अतिरिक्त समयमा पिएसजीले टार्‍यो लोरियन्टसँगको हार

काठमाडौँ । रामोस आफ्नो दोस्रो खेलमानै रातो कार्ड पाएर मैदान छाड्न बाध्य भएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजी सिजनको पाँचौँ बराबरीको सिकार भएको छ । बुधबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेको लोरियन्टसँगपिएसजीले अतिरिक्त समयमा हार टार्दै खेल १-१ गोलको बराबरी गर्दै एक अङ्क हासिल गर्‍यो।

बराबरीपछि पनि पिएसजीले आफ्नो उपाधि होडमा एकल अग्रता भने कायम राखेको छ। १९ खेलमा पिएसजी ५ औँ बराबरी खेल्दै ४६ अङ्कका साथ शीर्ष स्थानमा छ। उसले दोस्रो स्थानको नाइससँग लिगमा १३ अङ्कको स्पष्ट अग्रता कायम राखेको छ।

दोस्रो स्थानको नाइसको ३३ अङ्क छ। पिएसजीका लागि माउरो इकार्डिले अतिरिक्त समयमा समयमा गोल गरे। उनले १९ सेप्टेम्बरपछि फ्रेन्च लिग वानमा पहिलो गोल गरेका थिए। उनको एक गोलमा पिएसजीको सम्भावित हार टरेको थियो। अशरफ हाकिमीको क्रसलाई इकार्डीले हेड गर्दै टिमलाई एक अङ्क निश्चित गरेका थिए।

खेल सकिन चार मिनेट बाँकी रहँदा सर्जियो रामोस भने दोहोरो पहेलो कार्डका कारण मैदानबाट बाहिरिएका थिए। उनी पिएसजीको दोस्रो खेलमा नै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका हुन्। उनी समरमा फ्री ट्रान्सफरमा रियल म्याड्रिडबाट पिएसजीमा जोडिएका थिए।

उनको यो करिअरको २७ औँ रातो कार्ड हो। उनी दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। लिग अङ्क तालिकाको १९ औँ स्थानमा रहेको लोरियन्टले खेलमा अग्रता भने पहिलो हाफ सकिन ५ मिनेट बाँकी हुँदा लिएको थियो।

उसका लागि थोमस मोनकोन्डुइट्सले ले फिको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। उक्त अग्रता निर्धारित समयसम्म जोगाए पनि रेलिगेशन जोनभन्दा माथि उक्लन चाहिने थप दुई अङ्क भने अतिरिक्त समयमा गुमाउन लोरियन्ट बाध्य भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *