संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌द्वारा म्यानमार हत्याको निन्दा

काठमाडौँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरूसहित कम्तीमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ ।

राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र ‘सबै हिंसाको तत्काल अन्त्य’ गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानव अधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन् । साथै उनीहरूले ‘आवश्यकतामा परेका सबै मानिसहरूका लागि सुरक्षित र निर्वाध मानवीय पहुँच, चिकित्सा कर्मचारीहरूको पूर्ण सुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन् ।

राजदूतहरूले म्यानमारको सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता, क्षेत्रीय अखण्डता र एकताप्रति बलियो प्रतिबद्धताका साथ म्यानमारका जनता र देशको लोकतान्त्रिक सङ्क्रमणप्रतिको समर्थनलाई पुनः दोहोर्‍याएका छन् ।

विश्वसनीय रिपोर्टहरूका अनुसार दुई १७ वर्षीय किशोरहरू, एक किशोरी र करिब पाँच वर्षको बच्चासहित चार बालबालिकाको मृत्यु भएको बताइएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *