‘ढकियामे नागरिकता’ माघ १ गतेदेखि प्रदर्शन हुने

काठमाडौँ । जन्मसिद्ध नागरिकता पाएका आमा बुवाका छोराछोरीले वंशजका आधारमा नागरिकताविहीन हुनु परेको कथामा आधारित नाटक ‘ढकियामे नागरिकता’ आगामी माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ ।

युवा निर्देशक सरिता शाहको लेखन/निर्देशन रहेको सो नाटक माघ १ देखि १० गतेसम्म हरेक दिन साँझ ४ः३० बजेदेखि शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ । ‘ढकियामे नागरिकता’ नाटकको पोस्टरसमेत सार्वजनिक भएको छ ।

नाटकका माध्यमबाट विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता नपाएका कारण राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित हुन पुगेको, भूमि नभएका कारण नागरिकता नपाएका जस्ता समस्यालाई उजागर गरिएको निर्देशक शाहले जानकारी दिइन् ।

निर्देशक शाहले भनिन्, ‘खासगरी एकातिर संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने समस्या छ भने, अर्कोतर्फ पुरुषवादी र नस्लवादी सोचका कारण पनि महिलालाई नागरिकता लिन समस्या हुँदै आएको छ, जन्मशिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ भन्ने त्रासलाई नाटकमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’

नाटकमा राज्य सत्तामा रहेका व्यक्तिले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुन कार्यान्वयन नगर्ने, अदालतको आदेश प्रमुख जिल्ला अधिकारीले नमान्नेजस्ता समस्या देखाइएका छन् । नागरिकताको सवाल सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई नाटकमा जोडदाररुपमा प्रस्तुत गर्नाका साथै कतै न कतै प्रशासनको दोषलाई पनि देखाइएको छ ।

नाटकमा कलाकार सरिता साह, अनिल कुर्मी, सुजिता साह, राज शर्मा पङ्गेनी, आदित्य मिश्रा, हाङ ओ राई, रमिता यादव , सञ्जय मुडियारी, सुदिपजंग कार्की, सुदीप पटेल, सुस्मिता पोख्रेल, आकाश झा र प्रिन्सेज शाहको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =