सप्तकोशी विकास बैंकका सीईओसहित थप तीन पक्राउ, १६ करोड हिनामिनाको आरोप

विराटनगर । आर्थिक अपचलन गरेको आरोपमा विराटनगरको सप्तकोशी विकास बैंकका कार्यकारी प्रमुखसहित तीन जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको हो । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिृकत नविन सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले मकालुखबरलाई जानकारी दिए ।

तीनै जनालाई सप्तकोशी विकास बैंकको कार्यालयबाट पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुवेदीलाई पक्राउ गरेसँगै अन्य दुई जना कर्मचारी पनि पक्राउ परेको डीएसपी श्रेष्ठले बताए ।

यसअघि नै प्रहरीले बैंकको रकम अपचलन गरेको आरोपमा जीएसडी प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

यो पनि
सप्तकोशी डेभलपमेन्ट बैंकबाट कति रकम हरायो सबै अन्याेल, एक कर्मचारी पक्राउ

बैंकबाट गायब रकममध्ये अधिकांश प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राष्ट्र बैंकमा परेको उजुरीमा प्रमुख कार्यकारी अधिकृतको प्रत्यक्ष संलग्नतामा आफन्तको खातामा रकम जम्मा भएको देखिएको भनी उल्लेख गरिएको थियो ।

बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ नविन सुवेदीकी नातेदार हुन् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ ।

यसअघि नै प्रहरी नियन्त्रणमा रहेका भट्टराई र आजै पक्राउ परेका सीईओका सुवेदीका बिचमा नाता रहेको छ । बैंकको सीईओ भएर आएपछि सुवेदीले भट्टराईलाई बैंकमा जागिर लगाएका थिए । ‘उनीहरू दुवै जनाले मिलेर बबिताको नाममा रकम जम्मा गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘अन्य विभिन्न पाँचवटा बैंकमा एक करोड रकम जम्मा भएको पाइएको छ, त्योबारे पनि अनुसन्धान भइरहेको छ ।’

सीईओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासु बानी पोखरेल लगायतको खातामा रकम पठाएको दाबी उजुरीमा गरिएको छ । धनकुटा प्रधान कार्यालय भएको बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ ।

राष्ट्र बैंकमा परेको उजुरीसँगै समावेश कागजात:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *