सन्तान गुमाउनुको पीडा… (भिडिओ)

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ मा गतकार्तिकमा पहिरो जाँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेहरूमा २८ वर्षीय फुर्वा तामाङ र ९ वर्षीय युगेश तामाङ थिए ।

पहिरो गएको तीन महिनापछि त्यहाँ पुग्दा युगेशकी आमा फुलमाया तामाङ छिमेकीको घरमा भेटिइन् । उनको पछिपछि लागेर उनको घर पुगेपछि उनले घटनाको वृत्तान्त सुनाइन् ।

‘कार्तिक २ गते बेलुका सबैजना घरमै बसिरहेका थियौँ, अचनाक छिमेकबाट होहल्ला आयो । राम्ररी ठम्याउँदा हार गुहार गरिरहेको थाहा भयो । हामी उद्धारका लागि जाँदै गर्दा हामीलाई पछ्याउँदै पछ्याउँदै छोरा त्यहाँ आइपुगेछ‚’ उनले भनिन्‚ ‘बीच बाटोमा पुग्दा नपुग्दै हामी सबैलाई पहिरोले बगायो । हामी सबै जना बेहोस भएछौँ, होस् आउँदा छोरा थिएन । त्यो दिन बेलुका खोज्दा पनि कतै भेटिएन ।’

आमाको मन न हो‚ कतै भेटिइहाल्छ कि भन्ने आशा थियो । भोलिपल्ट सबै जना मिलेर खोज्दा चार फीटमुनि पुरिएको अवस्थामा भेटिएको भन्दै उनले अँध्यारो मुख लगाइन् ।

‘छोरोको शव पोस्टमार्टमका लागि फिदिम लानुपर्छ भनियो । भन्दिनेलाई त सजिलै थियो तर हामीसँग पैसा थिएन । वडा अध्यक्षलाई फोन गर्दा पनि आउनुभएन‚’ उनले भनिन्‚ ‘हामीले यतै आफ्नो संस्कारअनुसार सद्गति गर्ने तयारी गर्‍यौँ ।’

फुलमायाले यति भनिसक्दै गर्दा त्यहाँ कालबहादुर तामाङ पनि आइपुगे, उनका छोरा फुर्वाको पनि त्यहि पहिरोमा परी मृत्यु भएको थियो ।

कालबहादुरको पनि व्यथा लगभग उस्तै छ । उनी पनि छिमेकीकोमा उद्धार गर्न जाने क्रममा पहिरोमा परेका थिए ।

‘हामी जाँदै गर्दा पहिरोमा खसेको ढुंगाले मेरो टाउकोमा जोडले लाग्यो तर केले लाग्यो भन्ने थाहै पाइनँ । बेहोस भएछु, होसमा आउँदा त सबै गाउँलेहरू छोरालाई खोज्दै थिए । केहीबेरमा छोराको एउटा हातमात्र देखियो, सबै मिलेर निकाल्यौँ‚’ उनले सुर्तीको धुवाँ उडाउँदै सुनाए‚ ‘हिलोले पोतिएको उसको शरीर त मुर्ति हो कि के हो जस्तो भएको थियो । धेरैले फर्किन्छ, धड्कन चलिरहेको छ भने तर मैले त त्यै बेला माया मारिसकेको थिएँ । के फर्किन्थ्यो र फर्किएन ।’

‘म र छोरा बस्थ्यौँ, मेरो श्रीमती पहिले नै बितिसकेको हो । अब त झन् छोरा पनि बित्यो, एक्लो भइयो‚’ विरक्त पोख्छन् कालबहादुर ।

पहिरो गएको दुई दिनपछि प्रधान मन्त्री हेलिकप्टरमा आएर आकाशबाटै हेरेर फर्किएको भनी गुनासो पोख्दै कालबहादुरले भने‚ ‘हाम्रो यो अवस्था देख्नुभयो कि भएन ! त्यतिबेला नै मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराउने भन्ने सुनिएको हो । तर‚ ३ महिना बितिसक्यो; अहिलेसम्म गाउँपालिकाको २५ हजार बाहेक अरु केही पनि राहत पाएका छैनौँ‚’

पाँच पटकसम्म राहतका लागि फिदिम धाउँदासमेत राहत नपाएको उनीहरू दुवैले गुनासो गरे । कहिले कागज नमिलेको, कहिले कर्मचारीले नै कागजपत्र हराइदिएको जस्ता अनुभव संगालेका उनीहरूले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

सरकारले घोषणा गरेको २ लाख रुपैयाँ पाउन पाँच पटक सदरमुकाम फिदिम‚ वडा कार्यालय र गाउँपालिकाको कार्यालय जाँदा १० हजारभन्दा बढी खर्च भएको फुलमाया बताउँछिन् । ‘मंसिर २ गते नै अबको पाँच दिनमा सबै पैसा आउँछ भनेका थिए तर मंसिरको अन्तिमतिर फोन त आयो तर कागजपत्र छैन भनेर’ उनले भनिन् ।

त्यसपछि पुनः कागजात मिलाएर आएकाले अब भने राहत रकम लिन आउनु भन्ने नै फोन आउँछ कि भन्ने आशा उनीहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *