सप्तकोशी डेभलपमेन्ट बैंकबाट कति रकम हरायो सबै अन्याेल, एक कर्मचारी पक्राउ

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा आर्थिक अपचलन गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । बैंकको विराटनगरमा रहेको कर्पोरेट कार्यालयका एक कर्मचारीले आर्थिक अपचलन गरेको आरोप लागेको हो ।

प्रदेश १ कै सबैभन्दा ठुलो विकास बैंकको रुपमा स्थापित सप्तकोशी विकास बैंकमा कार्यरत कर्मचारीले आर्थिक अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि बैंकले प्रहरीलाई अनुरोध गरेको थियो । त्यसैको अधारमा प्रहरीले बैंकको विराटनगर कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपाटमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराइलाई पक्राउ गरेको हो ।

गत मंसिर १९ गते नै पक्राउ परेका भट्टराईबारे प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको भए पनि सार्वजनिक गरेको थिएन ।

मंसिर पहिलो साता बैंकको रेमिट्यान्सतर्फको ठूलो रकमबारे हिसाब नमिलेपछि बैंकले मोरङ प्रहरीमा अनुसन्धानका लागि जाहेरी दिएको प्रहरी स्रोतको भनाइ छ । बैंकमा कति रकम हिसाब नमिलेको भन्नेबारे यकीन उल्लेख गरिएको छैन । प्रहरीमा भने करिब १५ करोडको हाराहारीमा हिनामिना भएको हुनसक्ने भन्दै जाहेरी परेको छ ।

बैंकको रकम हिनामिना भएको बारेमा जिल्ला प्रहरी कार्यालय मोरङ, राष्ट्र बैंक, बैंकको आन्तरिक व्यवस्थापनबाट पनि अनुसन्धान अघि बढाइएको बैंक सञ्चालक समितिले जनाएको छ । ‘कति रकम अपचलन भएको हो यकीन भएको छैन,’ बैंकका अध्यक्ष अर्जुन बरालले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले त्यसबारेमा प्रहरी र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ ।’

पक्राउ परेका भट्टराई ६ वर्षदेखि सोही बैंकमा कार्यरत कर्मचारी हुन् । भट्टराई बैंकमा २०७१ सालदेखि रेमिट्यान्स शाखामा काम गर्दै आएका थिए ।

कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रकम हिनामिना गरेको भट्टराईलाई आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बैंकमा भएको आर्थिक अपचलनबारेमा छानबिन भइरहेकाले धेरै बताउन नमिल्ने प्रतिक्रिया दिए ।

बैंकले प्रहरीमा दिएको जाहेरीमा भने १५ देखि १६ करोडको हाराहारीमा आर्थिक अपचलन गरेको भन्ने उल्लेख छ तर बैंकले भने एक करोडमाथि हिनामिना भएको हुनसक्ने बताउँदै आएको छ ।

केन्द्रीय कार्यालयका सबै काम कर्पोरेट कार्यालयबाटै गर्दै आएको बैंकको प्रदेश १ का मोरङ, सुनसरी, झापा, पाचथर, इलाम, धनकुटा र तेह्रथुम जिल्लामा शाखा कार्यालय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *