प्रवासीको पीडा

दामोदरलाई साउदीबाट फर्काउन जुट्ला त २५ लाख रुपैयाँ ?

काठमाडौँ । भनाइ छ- १२ वर्षमा खोलो पनि फर्किन्छ । हो‚ यही भनाइले माया थापा र भगवती क्षेत्रीलाई निराशाका बिच थोरै भए पनि आशा जगाइरहेको छ ।

यो भनाइ यथार्थमा परिवर्तन हुन्छ भन्ने आशाले नै आशा र भगवती ७ वर्षदेखि बुटवल-काठमाडौँ-बुटवल गरिरहेका छन् । केही समयको अन्तरमा बुटवलबाट उनीहरू काठमाडौँ आउँछन् । यहाँका विभिन्न कार्यालय धाउँछन्, हारगुहार गर्छन् र फर्किन्छन् ।

मायाका दाजु र भगवतीका श्रीमान् दामोदर क्षेत्री साउदीमा नेपाल फर्किने आसमा दिन कटाइरहेका छन् । नन्द माया र भाउजू भगवतीसँगै रातदिन दौडधुपमा छन् ।

त्यो दुर्घटना‚ जसले दामोदर नेपाल फर्किन सकेनन्
दामोदर ११ वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका थिए । उनी साउदीमा छन् तर नेपाल फर्किन पाएका छैनन् । उनै दामोदर नेपाल फर्किने आशाका साथ उनका आफन्त श्रम मन्त्रालय र वैदेशिक रोजगार विभाग धाइरहेका छन् । दामोदरका दुई सन्तानमध्ये कान्छो छोरा अहिले १२ कक्षामा पढ्दैछन् । छोरीको विवाह भइसक्यो ।

दामोदर रुपन्देही बुटवलका बासिन्दा हुन् । विवाहपछि गाडी चलाउन सिकेर उनी महेन्द्रनगर-बुटवल गाडी चलाउन थाले । दामोदर र भगवतीका एक छोरी, एक छोरा जन्मिए । घर खर्च बढ्यो । छोराछोरीको पढाइलगायतका लागि थप कमाउन सकिएला कि भनेर दामोदरले साउदी जाने निष्कर्ष निकाले । भगवतीले पनि राम्रो हुन्छ भने केही वर्षका लागि उनलाई विदेश जाने अनुमति दिइन् । अहिले सम्झँदा भने ‘कस्तो दिनमा जानू भनेछु’ भनेर पछुतो लाग्ने गरेको भगवतीले मकालुखबरलाई बताइन् । ‘अहिले मान्छे मात्र आइदिए पनि कस्तो हुन्थ्यो जस्तो भएको छ’ भक्कानिँदै भगवतीले भनिन् ।

सल्लाहअनुसार उनी सन् २०११ जुलाई ५ मा गाडी चालकको काम गर्नेगरी ईमेज म्यानपावर काठमाडौँबाट साउदी अरब गए । कम्पनीले उनको तलब ६ सय साउदी रियाल तोकेको थियो । केही समयपछि पाकिस्तानी नागरिकको सल्लाहमा दामोदरले कम्पनी परिवर्तन गरे, जहाँ पारिश्रमिक केही बढी थियो । आफ्नै निर्णयले कम्पनी परिवर्तन गरेकै कारण दामोदरको साउदी बसाइ गैरकानुनी हुन पुग्यो । त्यसकै केही समयपछि अर्थात् सन् २०१४ को डिसेम्बरमा नेपाल फर्किने गरी कागजपत्र मिलाएर तयारी गर्दै थिए उनी । तर‚ त्यसको दुई महिनाअघि अर्थात् सन् २०१४ को अक्टोबर २२ मा एउटा अप्रिय घटना घट्यो ।

दामोदरले चलाइरहेको कारले अर्को कारलाई ठक्कर दियो । कारमा रहेका एक पाकिस्तानी नागरिकको घटनास्थलमै मृत्यु भयो । दामोदर पक्राउ परे । त्यस घटनामा मृत्यु हुने पक्षबाट कसैले पनि उजुरबाजुर नगरेको साउदी अरबको जेनरल कोर्टले जनाएको भगवती बताउँछिन् ।

घटना नियोजित नभई एक दुर्घटना भएको पुष्टि भयो । नियमअनुसार उनले तीन महिना जेल सजाय काटे । जेलबाट निस्कनेबित्तिकै दामोदरलाई पहिलेकै कम्पनीले गाडी चलाउन भन्यो । दामोदरले नेपाल जान चाहेको बताए । कम्पनीले अब केस सक्किएकाले आत्तिन नपर्ने र नेपाल जान पाउने भनेर दामोदरलाई आश्वासन दिइरहेको थियो । तर‚ गाडी दुर्घटना भएको कम्पनीले दामोदरलाई दुर्घटनामा बिग्रिएको गाडीको क्षतिपूर्ति रकम स्वरूप ७९ हजार साउदी रियाल अर्थात् करिब २५ लाख नेपाली रुपैयाँ माग गर्‍याे । दामोदरले रकम तिर्न नसकेपछि उनलाई दुर्घटना भएको दुई वर्षपछि जेल हालियो । दुर्घटनामा ज्यान गुमाउनेको तर्फबाट उजुरी नपरे पनि उनलाई रोजगारी दिएको कम्पनीले नै जेल हाल्यो ।

सन् २०१७ देखि साउदीको जुवेल जेलमा कैदी जीवन बिताएका उनी सन् २०२१ मार्च २४ मा छुटे । तर‚ त्यसपछि पनि नेपाल फर्किन भने पाएनन् । साउदीको कानुनअनुसार ७९ हजार साउदी रियाल नतिरेसम्म उनी कानुनी रूपमा नेपाल फर्किन पाउँदैनन् । साउदी अरबकै जुवेल भन्ने ठाउँमा दामोदर अहिले पाल्पाका साथीको संरक्षणमा बसिरहेका छन् ।

दामोदरले सामाजिक सञ्जाल ‘ईमो’ र ‘ह्वाट्स एप’ पनि चलाउँछन् । सोही मार्फत सम्पर्क गरेर दामोदरको अवस्थाबारे उनैलाई सोध्न पनि सकिन्छ । भगवतीले सुनाइन्, ‘उहाँलाई नेपाल फर्काउँछु भनेर लाग्दालाग्दै धेरै नै ऋण लागिसक्यो । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय सबैले दामोदर फर्किने र चिन्ता लिनुनपर्ने बताए पनि अहिलेसम्म नफर्किँदा आफूभित्रको आत्मबल नै अब सक्किसकेको भगवती बताउँछिन् । ‘मलाई आशै लाग्न छाडिसक्यो । विवाह भइसकेकी बहिनीलाई कति दुःख दिनु ?’ उनले आफैँसँग काठमाडौँ आएकी दामोदरकी बहिनी मायातर्फ हेर्दै भनिन् ।

सरकारले सहयोग गरिदेओस्
कमजोर आर्थिक अवस्था भएकाले अब राज्यले पहल गरेमात्र दामोदर फर्किन सम्भव भएको भगवतीको भनाइ छ । आफू सहयोग गरिदिन अनुरोध गर्दै पटक पटक मन्त्रालय र सरकारी निकायमा पुग्दा सधैँजसो निराश बनेर फर्कनुपरेको अनुभव उनले सुनाइन् ।

‘मलाई वैदेशिक रोजगार विभागमा त्यत्रो रकमले त ३, ४ जना नेपालीको शव विदेशबाट ल्याउन सकिने भएकाले एकै जनाका लागि त्यत्रो खर्च गर्न नसक्ने भनेर पठाए । हामीले हामीलाई २५ लाख देऊ भनेको होइन । कूटनीतिक पहल गरेर मेरा श्रीमान् फर्काउन सहयोग गर्दिनुहोस् भनेको हो । उहाँहरूले चाहनुभयो भने यो सम्भव पनि छ‚’ उनले भनिन् ।

भगवती र मायाले विभिन्न कारणले विदेशको जेलमा परेका वा मृत्युदण्ड पाएका नेपालीलाई ब्लड मनी संकलन गरेर नेपाल फर्काइएका समाचारहरू पनि पढेका छन् । उनीहरूलाई बेला बेला यस्तो पनि लाग्छ- कतै हाम्रा लागि पनि कसैले यस्तो सहयोग रकम संकलनका लागि कुनै पहल गरिदिन सक्छ कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *