कैलालीमा युवकको बीभत्स हत्या : घटनासँग सम्बन्धित अडिओ बाहिरियो

धनगढी । कैलालीमा एक युवकको बीभत्स हत्या भएको घटनासँग सम्बन्धित अडिओ बाहिरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर-९ का २५ वर्षीय अरुण दासको सोही ठाउँको अमरावती सामुदायिक वनमा घाँटी रेटेर बीभत्स हत्या भएको विषयमा भएको कुराकानी युट्युबबाट सार्वजनिक भएको हो ।

सुदूरपश्चिम टिभी नामक युट्युब च्यानलबाट अपलाेड भएको अडिओमा सो घटनामा संलग्न व्यक्ति र अर्का एक व्यक्तिबीच घटनाका बारेमा कुराकानी भएको छ । घटना भएपछि कुराकानी भएको छ । अडिओमा बोल्ने व्यक्तिले आफ्नो नाम मनोज भनेर भनेका छन् । उनले आफूसहितका साथीहरू भारतको ब्यङलोर जानका लागि हिँडिसकेको र रुपडिया पुगिसकेको भनेका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका बेला अडिओ बाहिरिएको हाे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले परिवारलाई अडिओ पठाउने व्यक्तिले नै अरूलाई पनि दिएको हुन सक्ने बताए । ‘हामीलाई मृतकको परिवारले अडिओ उपलब्ध गराएको हो,’ उनले भने, ‘जसले परिवारलाई अडिओ दियो उसैले अरूलाई पनि दिएको हुनसक्छ ।’

अमरावती वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार बेलुका युवकको शव फेला परेको थियाे । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए । उनले अहिले घटनास्थलमा शव उठाउने लगायतको प्रक्रिया भइरहेको बताए ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *