शीर्षस्थानको बायर्न म्युनिखको हार

काठमाडौँ । जर्मन बुन्डेस लिगामा शीर्ष स्थानमा रहेको बायर्न म्युनिख पराजित भएको छ । पछिल्ला पाँच लगातार जितपछि वार्यन शुक्रबार राति घरेलु मैदानमानै बौउरुसिया मोनचेनग्लाडबचसँग २-१ ले पराजित भयो ।

लिगको विन्टर ब्रेक पछिको पहिलो खेलमानै लिग लिडर म्युनिख पराजित भएको हो । म्युनिख लिगमा अस्बर्गसँग गत नोभेम्बरमा पराजित भएयता लगातार पाँच खेलमा जित निकाल्दै लिग अंक तालिकामा दोस्रो स्थानको बौउरुसिया डर्टमुन्ड भन्दा ९ अंकको अग्रता बनाउन सफल भएको थियो ।

शुक्रबार भने बार्यन कोरोनाका कारण आफ्ना अधिकांश राम्रा खेलाडी बिना मैदानमा उत्रिएको थियो । महत्त्वपूर्ण खेलाडीहरू म्यानुअल नुएर, लुकास हर्नान्डेज, लियोन गोरटेका, लेरायो साने, अलफोनसो डेभिस, किंगस्ली कोमन लगायतका महत्त्वपूर्ण खेलाडीलाई कोरोनाका कारण मैदानमा गुमाएको थियो । उसका एक दर्जन भन्दा बढी खेलाडी कोभिडको सिकार भएको बताइएको छ ।

बार्यनले खेलमा रोबर्ट लेवान्डोस्कीको गोलमार्फत १८औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो । मुलरको पासलाई सदुपयोग गर्दै लेवान्डोस्कीले सिजको २० औ लिग गोल गरेका थिए । तर अंक तालिकाको मध्यभागमा रहेको ग्लाडबचले २७औँ मिनेटमा फ्लोरियन नेउहसको आकर्षक भलि मार्फत खेल बराबरीमा ल्यायो । त्यसको ४ मिनेट पछिनै पाहुना टोलीले अग्रता लियो । ३१औँ मिनेटमा स्टेफन लाइनेरले कर्नर बलमा हेड गोल गर्दै टीमलाई २-१ को अवस्थामा पुर्‍याए । दोस्रो हाफमा पनि अग्रता जोगाउन सफल भएसँगै ग्लाडबचले म्युनिखलाई पराजित गर्न सफल भयो ।

जितसँगै ग्लाडबचले लिग अंक तालिकामा तीन स्थान सुधार गर्दै ११औँ स्थानमा उक्लिएको छ । पराजित भएपनि म्युनिख भने दोस्रो स्थानको डर्टमुन्डसँग ९ अंकको अग्रता सहित ४३ अंक सहित शीर्ष स्थानमा कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *