पढ्नेमात्र होइन‚ काम गर्ने जनशक्ति उत्पादन गरिरहेको राजधानी मोडेल कलेज

काठमाडौँ । प्रतिस्पर्धा र अनेकौँ विकल्पका बिच छनोटमा पर्न सक्नु शैक्षिक संस्थाको लागि मुख्य चुनौती हो । तर‚ आफूलाई केही फरक तरिकाले उभ्याउन सके त्यो असम्भव पनि नभएको पुष्टि गरेको छ बानेश्वरको राजधानी मोडेल कलेजले । निरन्तरको प्रयास र संघर्षपछि प्राप्त सफलताले विश्वास बढाउने र यसैको भरमा छनोटमा पर्न सकिने रहेछ भन्ने अनुभव यो क्याम्पसले संगालेको छ ।

व्यवस्थापन संकायका विभिन्न शैक्षिक कार्यक्रम अध्ययनका लागि राजधानी मोडेल कलेजमा विद्यार्थीको चाप बढिरहेको क्याम्पस प्रशासन बताउँछ । बीबीए, बीएचएममा र एमबीए स्वीकृत कार्यक्रम र स्वीकृत कोटाअनुसार अहिले यो कलेजमा ५ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

राजधानी मोडेल कलेज सन् २०१३ मा विद्यार्थीलाई व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) अध्ययनका लागि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी खुलेको हो । ४८ सिटको बीबीएबाट सुरु भएको राजधानी मोडेल कलेजले सुरुमा संस्था बचाउन निकै गाह्रो भएको कलेजका संस्थापक तथा प्रधानाध्यापक बताउँछन् केपी पन्त बताउँछन् ।

‘हामी व्यवस्थापन गर्दै थियौँ । विद्यार्थीको हेरविचार गर्ने, उनीहरूलाई सहयोग गर्ने, टेवा दिने, उत्प्रेरित गर्ने कुरामा हामी केन्द्रित थियौँ । त्यसैले गर्दा होला हामीले धेरै राम्रो नतिजा ल्याउन सफल भयौँ । बीबीएको राम्रो नतिजाकै कारण विश्वविद्यालयले हामीलाई विश्वास गर्‍यो । कलेजले एमबीएको पनि स्वीकृति पायो ।’

साँझको समयमा एमबीए पढाइ हुने त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पोखरा विश्वविद्यालयसँग आबद्धता लिएका केही सीमित कलेजमध्ये राजधानी पनि एक हो । कामका कारण दिउँसो व्यस्त हुनेहरूले पनि साँझको कक्षा लिने भएकाले विद्यार्थीलाई पनि सुविधा भएको र साँझको कक्षा पढ्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन पनि सफल भएको पन्तको दाबी छ ।

राजधानी मोडेल कलेजका शैक्षिक कार्यक्रमहरू
राजधानी मोडेल कलेजमा व्यवस्थापन संकायअन्तर्गत विभिन्न विषयको अध्ययन अध्यापन हुने गरेको छ । यो कलेजमा बीबीए, बीएचएम र एमबीएको पढाइ भइरहेको छ । कलेजले यी तीनै शैक्षिक कार्यक्रममा विश्वविद्यालयद्वारा निर्धारित कोटाअनुसार नै विद्यार्थीलाई पठनपाठन हुने गरेको छ ।

विश्वविद्यालयको छनोट गर्दा अनिवार्य गरिएको पाठ्यक्रमभन्दा बाहिरको कोर्सलाई पनि समेटेर लैजाने क्याम्पस र विश्वविद्यालय छान्नुपर्ने बताउँछन् प्रिन्सिपल पन्त । त्यस्तै उद्देश्य बोकेर जीवनोपयोगी शिक्षा, सीप, सिकाइ, व्यवहार, नेतृत्व विकास, व्यक्तित्व विकासमा सहयोग खोज्ने विद्यार्थीका लागि एउटा सही शैक्षिक गन्तव्य रहेको प्रिन्सिपल पन्तको दाबी छ ।

यही कुरालाई आत्मसात् गरी पाठ्यक्रमबाहेक पनि जीवनोपयोगी सीपमा पनि कलेज केन्द्रित रहेको उनी बताउँछन् । कलेजले डिजिटल मार्केटिङ, स्टक मार्केटिङ, बिजनेस कम्युनिकेसन, केस एनलाइसिस, टक सिरिज, वर्कसप, एडभरटिज्मेन्ट मेकिङ, अकाउन्टिङ, ट्याली, बारिस्टा, बार टेन्डिङ, फुड फेस्टिभल, फायर फाइटिङ एन्ड सेफ्टी ट्रेनिङ, हस्पिटालिटी टक सिरिज, मिक्सोलोजी र वाइन टेस्टिङजस्ता कोर्स बाहिरका तालिमहरू पनि सिकाउने गरेको छ ।

सहभागितामूलक क्रियाकलापमा केन्द्रित गराउने र विद्यार्थीमा भएका आफ्ना मौलिक गुणहरू पहिचान गरी त्यसलाई बाहिर ल्याउन मद्दत गर्नेमा पनि कलेजले सधैँ सकारात्मक भूमिका खेलेको प्रिन्सिपल पन्त बताउँछन् । अध्ययन पूरा गरेर सर्टिफिकेट हात परिसक्दा पनि व्यवहारिक रूपमा ती कुरालाई उतार्न नसक्ने अवस्था आउन नदिन कलेजले सक्दो व्यवहारिक अभ्यास गराउने गरेको उनले बताए ।

‘हामी पढ्नेमात्र होइन‚ परेको बेलामा गर्ने जनशक्ति उत्पादन गर्छौँ ।’ यो कलेजले आर्थिकस्तर कमजोर भएका तर अध्ययनमा अब्बल विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । मध्यम आर्थिक स्तर भएका विद्यार्थीले पनि पढ्न सक्ने गरी कलेजले शुल्क निर्धारण गरेको प्रिन्सिपल पन्तले बताए ।

प्रविधिको फड्कोले सिकाउने काम चुनौतीपूर्ण
कोरोना महामारीको कारण शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित रह्यो । त्यसबाट आफूहरू पनि टाढा रहन नसकेको प्रिन्सिपल पन्त बताउँछन् । तर‚ प्रविधिमैत्री जनशक्तिमा पहिलेदेखि नै ध्यान दिएकाले समयमै त्यसलाई व्यवस्थापन गर्न सकेको उनी बताउँछन् ।

भन्छन्, ‘सौभाग्यवश! हामी पहिलेदेखि नै विद्यार्थी र शिक्षकलाई प्रविधिलाई आत्मसात् गर्दै पढ्न पढाउने कुरामा अग्रसर थियौँ र त्यति धेरै गाह्रो भएन । नत्र त्यो समयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न, अझ भर्चुअल माध्यमबाट नै बोर्ड परीक्षा लिन असम्भवजस्तै थियो ।’

आर्थिक हिसाबले कोरोनाको दुई वर्ष अति नै कष्टकर भए पनि केही कुरा सिक्ने, विद्यार्थीलाई सिकाउने, कसरी पूर्वतयारी गर्ने भन्ने पाठ सिक्ने हिसाबले भने उत्कृष्ट वर्ष रह्यो भन्दा फरक नपर्ने उनको ठम्याइ छ ।

‘यो महामारीपछि सिकाइलाई केहीले नरोक्ने रहेछ तर भौतिक उपस्थितिमा हुने सिकाइको राम्रो विकल्प भर्चुअल सिकाइ होइन रहेछ भन्ने थाहा भयो । प्रविधिसँग परिचित हुनुपर्छ र समयसँगै सिक्ने सिकाउने दुवै पक्षले आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ भन्ने पाठ पनि कोरोना महामारीले सिकाएको छ‚’ पन्तले भने ।

शैक्षिक क्षेत्रको लामो अनुभवले आफूलाई विद्यार्थी सधैँ फरक तरिकाले सिक्न चाहने र केही नयाँ स्वाद लिन चाहने हुन्छन् भन्ने बुझाएको प्रिन्सिपल पन्त बताउँछन् । ‘डायरीमा नोट च्यापेर पढाउँदाको समयबाट अहिले नोट नै नलेख्ने समयसम्म पुगिसकेका छन् विद्यार्थी । ट्याक्क मोबाइल निकालेर फोटो खिच्छन् । डिजिटल माध्यममा सामग्रीहरू छ्यापछ्याप्ती पाइन्छन्‚’ उनी भन्छन् ।

‘यतिसम्म कि हामीलाई थाहा नभएको कुरासमेत विद्यार्थीले जानकारी दिने र सिकाउने गर्छन् । त्यसकारण गतिशील समयसँगै चलेर विद्यार्थीले के र कस्तो माध्यमबाट पढ्न र सिक्न चाहन्छ पत्ता लगाउनुपर्छ‚’ उनले थपे । उनीहरूको सिकाइको भोकलाई सम्बोधन गर्न सकेमा शैक्षिक संस्था चलाउन गाह्रो नहुने भन्दै उनले सबैभन्दा ठूलो चुनौती नै विद्यार्थीमा गौण रूपमा रहेका प्रतिभा, क्षमता र त्यसलाई बाहिर ल्याउनका लागि उनीहरूले रोजेको माध्यम पत्ता लगाउनु भएको बताए ।

अहिले राजधानी मोडेल कलेजबाट डिग्री हासिल गरेका र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरू प्रतिष्ठित कर्पोरेट कार्यालयमा काम गरिरहेको क्याम्पसले जानकारी दिएको छ । यो कलेजका बीएचएमका विद्यार्थी केएफसीको चेनसँग पनि काम गरिरहेको क्याम्पसले जनाएको छ । आफ्नै कलेजबाट उच्च शिक्षा लिएका र अब्बल विद्यार्थीले जोडिएर काम गर्ने इच्छा राखेमा उनीहरू कलेजको प्राथमिकतामा उनीहरू नै पर्ने प्रिन्सिपल पन्तले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *