मिस मङ्गोल बनिन् एप्रिला

काठमाडौँ । ‘मिस मङ्गोल नेपाल-२०२१’को उपाधि काठमाडौँकी २१ बर्सिया एप्रिला लामाले जितेकी छन् । १२औँ संस्करणमा उनले उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टूर प्याकेज हात पारेकी छन् । त्यस्तै ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन फर्स्ट रनर अप र ललितपुरकी २१ वर्षीया विभीषिका श्रेष्ठ सेकेन्ड रनर अप भएका छन् । प्रिया र विभीषिकाले पनि चार दिनको बैंकक टूर प्याकेज प्राप्त गरेका छन् ।
रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौँकी प्रदिका महर्जन मिस मङ्गोल बागमती, रौतहटकी चन्द्रकुमारी सारु मगर मिस मङ्गोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मङ्गोल प्रदेश १ घोषित भए । त्यसैगरी खोटाङकी सान्त्वना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बेसडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक तथा मिस लिडरसिप घोषित भए ।
मिस मङ्गोल प्रतियोगिताको निर्णायकमा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ सङ्गीतकार शान्तिराम राई, दीपक रञ्जित, अजेलिया रञ्जितकार, मिस मङ्गोल नेपाल २०१४ डा. एनिस्ता गुरुङ, मिस मङ्गोल नेपाल २०१८ जाङमु शेर्पा र म्युजिक भिडिओ निर्देशक विज्ञान राई रहेका थिए ।








