरेर जातजातिमा कठोर विभाजन गर्ने काम काठमाडाैँमा जयस्थिति मल्लले गरेका थिए, जो वास्तवमै दक्षिणबाट आएका थिए र दक्षिणको प्रचलन यहाँ थोपरेका थिए । नेवार एउटा छुट्टै जाति नभएर लामो कालखण्डमा पटकपटक गरेर नेपाल भित्रिएका मानिसहरूको समूह भएकोले जयस्थिति मल्लले जात विभाजन गरे हुन् । तर त्यो विभाजन नै भविष्यको लागि दूर्भाग्यपूर्ण ठहरियो । पृथ्वीनारायणलाई राम शाह, जयस्थिति मल्ल वा महेन्द्र मल्लको जस्तै छुट्टै संहिता जारी गर्ने मनुसवा थियो । यसको अर्थ, केही परिवर्तन गर्ने चाहना र मुलुक ठूलो भएपछि त्यसैअनुसारको संहिताको आवश्यकता अनुभूत भएको हुन सक्छ । उनको समयमा भएका न्यायसम्पादनका प्रक्रिया र घटनाहरूलाई हेर्दा त्यो कुरा बुझिन्छ । यसको अर्थ फेरि के पनि होइन भने पृथ्वीनारायणले कुनै क्रान्तिकारी छलाङ लिने थिए । पृथ्वीनारायण त्यही समाजका उपज हुन् भन्ने कुरा बिर्सनु हुँदैन ।

राष्ट्रिय एकता दिवस भनेर पृथ्वीनारायणको पूजा गर्ने पञ्चायती संस्कार गलत थियो । पृथ्वीनारायणको उपदेशलाई ‘दिव्योपदेश’ भन्नु अर्को हाँस्यास्पद निर्णय हो ।  राजतन्त्रलाई खुसी पार्न गरिएका चिप्ला र चिल्ला वर्णनले पृथ्वीनारायणको नाम र कामलाई नै हानी भएकाे छ । पृथ्वीनारायणलाई देवत्वकरण गरेर राजतन्त्रलाई दिगो बनाउन सकिने कुरा दिवास्वप्नव थियो, जुन अहिले वास्तविकतामा परिणत भएको छ । आफ्ना केही भारदारहरूको अगाडि पृथ्वीनारायणले बताएका केही आफ्ना नीजि विगत, केही आफ्ना योजना र केही सल्लाह सुझावलाई उनको देहावसानको लगभग तीस वर्षसम्म अभिलेखीकरण गरिएको थिएन । सन् १८०० को आसपास तिनीहरूमध्ये कसैले लिपिबद्ध गरेको भनाइलाई दिव्योपदेश भन्नु त्यसको मानवीय पक्षलाई इन्कार गर्नु हो । पृथ्वीनारायण कतिपय कमजोरीसहितका एक मान्छे नै थिए । उनले नेपाल राज्य निर्माणको प्रारम्भमा नेतृत्वदायी भूमिका खेलेका थिए भन्ने पाटोलाई बढी महत्व दिनुपर्थ्यो । एकतालाई अगाडि बढाउने कुरामा पृथ्वीनारायणको नेतृत्व थियो तर पृथ्वी एक्लैले त्यो गरेका होइनन् । उनलाई सघाउने विभिन्न जातजातिका मान्छे थिए । त्यसैले सबैले जस पाउने, सबैलाई जस दिने परम्परा नबस्नु दुर्भाग्यपूर्ण कुरा हो ।

एकथरिको तर्क के छ— भने मुलुक एकीकरण ऐतिहासिक आवश्यकता थियो, पृथ्वीनारायणले नगरेका भए अर्कैले गर्थे । तर त्यो धारणा कोरा भ्रम हो । तत्कालीन समयको जति जानकारी छ, त्यसको आधारमा मूल्याङ्कन गर्दा अर्को कुनै व्यक्ति त्यो बेला पैदा हुन्थ्यो भन्ने देखिँदैन । सम्पन्न भनिएका उपत्यकाका राजाहरू थिए, पाल्पा थियो, मकवानपुर थियो । यिनीहरूबाट केही हुन सक्ने देखिएकै थिएन । वास्तवमा एकीकरण भनेर जुन अहिले दाबी गरिँदैछ, त्यो नै पनि पृथ्वीनारायणको योजना थिएन । ठूलो र सम्पन्न मुलुकको राजा हुने मुख्य उद्देश्य मात्र थियो । पृथ्वीनारायण त्यो कामनाले घचेटिएर अघि बढेका थिए । गोरखा कुनै समृद्ध क्षेत्र थिएन । द्रव्य शाहका नाति राम शाहले गोरखाको समृद्धि तिब्बतसँगको व्यापारमा रहेको देखे । तिब्बतसँगको व्यापारमाथि नेपाल उपत्यकाको एकलौटी थियो । राम शाहले तिब्बत जाने बाटोमाथि पहुँचको प्रयास पनि गरेका थिए । पृथ्वीनारायणमा त्यो विचारले महत्वाकांक्षा पैदा गर्‍याे । तिब्बतसँग व्यापार गर्ने मुख्य मार्गमाथि नियन्त्रण गरेर गोरखाको समृद्धि गर्ने सपना थियो । सकेसम्म ठूलो मुलुकको राजा हुने सपना थियो । समृद्ध मुलुकको राजा हुने रहर थियो । समकालीन पाल्पा, तनहुँ, लमजुङ, मकवानपुर र सके नेपाल उपत्यकाकै राजा सरह हैसियत बनाउने सपना थियो ।

यो क्रममा जब जयप्रकाशले अङ्ग्रेजसँग सहयोग मागे, तब राष्ट्रियताको भावनाको पनि शिलान्यास भयो । बाहिरीया विरुद्ध एकजुट हुने हुटहुटी त्यसअघि भएको थिएन । त्यसकारण एकीकरण ऐतिहासिक आवश्यकता भन्न सकिँदैन, जुन अवश्यम्भावी हुन्थ्यो कसै न कसैको हातबाट ! यथार्थचाहिँ के देखिन्छ भने छिन्नभिन्न र परस्पर द्वेष तथा ईर्श्याले ग्रस्त भुरेटाकुरेहरू एक वा अर्को कारण छिमेकी राज्यविरूद्ध अङ्ग्रेजको शरणमा पुग्थे । त्यो समयमा पृथ्वीनारायण नामका दुस्साहसी राजा निस्के र राज्यविस्तार अभियान चलाए, जुन समय क्रममा राष्ट्रिय एकताको आधार बन्यो । यसमा योगदान धेरैको छ । काठमाडाैँका जनताको पनि छ, जो जयप्रकाश मल्लसँग आजित थिए । जनताको साथ नपाई पृथ्वीनारायणले रक्तपातविहिन विजय गर्न सक्नो थिएनन् । राष्ट्रिय एकता दिवस मनाउँदा पृथ्वीनारायणलाई मात्र नसम्झेर सबैलाई सम्झिन नसक्नु् पहिलेको दृष्टिदोष थियो । त्यही दृष्टिदोषको कारण अहिले पृथ्वीनारायणलाई गलत भन्ने अर्को दोषको प्रादुर्भाव भएको छ ।

प्रसङ्ग नेपालको एकताको हो, पृथ्वीनारायणको जन्म वा मृत्युको स्मरण गर्ने मात्र होइन । मान्छे जन्मनु र मर्नु एउटा शाश्वत घटना हो । राष्ट्रिय एकताको श्रेय पृथ्वीनारायणलाई मात्र दिनुपर्छ भन्ने छैन । पराजित समूहले धेरै कुरा गुमाएर पनि राष्ट्रिय एकतामा गाँसिएका छन् । आखिर नेपाल छुट्टै मुलुक बन्यो, जसको कारण हामीहरूले आफ्नो अन्तर्राष्ट्रिय पहिचान पाएका छाैँ ।

इतिहास भनेको वास्तवमा अत्याचारकै इतिहास हो । गुमाउनेहरूकै इतिहास हो, तर लेखिन्छ जित्नेको आँखाबाट । जित्ने भनिएकाहरूले पनि गुमाएका हुन्छन् । तर त्यो ओझेलमा परेको हुन्छ । गोरखा ठूलो राज्य हुन पुग्दा केन्द्र हुनबाट बञ्चित रह्यो । समृद्धिको मूल प्रवाहमा गोरखा पुग्नैु पाएन । गोरखाले गुमाएको पाटो हो यो । नुवाकोट, लामीडाँडा कब्जा गरिसकेपछि पृथ्वीनारायणले गोरखाबाट मानिसहरू यी स्थानहरूमा बसाइँ सराएका थिए । नयाँ स्थानको रजाइँ गर्ने क्रममा शासनको मूल प्रवाहमा यी आउन पाएनन् ।

राष्ट्रिय एकता दिवस अरू दिन मनाउँदा पनि हुन्छ, पृथ्वीनारायणकै जन्म वा मृत्यु दिन नै पार्नु पर्छ भन्ने छैन । जुनसुकै दिन भए पनि त्यो दिनमा सम्झिने व्यक्तिहरूमा पृथ्वीनारायणको नाम अग्रपङ्क्तिमा आउनुपर्छ । एक महत्वपूर्ण व्यक्तिको रूपमा सम्झिनुपर्छ यिनलाई । त्यो समयमा पृथ्वीनारायणले गरेका राम्रा र गलत दुवै काम कुराको निष्पक्ष आलोचना गरिनुपर्छ । यसरी आलोचना गर्दै गर्दा पनि आजको नेपाल उनको नेतृत्वको परिणाम हो भन्ने स्वीकार्नु आवश्यक छ । यसो गर्दा कोही पनि पराजित भएको हुँदैन ।

आज हामी सङ्क्रमणकालीन न्याय भनेर कुदिरहेका छौँ । त्यही तर्क पृथ्वीनारायणको हकमा पनि लागू हुनुपर्छ । गुमाउनेले के गुमाए भन्ने कुराको लेखाजोखा पनि गरिनुपर्छ । गुमाउँदाको पीडालाइ बिर्सनुपर्छ भन्ने होइन । तर त्यसको वस्तुगत विश्लेषण हुनुपर्छ । गुमाएको र पाएकोको तुलना गरिनुपर्छ । गुमाएका मात्र छाैँ, पाएका केही पनि छैनाैँ भन्ने तर्क अवस्तुवादी तर्क हो ।

प्रतिक्रिया

One thought on “पृथ्वीनारायण शाह : केही टिप्पणी

  1. राष्ट्रनिर्माता/विस्तारवादी सामन्ती राजा अरूको निक्षेपण हो, उनको होइन । पृथ्वीले के गरे तथ्य त त्यसले न निरूपण गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *