छैटौँ ‘स्की लेभल १’ प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजना गरिएको छैटौँ स्की लेभल १  प्रशिक्षण सम्पन्न भएको छ । पुस १८ गतेदेखि २५ गतेसम्म काठमाडौँ र दोलखाको कुरी गाउँमा गरिएको प्रशिक्षणमा १८ जना प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रममा  इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसियसनद्वारा मान्यता प्राप्त चार जना माउन्टेन गाइडले प्रशिक्षण दिएका थिए ।
 नेपालमा पनि युरोप जस्तै स्की खेल खेलाउन सकिन्छ भन्ने कुरा विभिन्न अध्ययनबाट पत्ता लागेको र यसै खेलबाट हिउँदे पर्यटन पनि बढाउन सकिने भएकाले यो क्षेत्रलाई थप महत्त्व दिनुपर्ने स्की प्रशिक्षक तथा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघको महासचिव साथै नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य छिरिङ जाङ्बु शेर्पा बताउँछन् ।

स्की खेल साहसिक खेल मध्येको एक खेल रहेको र  विश्वमा धेरै खेलकुद प्रतियोगिताहरूमा स्की खेललाई पनि समावेश गरिएको हुने भए पनि नेपालले स्कीका दक्ष खेलाडी उत्पादन गर्न नसकिरहेकाले दक्ष खेलाडी उत्पादनका साथै पर्यटन प्रवर्द्धन गर्ने मूख्य उद्देश्य राखिएको प्रशिक्षक पासाङकाजी शेर्पाले बताए ।

प्रशिक्षक छिरिङ पाण्डे भोटेले भने, ‘साहसिक खेलको लागि शारीरिक सुरक्षा पनि उत्तिकै आवश्यक रहन्छ । तर नेपालमा भने इन्सुरेन्सदेखि सरकारले भने यस्तो साहसिक खेलको लागि उति चासो नदेखाएको भान हुन्छ ।
जबकि हामी भने हाम्रो ज्यानसँग खेलेर देशको नाम उच्च राखिरहेको हुन्छौँ भने सरकारलगायत नेपाल पर्वतारोहण संघ भने मौन बस्न रुचाउँछ । यदि हामीले सही साथ र सहयोग पाउने हो भने अरू देशहरूमा जस्तै हामी पनि दक्ष स्की खेलाडी तथा जनशक्ति उत्पादन गर्न सक्छौँ ।’

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संयुक्त रूपमा सन् २०१५ देखि हरेक वर्ष हिउँदमा स्की प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आइरहेको छ । स्की खेल भनेको हिउँमा चिप्लिएर खेल्ने साहसिक खेल भएकोले यो खेलको लागि हिउँ जरुरी हुन्छ । नेपालको परिस्थितिमा भने सबै हिमपात हुने क्षेत्रहरूमा सहजै पुग्न सकिँदैन ।

सकिहाले पनि खर्चिलो हुने गरेको छ । त्यसैले प्रशिक्षणका लागि हरेक हिउँदमा हिमपात कुरेर बस्नुपर्ने र त्यो पनि काठमाडाैंँ नजिकको क्षेत्रमा हुनुपर्ने बाध्यता रहेको प्रशिक्षकहरू बताउँछन् ।

प्रशिक्षक छरिङजाङ्बु शेर्पा नेपालका ढोरपाटन, मकालु वरुण क्षेत्रको मेरा पीक, मुस्ताङको दामोदर कुण्ड नजिक रहेको भृकुटी सायल, दोलखाको शैलुङ र दोलखाकै कालिन्चोक कुरीमा स्की खेल खेल्न सकिन्छ भन्ने कुरा स्की प्रशिक्षकहरूको विभिन्न खोजले प्रमाणित गरिसकेको बताउँछन्। साथै स्की खेलले हिमाल आरोहणको क्रममा गरिने उद्धार कार्यमा पनि द्रुत गतिमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

नेपालमा स्की प्रशिक्षकको सङ्ख्या जम्मा ३५ जना मात्र छ । दक्ष स्की जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेर अघि बढेको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले स्की लेभल २ र ३ पनि नेपालमै गर्ने योजना बनाएको  तर आवश्यक स्रोत र साधनको कमीले गर्दा सो कार्यक्रम गर्न नसकिरहेको कुरा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष आङ नोर्बु शेर्पा बताउँछन् ।

तस्बीरहरू- बिरोध बुर्लाकोटी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *