कैलाली युवक हत्या प्रकरण : तीन दिनदेखि शव उठेन, स्थानीय आन्दोलित

धनगढी । कैलालीको जानकी गाउँपालिकाको अमरावती सामुदायिक वनमा बीभत्स हत्या गरिएका अरुण दासको शव तीन दिनसम्म उठ्न सकेको छैन । मृतकका आफन्तले हत्यारालाई कारबाही गर्नुपर्ने लगायतका माग सम्बोधन नभएसम्म शव उठ्न नदिने अडान लिएपछि शव तीन दिनदेखि उठ्न नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेका कारण शव उठ्न नसकेको बताए । उनले शव उठाउन स्थानीयलाई मनाउने प्रयास भइरहेको बताए । ‘शवको पोस्टमार्टम गर्न र थप अनुसन्धान अगाडि बढाउनु पर्छ,’ उनले भने, ‘यसमा स्थानीयले सहयोग गर्नुपर्छ । बरू पछि अस्पतालबाट शव उठाउँदैन भन्न पाइयो ।’

स्थानीय मृतक दासको न्यायका न्यायका लागि भन्दै संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेका छन् । उनीहरूले विभिन्न संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । दासका हत्याराहरू कानुनी कठघरामा उभ्याउनका लागि दबाब दिन भन्दै ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएर विभिन्न ४ बुँदे माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

अपराधीलाई कानुनी कठघरामा ल्याई आजीवन कारावास हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनुपर्ने, पीडित परिवारलाई सरकारी रोजगारीको व्यवस्था हुनुपर्ने, पीडितको बालबालिकालाई उचित शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखिएको छ ।

माग सम्बोधन गर्ने आश्वासन नआएसम्म घटनास्थलबाट शवलाई उठाउन नदिने पीडित परिवारले अडान कायम राखेका छन्  । आज (सोमबार) अपराधीका नाममा किटानी जाहेरी दिने, कैलालीको डुडेझारी अन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने र कानूनी वार्ता गर्नेलगायतका संघर्षका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए ।

हत्या हामीले गरेका हौँ भन्ने अडियो छ्यापछ्याप्ती सार्वजनिक भइसक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेको छ ।

गएको शनिबार जानकी नगरपालिकाको अमरावती सामुदायिक वनमा २५ वर्षीय अरुण दासको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । शव अहिलेसम्म घटनास्थलमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *