भिजिट भिसामा कामका लागि विदेश जाँदा फर्कनै नपाइने खतरा

काठमाडौँ । वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसा: समस्या र समाधान विषयक छलफल कार्यक्रममा सरोकारवालाले सो आग्रह गरेका हुन् ।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढेको र विभिन्न देशमा पुगेर युवा अलपत्र पर्ने गरेकाले भिजिट भिसामा रोजगारीका लागि विदेश नजान आग्रह गरेका हुन् । प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए । भिजिट भिसामा गएर काम गर्नु गैरकानूनी भएको बताउँदै यसले विदेशमा अनेक समस्या झेल्नुपर्ने र कामदारले प्राप्त गर्नुपर्ने विभिन्न सेवा सुविधाबाट समेत वञ्चित हुने बताए ।

उनले भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने र आफन्तसँग ऋण गरेर नेपाल फर्किनुपर्ने बाध्यता हुनसक्ने बताए । भिजिट भिसामा बाहिर जाँदा नेपाल फर्काउनै नसक्ने अवस्था समेत हुने कार्कीको भनाई छ ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले नेपालमा चेतनाको कमीले भिजिट भिसामा रोजगारीको लागि बिदेसिने क्रम बढेको बताए । उनकाअनुसार भिजिट भिसामा जाने भनेको घुम्न जाने हो त्यहाँ गएर काम गर्नु गैर कानुनी हुन्छ भन्ने बुझ्न आवश्यक छ । यसमा भिजिट भिसामा जाने कामदार मात्र नभएर सरकार बढी दोषी हुने उनको जिकिर छ ।

उनले सरकारकै कारण अहिले भिजिट भिसामा बाहिरिने कामदारको सङ्ख्या बढेको पनि दाबी गरे । नेपालबाट वैदेशिक रोजगारीमा जाने प्रक्रिया लामो रहेको तर कामदार छोटो समयमै वैदेशिक रोजगारीमा जान चाहने भएकाले भिजिट भिसामा जाने गरेको पाइएको उनले बताए ।

श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिले मात्र नभएर विगत देखि नै रहेको बताए । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सरोकारवालाहरू जानकार भए पनि कडाइ गर्न नसकिएको उनको भनाइ छ । ‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार इमानदार हुनुपर्ने र समस्या समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको उनले बताए । नेपालले यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न चासो नदेखाएको उनले गुनासो गरे ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा भएर पनि जानेको सङ्ख्या धेरै रहेको बताए । भिजिट भिसामा जाँदा व्यवसायी पनि मारमा पर्ने र श्रमिकले पनि समस्यामा पर्दा कुनै सरकारले प्रदान गर्ने सेवा सुविधा नपाउने उनले जिकिर गरे । ‘श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अङ्गभङ्ग भएमा ७ लाख पाउने र बिरामी भए स्वास्थ्य खर्चबापत राहत पाउने व्यवस्था छ तर भिजिट भिसामा गएर यस्तो दुर्घटनामा परे यी सुविधा पाइँदैन ।’ ढकालले भने । त्यस्तै भिजिट भिसामा पठाई मोटो रकम उठाउने व्यापार बन्द गर्नुपर्ने ढकालको भनाइ छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिसामा जाँदै नजान आग्रह गरे । उनले भने, ‘अहिले नेपालीहरूको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरूको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरूले दुःख पाउनु भएको छ ।’ सरकारले म्यानपावर कम्पनीका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा कामदारलाई गैर आवासीय नेपालीले नै लैजाने गरेको आरोप लगाए । ‘जुन म्यानपावरले भिजिट भिसामा पठाउँछ त्यो दलाल हो । आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङ हो । र अर्को भारतको बाटोमार्फत पनि युवा भिजिट भिसामा जाने गरेका छन्,’ तामाङले भने ।

लामो यात्रा ९० दिन र छोटो ३० दिनका लागि जाने गरेको र सरकारको दलाली, विदेशमा गएका व्यक्तिहरूमार्फत भिजिट भिसा मौलाउँदै गएको तामाङले बताए । भिजिट भिसामा दक्ष र शिक्षित युवाहरू नै गइरहेको समेत कार्यवाहक अध्यक्ष तामाङले उल्लेख गरे । ‘एउटा म्यानपावरको व्यक्तिले सेटिङ गरेर पठायो। यो निजी क्षेत्रको दलाली हो । तर भिजिट भिसामा जान दिने त अध्यागमन होइन ? त्यसले सरकारको जागिर खाँदा कसम खाएको थियो होला नि त । किन जान दिइयो । किन पत्ता लगाइएन ?’ तामाङले प्रश्न गरे ।

एनजिओ र आईएनजीओहरुले पनि पाँचतारे होटलमा कार्यक्रम गर्ने गरेको तर समस्या सुल्झाउन कुनै पहल नगरेको उनको दाबी छ । सबै ट्राभल तथा म्यानपावर व्यवसायीहरूलाई सरकारले कडाइ गर्न सके भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न मद्दत पुग्ने उनले बताए ।

ट्राभल एजेन्सी र कन्सल्टेन्सीले भिजिट भिसामा युवा ओसारिरहेको भए पनि यसको सबै दोष म्यानपावर कम्पनी र व्यवसायीमाथि थुपारिएकोमा उनले आपत्ति पनि जनाए । ‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ,’ उनले भने,‘सरकारको कर्मचारी संलग्न हुने हो भने यो समस्या सधैँ रहिरहन्छ ।’ पछिल्लो समय युरोपेली देशमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको उनले बताए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मनि राम भट्टले भिजिट भिसामार्फत वैदेशिक रोजगारमा जाँदा केहीले राम्रो काम पाए पनि बेचबिखनमा पर्ने जोखिम उच्च रहने बताए । समस्यामा परेकाहरू पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भट्टले उल्लेख गरे । ‘सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस् । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिसहरू बेचबिखनमा परेका छन्,’ उनले भने । भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाइ गर्नुपर्ने उनले बताए । म्यानपावरमार्फत भन्दा पनि कोही व्यक्ति मार्फत जानेहरू धेरै समस्यामा पर्ने गरेको तथ्याङ्क रहेको भट्टले बताए ।

‘वैदेशिक रोजगारमा जानेले शुल्क बुझाउँदा प्रमाण लिनुपर्छ । कुन उद्देश्यका लागि पैसा दिएको हो त्यो खुलाउनुस् त्यति भयो भने पछि समस्या पर्दा त्यो पैसा फिर्ता पाउन सजिलो हुन्छ ।’ अनुसन्धान अधिकृत भट्टले भने । आर्थिक वर्ष २०७७–०७८ मा पिआर दिलाउँछु भनेर पठाइएका १३ जना मानिसहरूले ब्युरोमा उजुरी गरेका उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *