दास हत्या प्रकरण : १० दिनपछि परिवारले शव बुझे, गाउँपालिकासँग ६ बुँदे सहमति

धनगढी । जङ्गलमा बीभत्स हत्या गरिएको अवस्थामा फेला परेका कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव परिवारले १० दिनपछि सोमबार बुझेका छन् । २५ वर्षीय अर्जुनको शव स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर बीभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो । शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको थियो ।

हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै मृतकका आफन्तले अस्पतालबाट शव उठाउन मानेका थिएनन् । जानकी गाउँपालिकाले सर्वपक्षीय छलफल गर्दै माग सम्बोधनका लागि ६ बुँदे लिखित सहमति गरेपछि मृतकका परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।

यो पनि : कैलालीमा युवकको बीभत्स हत्या : घटनासँग सम्बन्धित अडिओ बाहिरियो

गाउँपालिका कार्यालयले पीडित परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने, मृतककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने, परिवारको एक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन पहल गर्ने सहमति भएको छ ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा र दासको नामबाट अमरावती सामुदायिक वनको नामाकरण गर्नुपर्ने माग पनि राखेका थिए । तर उक्त माग गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भन्दै यी दुई बुँदामा छलफल नभएको गाउँपालिकाले जनाएको छ ।

यही पुस ३ गते रुखमा बाँधेर घाँटी रेटेर टाउको अलग गरिएको अवस्थामा दासको शव अमरावती सामुदायिक वनमा फेला परेको थियो । जङ्गलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यता जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्नहरूको पहिचान भइसकेको र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *