जाडोलाई चुनौती : गाजरको हलुवा बनाउँदै प्रमोद

काठमाडौँ । मङ्गलवार रातिबाट देशैभर वर्षा र हिमपात भइरहेको छ । जनजीवन प्रभावित भए पनि कति युवायुवती हिउँको मज्जा लिन घर बाहिर निस्किरहेका छन् । त्यस्तै कति घरमै बसेर इन्टरनेटको सहायताले दुनियाँ घुमिरहेका छन् ।

कलाकार प्रमोद अग्रहरी भने आफ्नो घर परासीमा आफ्नै अमृतम स्विट्सको कटिङ चियाको मजा लिँदैछन् । बिहान उठ्नासाथ भने बत्ती भएको नभएको हेरेका थिए उनले । रातिबाटै परेको पानीले उनको मनमा एउटामात्रै चिन्ता घुमिरहेको थियो । हरेक दिन नुहाएर आफ्नो दैनिकी सुरु गर्ने उनले बिहान पानी तताउन पाउने हो कि होइन भनेर सोचिरहे । ‘काठमाडौँजस्तो हुँदैन । यहाँ बत्ती गइरहेको हुन्छ । अनि त्यही चिन्ता लाग्छ, बिहान कसरी नुहाउने भनेर ।’ हाँस्दै उनले सुनाए‚ ‘धन्न रहेछ ।’

फ्रेस भएर उनी आफ्नै अमृतम स्विट्समा पुगे । यो उनले केही समयअघि सुरु गरेको व्यवसाय हो । बुबा बिरामी भएकाले र अमृतम पनि हालै सुरु भएकाले उनी दसैँयता परासीमै छन् ।

अमृतम स्पेसल चिया नखाई उनको दिनको सुरुवात नै हुँदैन । घरमा रहँदा उनले खानेकुरामा विशेष ध्यान दिँदैनन् । जे पनि खान्छन् चिल्लो पिरो केही नभनी । अझ आज त पानी परिरहेको छ, चियासँगै उनले भेज पकौडा खाए ।

उनी खानमात्रै होइन‚ खानेकुरा बनाउन पनि रुची राख्छन् । आज उनी मौसमलाई च्यालेन्ज गर्न गाजरको हलुवा बनाउँदैछन् । हामीले सम्पर्क गर्दा यसैको तयारीमा छु भन्ने उनले देशी घिउमा बनेको हलुवाको स्वादले अर्कै आनन्द दिने बताए । ‘तपाईँ पनि आउनुस् न है‚’ रमाइलो गर्दै बोलाउँछन् उनी हामीलाई पनि ।

करिब २ दशकअघि आमा गुमाएका उनले खानामा आमाले बनाउने पुरानो स्वाद खोज्छन् । ‘त्यस्तै स्वाद त अब कहाँ पाउनु र ?’ रेस्टुरेन्टको खाना नखाने नै त होइन तर पनि विशेष आकर्षण भने त्यही पुरानै स्वादमा छ उनको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *