माधुरीको सपना : ‘मधेसी महिलाको आवाज बन्छु’

काठमाडौँ । मधेसी समुदायकी त्यो पनि बुहारी, सौन्दर्य प्रतियोगितामा भाग लिन धेरै असजिलो हुन्छ भन्ने आम बुझाई हुन्छ । तर माधुरी कर्णको कथा फरक छ । उनले मिसेस् नेपाल वर्ल्डमा सहभागी हुने सोचिन् । उनलाई उनको परिवारले साथ दियो ।

श्रीमानको परिवारको पनि साथ थियो ? भन्ने प्रश्नमा हँसिलो अनुहार पार्दै उनी भन्छिन्, ‘हजुर छ नि । त्यसैले त आज म यहाँ छु । मेरो र श्रीमान् दुवै परिवारको बराबर साथ छ मलाइ ।’

वाई वाई मिस नेपाल वर्ल्ड २०२१को ग्राण्ड फिनाले यही पुस १७ गते छ । यसको लागि उनी हरेक दिन आफूलाई फिनालेको लागि अब्बल बनाउने क्रियाकलापमा सक्रिय छिन् । प्रतियोगी नम्बर ७ माधुरी जनकपुरमा जन्मिएकी हुन् । वीरगन्जमा रहेर आफ्नो जीवन अगाडि बढाई रहेकी उनले आफ्नो सहभागिता समग्र मधेसी महिलाको प्रतिनिधित्व रहेको बताउँदै आएकी छन् ।

तराईका महिलाहरूमाथि विभेद हुँदै आएको छ । दाइजो प्रथा त ठूलो विषय भयो । यो बाहेक पनि हरेक दिनजसो अधिकांश परिवारमा महिलाले विभेद खेपिरहनु परेको छ । सामाजिक र पारिवारिक बन्देजका कारण महिलाहरू आवाज विहीन जस्तै छन् । यस्तोमा उनीहरूको आवाज बन्नकै लागि आफ्नो जीत आवश्यक रहेको माधुरी भन्छिन् । सौन्दर्य प्रतियोगिताबाट के नै होला र भन्ने प्रश्न समय समयमा सुन्ने गरेको बताउँदै उनले मानिस कुन क्षेत्रमा छ भन्दा पनि उसको आवाज कति मानिस माझ पुग्छ भन्ने विषय महत्त्वपूर्ण रहने बताइन् ।

उनले उपाधि प्राप्त गर्नु भनेको उनको मात्रै जित नभएर आम नेपाली महिलासँगै तराईका महिलाको जितको रूप हुने बताउँदै उनले भोट गरेर सहयोग गर्न आग्रह गरेकी छन् । एउटा स्थानमा पुगेपछि आवाज बुलन्द गर्ने धेरै माध्यम खुल्ने र त्यो आवाजलाई पछाडि पारिएका मधेसी महिलाको हकहितको लागि उनले प्रयोग गर्ने बताएकी छन् । एक प्रतिष्ठित कम्पनीमा व्यवसाय विकास व्यवस्थापकको रूपमा कार्यरत उनले सौन्दर्य प्रतियोगितामा भाग लिनुको कारण पनि यही नै हो ।

उनको विवाह भएको २ वर्ष भयो । तराईकी महिला हुन् तर श्रीमानको साथ कै कारण उनी घर बाहिर निस्किएर काम गर्दै छिन् । मधेसी समुदायमा सहजै स्वीकार्य नभएको सौन्दर्य प्रतियोगितामा उनको यो दरिलो सहभागिताको पछाडि पनि उनका श्रीमानको साथ छ । कति महिला शैक्षिक योग्यता हासिल गरेर, व्यावसायिक दक्षता हुँदा हुँदै पनि विवाह पश्चात् घरमै बस्न बाध्य छन् । यस्तोमा माधुरीले भारतमा व्यवस्थापन विषयमा गरेको स्नातकोत्तरको अध्ययन र केही गर्छु भन्ने चाहनाले आफ्नो सपना पछ्याउँदै आएकी छन् ।

प्रतियोगितामा पनि विभेद हुन्छ की ? भन्ने प्रश्नमा उनी त्यस्तो केही विभेद पूर्ण व्यवहार नभएको बताउँछिन् ।  ‘कलाकारहरूले विभेद हुनेगर्छ भन्नु भएको सुनेको छु । तर मैले यो समूहमा कोहीबाट पनि तराइको भएकै कारण फरक व्यवहार भोग्नु परेको छैन,’ उनी भन्छिन् ।

रिबन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको यो पटकको मिस नेपाल वर्ल्डले क्यान्सर रोगको विषयमा जनचेतना फैलाउने मुख्य उद्देश्य राखेको छ । एक महिने प्रशिक्षणपछि पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा फिनालेमा पुगेका २४ महिला मध्य माधुरी एक हुन् । यो वर्ष मिसेस् वर्ल्डमा नेपालको पहिलो सहभागिता रहनेछ । मिसेस् इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया

2 thoughts on “माधुरीको सपना : ‘मधेसी महिलाको आवाज बन्छु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *