अपराजित संकटा शीर्ष तीनमा

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३-० ले पराजित गर्दै संकटा लिगको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रङ्गशालामा भएको खेलको १३ औँ मिनेटमा जोर्डन अबानाको पासालाई उत्तम राईले हेड गोल गर्दै टीमका लागि पहिलो गोल गरे । त्यसपछि पनि निरन्तर दबाब राख्दै संकटाले २८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । फोडे फोफानाको क्रसमा उत्तम राईले नै अर्को गोल गर्दै टीमलाई २-० को अग्रता दिलाउन सफल भए ।

३८औँ मिनेटमा जय गुरुङको क्रसमा लक्ष्मण रुचालले ब्रिगेड ब्वाइजका गोलरक्षक पूर्ण लिम्बु विट भएर खाली भएको पोस्टमा गोल गर्दै खेल ३–० को अवस्थामा पुर्‍याए ।

संकटाले पहिलो हाफमा गरेको तीन गोल नै खेल जित्नका लागि पर्याप्त भयो । जितसँगै संकटाले ६ खेलमा ३ जित र ३ बराबरीका साथ १२ अंक बनाएको छ । ब्रिगेडको भने यो तेस्रो हार हो । ५ अंक रहेको ब्रिगेड पराजयसँगै ११ औँ स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *