ड्रोन र रोबोटमा रमाउँदै ‘जीबीएस टीम’ (भिडिओसहित)

ललितपुर । ग्वार्कोबाट अलि भित्र छ ‘जीबीएस टीम’को कार्यालय र वर्क स्टेशन । साना र साँघुरा छन् कोठामा जहाँ रोबोट, र ड्रोन बनाउने काम हुन्छ । ‘जीबीएस टीम’को यही ल्याबमा वर्षौँदेखि रातदिन खटिइरहेका छन्- गणेशबिक्रमसिंह आले र यज्ञप्रसाद देवकोटाहरू ।

सफा र व्यवस्थित तरिकाले सामान राखिएको यो ल्याब निर्माणको कुरा पनि रोचक छ । गणेशले आफ्नै कोठामा यज्ञको सहयोगमा ल्याब बनाएर काम थालेका थिए । इन्जिनियरिङ अध्ययन गरेका गणेश र यज्ञको टिममा उनीहरुले इन्जिनियरिङकै विद्यार्थीलाई पढाउने सिलसिलामा थप युवा र विद्यार्थी जोडिन पुगे । त्यसैले गणेशकै नामबाट समूह बन्यो । ‘यो समूह मेरो लागि एउटा परिवार जस्तै भइसकेको छ’ गणेश भन्छन् ।

के काम गर्छ ‘जीबीएस टीम’ले ?
विज्ञान प्रविधिको क्षेत्र नेपालमा सधैँ छायामा परेको मानिन्छ । त्यसैले पनि यो क्षेत्रमा लाग्न चाहने मानिस बेलैमा बिदेसिन्छ भन्नेहरू धेरै छन् । तर, युवा इन्जिनियरहरूको समूह ‘जीबीएस टीम’ यही चुनौतीलाई अवसरमा परिवर्तन गर्ने ध्याउन्नका साथ निरन्तर कर्ममा जुटिरहेको छ ।

‘जीबीएस टीम’का धेरैजसो सदस्य इन्जिनियर छन् । ड्रोन, रोबोट र अन्य प्रविधिसँग झुकाव राख्नेहरू त्यसको खोज अनुसन्धान तथा विकासमा केही गर्न चाहने युवाहरू ‘जीबीएस टीम’मा आबद्ध छन् । रोबोट, ड्रोन, हवाईजहाजको निर्माण सम्बन्धी खोज र विकासको लागि प्रयासरत छ ‘टिम जीबीएस’ ।

गणेश र यज्ञमध्ये यज्ञले ल्याबको व्यवस्थापनसँग सम्बन्धित काम सम्हाल्छन् भने गणेशले प्राविधिक पाटो सम्हाल्छन् । इन्जिनियरिङ पढ्ने क्रममा गणेश विभिन्न क्याम्पसस्तरका प्रतियोगितामा सहभागी हुन्थे । सहभागी हुन विद्यार्थी आफैले खर्च बय स्थापन गर्नुपर्थ्यो क्याम्पसले लगानी गर्दैनथ्यो । पछि प्रतिस्पर्धा जितेपछि नाम चाही क्याम्पसको नै चल्थ्यो । खर्च र मेहनत आफैँ गर्ने भएपछि आफ्नै टिम बनाउने क्रममा ‘जीबीएस टीम’ बनेको हो ।

अहिले उनीहरू अनम्यान सिस्टम अर्थात् मानवरहित चिजहरूबारे काम गरिरहेका छन् । यसमा पनि रोबोट र ड्रोन प्राथमिकतामा छन् । आफूहरूले आविष्कारभन्दा पनि अनुसन्धान र विकासमा केन्द्रित भएर काम गरिरहेको यज्ञ र गणेश बताउँछन् ।

उनीहरूले युट्युब, टिभी, पत्रपत्रिकामा देखेका बस्तुहरूले कसरी काम गर्छन् र यसलाई नेपालमै प्रभावकारी तरिकाले बनाउन सकिन्छ की सकिँदैन भनेर अनुसन्धान र विकास गर्ने काम गरिरहेका छन् । अझै यस्ता बस्तुहरू आफ्नो क्षमताभित्र छ की छैनन् र यो चल्दा यो कस्तो हुन्छ भनेर पत्ता लगाउन, अनि आफ्नै रमाइलोका लागि पनि यो समूहले काम गरिरहेको छ ।

यस्तै, रोबोट र ड्रोन परीक्षण गरिसकेपछि यसलाई व्यावसायिक रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर पनि समूहले थप काम गरिरहेको गणेशले बताए ।

यो समूहले बनाएका रोबोट र ड्रोन सुरक्षा निकायलाई उपलब्ध गराउने गरेको गणेश बताउँछन् । नेपाली सेना र सशस्त्र प्रहरीलाई बम डिस्पोजल रोबोट र ड्रोन पनि जीबीएस टीमले उपलब्ध गराउने गरेको छ । त्यस्तै, इन्जिनियरिङ क्याम्पस, प्रतिष्ठानलाई आवश्यक परेमा रोबोट, ड्रोनलगायत उपकरण यही टीमले बनाएर दिने गरेको छ । आफूहरूले थाहा पाएका र सिकेका कुरा अरू इच्छुक विद्यालय र क्याम्पसलाई पनि उपलब्ध गराउने गरेको यज्ञले बताए ।

टर्निङ पोईन्ट साबित भएको त्यो प्रतिस्पर्धा
सामान्य खोज अनुसन्धान र रोबोटिक्सको काम गरिरहेका गणेश र यज्ञका लागि एक प्रतिस्पर्धा टर्निङ पोईन्ट बन्न पुग्यो । ५ वर्ष पहिले नेपाली सेनाले गरेको ‘मिलिटरी साइन्स एण्ड टेक्नोलोजी’ प्रतिस्पर्धामा ‘जीबीएस टीम’ले पनि भाग लियो । प्रतिस्पर्धामा सेनालाई आवश्यक पर्ने कुनैपनि यन्त्र उपकरण उत्पादन गर्नुपर्ने थियो । प्रतिस्पर्धामा ‘जीबीएस टीम’ले एउटा बम डिस्पोजल रोबोट र अरू २० प्रकारका सामानसहित सहभागी बन्यो । ८० वटा समूह प्रतिस्पर्धी रहेकोमा ‘जीबीएस टीम’ विजयी भयो ।

यो टिमले बनाएको बम डिस्पोजल रोबोट सेनाको नजरमा परेको थियो । प्रतिस्पर्धाको २ वर्षसम्म सेनाले आफूहरूले राम्रोसँग काम गर्ने नगर्ने भनेर रिसर्च गरिसकेपछि बल्ल बम डिस्पोजल रोबोट लिएको गणेशले बताए । अहिलेसम्म तीनवटा बम डिस्पोजल रोबोट सेनालाई बुझाइसकेका समूहले सेनासँग लगातार काम गरिरहेको छ ।
सेनाका रोबोट तथा ड्रोन बिग्रिएमा मर्मतको काम पनि उनीहरूले नै गरिरहेका छन् ।

सिकाइको भोक लिएर टीममा जोडिएका युवाहरूको कथा
नेपालगञ्जका धिरज सुनार यो टीमसँग जोडिएको ७ वर्ष भइसकेको छ । धिरजले इलेकट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका छन् । अन्तिम वर्षको प्रोजेक्टमा गणेशसँग भेट भएपछि रोबोटिक्समा इन्ट्रान्सको समयमा उनी रिसर्च र डेभलपमेन्टप्रति आकर्षित भएर टीमसँग जोडिए ।

धिरजले मेकानिकल र इलेकट्रोनिक्स दुवै क्षेत्रमा टीमलाई सहयोग गरिरहेका छन् । कामको तत्कालै प्रतिफल प्राप्त नहुने क्षेत्र भएकाले सुरुमा आफ्नो परिवारलाई यस्तो काम गरिरहेको छु भनेर बुझाउन निकै अप्ठेरो परेको धिरजले बताए । ‘रिसर्च र डेभलपमेन्टमा आफ्नै खर्च समेत लगानी गर्नुपर्ने भएकाले सुरुमा गाह्रो भयो नि’ धिरज भन्छन् ।

तर आफू लगातार काममा लागेको केही वर्षपछि त्यसको प्रतिफल आउन थालेको अनि त्यसैले अभिभावकलाई पनि चित्त बुझाइ दिएको उनले सुनाए । अहिले त रोबोट बनाउने मान्छेको रूपमा चिनिन थालेकोमा थप खुशी लाग्ने धिरजले बताए ।

झापाका अनिल प्रधानलाई पनि सिक्ने भोकले नै यो टीमसँग जोडेको हो । किनभने अनिल व्यवस्थापनका विद्यार्थी हुन् । प्रविधिका क्षेत्रमा केही गर्ने आफ्नो सोचले गर्दा नै यो समूहमा जोडिएर काम गर्ने मौका जुरेको उनी बताउँछन् ।

इलेकट्रोनिक्स र मेकानिकल इन्जिनियरिङमा रुचि भएपनि पारिवारिक बाध्यताले गर्दा त्यो विषय पढ्न नपाएका उनी आफ्नो रुचिलाई काम मार्फत व्यवहारमा उतार्न जीबीएस टिममा आबद्ध भएका हुन् । अनिलले झापामा बनाएको साइरन ड्रोन धेरै चर्चित भएको थियो । प्रविधिलाई व्यक्ति र समाजका लागि काम लाग्ने बनाउनका लागि आफू लागिपरेको अनिल बताउँछन् ।

यही मेसोमा तराईमा जङ्गली हात्तीको समस्यालाई समाधान गर्ने उद्देश्यले उनले साइरन ड्रोन बनाए । जुन नेपालकै पहिलो हो । उनलाई यस काममा भद्रपुर नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । उनले बनाएको त्यो हेक्जाकोप्टर ड्रोनमा हात्ती तर्सिने आवाज राखिएको थियो । अहिले त्यसमा थप अनुसन्धान भइरहेको अनिलले बताए । यही प्रोजेक्टमा थप केही गर्ने र रोबोटिक्सबारे पनि सिक्ने भनेर उनी ‘जीबीएस टीम’मा आबद्ध भएका हुन् ।

अहिले यस्तै १६ जना युवा ‘जीबीएस टीम’मा आबद्ध छन् । उनीहरू सबै जनाको केही नयाँ र विशेष गर्ने योजना र सपना रहेको छ । केही गरौँ भन्ने सोच र युवाहरूको साथका कारण आफूहरूले केही वर्ष अघि बढो मेहनतका साथ शुरु गरेको यो काम सोचेकै जस्तो गरी अघि बढिरहेकोमा ‘जीबीएस टीम’का संस्थापक गणेश र यज्ञ खुशी छन् । कसै न कसैले अग्रसरता नलिएसम्म यो क्षेत्र झनै छायामै रहने भएकाले पनि थप दायित्व महसुस भएको उनीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *