ए डिभिजन लिग: जित्ने र टिक्ने लडाइँमा मिलेमतोको जोखिम

काठमाडौँ । नेपालको प्रतिष्ठित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौँ चरणका खेलहरू सकिएका छन् । शुक्रबारबाट आठौँ चरणका खेल शुरु हुँदैछन् । अहिलेसम्ममा नेपालबाट एएफसी कप छनोटमा सहभागी हुने टीम तय हुँदा उपाधि होड र रेलिगेशन समीकरण रोमाञ्चक अवस्थामा पुगेको छ ।

अब मैदानभित्र जति रोमाञ्चक खेल हुनेछ मैदानबाहिरका खेलको ‘जोखिम’ पनि उत्तिकै हुने खतरा छ । फुटबलको रोमाञ्चकतासँगै विश्व फुटबलकै लागि खेल मिलेमतोको जोखिम सर्वाधिक चुनौतीको विषय बन्ने गरेको छ । यसको सन्दर्भबाट नेपाल पनि अछुतो रहन सकेको छैन । घरेलु फुटबलमा यसअघि पनि एकाध पटक मिलेमतोका शंका र प्रसङ्ग उठेपनि ‘प्रमाण’ को अभावमा यत्तिकै सेलाउने गरेका छन् ।

इन्टिग्रिटी अफिसर नहुँदा झनै जोखिम
खेल मिलेमतोलाई नियन्त्रण गर्नका लागि भन्दै अखिल नेपाल फुटबल संघ एन्फाले तीन वर्ष अगाडी ‘इन्टिग्रिटी अफिसर’ नियुक्त गरेको थियो । उनीहरूलाई गोप्य रूपमा खेलाडी तथा पदाधिकारीको गतिविधिमाथि निगरानी गर्दै खेल मिलेमतोका बारेमा अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो । एन्फासँगको सम्झौताअनुसार नै सी, डिभिजन छनोट, बी डिभिजन र अघिल्लो संस्करणको ए डिभिजन लिगमा उनीहरूले काम गरे ।

तर इन्टिग्रिटी अफिसर र एन्फा कोषाध्यक्षबीच विवाद हुँदा अहिले एन्फामा यस्ता अफिसरहरू सक्रिय छैनन् । एन्फाले २०७५ को २९ साउनमा फुटबलमा हुनसक्ने विकृति बिसंगतिहरुलाई नियन्त्रण गर्न इन्टिग्रिटी अफिसर मनोनयन गरेको थियो । सम्झौता २०७९ वैशाखसम्मका लागि भएपनि सम्झौताअनुसारको रकम एन्फाले नदिँदा इन्टिग्रिटी अफिसर सक्रिय छैनन् । जसका कारण लिगमा हुनसक्ने सम्भावित मिलेमतो यो पटक झनै हुने खतरा देखिन्छ ।

के हो विवाद
इन्ट्रिगिटी अफिसर सुदीप आचार्य आफूले पाउनुपर्ने रकम कोषाध्यक्षले नदिँदा अफिसरहरू खटाउनै समस्या भएको बताउँछन् । त्यसमा पनि क्लब फुटबलको स्वार्थ जोडिएको छ । एन्फा कोषाध्यक्ष रवीन्द्र जोशीको ‘बी’ डिभिजन क्लब पुल्चोक यूथ क्लब गत सिजन रेलिगेशनमा पर्‍यो । यही विषयको ‘इगो’ उनले इन्ट्रिग्रिटी अफिसर सुदीप आचार्यसँग साँधेको विश्लेषण फुटबल क्षेत्रका जानकारहरूको छ । उनले आफ्नो क्लबलाई ‘बि’ डिभिजनमा झारेको आरोप लगाउँदै सम्झौताको रकम नै निकासा गरेनन् । पारिश्रमिकबापतको फाइल अध्यक्ष र महासचिवले हस्ताक्षर गरेपनि कोषाध्यक्षले अड्काएको आरोप आचार्यको छ।

एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी भने एकजना मात्रै इन्टिग्रिटी अफिसरले निष्पक्ष जिम्मेवारी निर्वाह गर्न नसक्ने र सङ्ख्या थप्नुपर्ने भएकाले समस्या भएको बताउँछन् । उनले व्यक्तिगत रूपमा कुनै विवाद वा असहमति नभएको दाबी गर्छन् । एन्फाले यो विषय सुल्झाउन नसक्दा ए डिभिजन लिगमा मिलेमतोको जोखिम बढेको खेल विश्लेषकहरू बताउँछन् ।

अझ यो पटक ए डिभिजन लिगमा दुई टीम घटुवामा पर्ने भएकाले स्वाभाविक रूपमा चलखेलको जोखिम देखिने उनीहरूको तर्क छ । एकजना विश्लेषकले नाम नलेख्ने सर्तमा भने- ‘यसका लागि कसैले पैसाको पावर लगाउँछन् भने, कसैले स्ट्याटस वा अरू कुराको पावर लगाउने जोखिम रहन्छ । अझ इन्ट्रिग्रिटी टीम सक्रिय नहुँदा जोखिम बढ्ने खतरा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *