चर्चित गीतकी गुमनाम गायिका प्रविशा

काठमाडौँ । गायन रियालिटी शो ‘भोइस अफ नेपाल’ले राम्रो चर्चा कमाइरहेको थियो । ‘भोइस अफ नेपाल’को तेस्रो सिजन चल्दै थियो । टिमले बालबालिकाका लागि समेत यो शो नेपाल भित्र्याउने तयारी गर्दै थियो । ‘द भोइस किड्स नेपाल’का कोचहरू चिनाउन केही फरक गर्नु पनि थियो । यही क्रममा ग्र्यान्ड फिनालेको प्रस्तुति चल्दैगर्दा एक युवती वान पिस, पोनी टेल कपाल र स्पोर्ट्स सूज लगाएर हातमा माइक लिएर ‘वाचा कसम के भनौँ…’ भन्दै स्टेज चढिन् ।

दर्शक दीर्घामा कानेखुसी चल्न थाल्छ, ‘ए यिनै पो हुन् प्रविशा ? यिनले गाएको गीत हो यो ?’ गीत सकियो । होस्ट सुशील नेपालले कोच प्रमोद खरेललाई समेत स्टेजमा बोलाए र ‘द भोइस किड्स नेपाल’को पहिलो सिजनमा यी दुई कोच बन्ने जानकारी दिए । प्रविशाको उपस्थिति र प्रस्तुति यतिकै लागि थियो ।

रातिको कार्यक्रम थियो । उनले गीत गाइन् र घर फर्किइन् । बिहान उठ्दा उनलाई थाहा भयो, उनको चर्चा त एकै रातमा चुलिएको रहेछ । करिब डेढ दशकको साङ्गीतिक करियरमा उनलाई अचानक यति ठुलो माहोलले एक साथ चिनेको थियो । तत्क्षण खुसी र आश्चर्य मिसिएको अनुभव भएको उनी बताउँछिन् । उनी केही आँत्तिएकी पनि थिइन् ।

१२ कक्षाको परीक्षा सकेर बाँकी रहेको समयमा उनी झापामा एक रेकर्डिङ स्टुडियोमा पुगेकी थिइन् । कलाकार उमेश राउतसँगको चिनजानका कारण केही जिंगलमा आवाज दिने अवसर पाइन् । पढाइका लागि उनी जन्मथलो झापा छाडेर पुनः काठमाडौँ आइन् । उमेश पनि झापाबाट काठमाडौँ आएका थिए । उनलाई प्रविशाको स्वरले आकर्षित गरिसकेको थियो । उनकै पहलमा प्रविशाले पहिलो पटक गायक प्रमोद खरेललाई भेटिन् । चलचित्र बिदाइका लागि नयाँ आवाजको खोजी हुँदै थियो । यो भेट उनको लागि फलदायी भयो । उक्त चलचित्रमा उनले प्रमोदसँगै गीत गाउन पाइन् ।

तर‚ यो गीत उनको पहिलो सार्वजनिक भएको गीत भने बन्न सकेन । ‘कसलाई दिऊँ यो जोवान’ चलचित्रको गीत ‘मायामा…’ उनको जीवनमै पहिलो पटक सार्वजनिक भएको गीत बन्न पुग्यो । र पहिलो गीत नै चर्चित भयो ।

गीत यति चर्चित बन्यो कि उनलाई चलचित्र जगत र साङ्गीतिक क्षेत्रका अधिकांश व्यक्तिले नियाल्न थाले । तर‚ उनी दर्शकमाझ भने परिचित थिइनन् । यो उनको व्यक्तिगत निर्णय पनि थियो । उनलाई ‘अहिले नै देखिनु हुँदैन’ भन्ने लागेको थियो । त्यसै पनि प्ले-ब्याक गायन गर्ने व्यक्तिहरूलाई चलचित्रका अभिनेता अभिनेत्रीले ढाक्ने गरेको आरोप लाग्ने गरेको छ । त्यहीमाथि प्रविशा स्वयम् पनि दर्शक माझ जान तयार थिइनन् ।

गायनमा लाग्ने पनि उनको कुनै पूर्वयोजना नभएको उनी बताउँछिन् । लजालु स्वभावकी उनले स्कुले जीवनमा एक पटक पनि गीत गाइनन् । उनी निकट साथीहरूबाहेक उनको गायन क्षमताको विषयमा अरू कसैलाई थाहा थिएन । एक परामर्शदाता कार्यालयमा काम गरिरहेकी उनको अमेरिका पढ्न जाने योजना थियो । तर‚ भिसा लागेन । यही क्रममा नै उनको प्रमोद खरेलसँग भेट भएको थियो । तर‚ यो भेटपछि भने उनले सङ्गीतलाई निरन्तरता दिइ नै रहिन् ।

उनका गीत चालि नै रहे तर उनी गुमनामजस्तै नै थिइन् । उनले रेखा थापाले बनाएको चलचित्र हिफाजतको गीत ‘स्टाइल छ आफ्नै…’ मा स्वर दिइन् । यो स्वर रेखालाई सुहाएको चर्चा भयो । मञ्जरी चलचित्रको ‘मायाले बाँध्यो यसरी’लाई समेत दर्शकले मन पराए । तर‚ गायिकाको बारे भने खासै चर्चा भएन ।

चलचित्र रोजको गीत ‘फूल हैन’ सार्वजनिक भएसँगै भने गायिकाको खोजी हुन थाल्यो । त्यसपछि उनी पनि सार्वजनिक रूपमा देखिइन्, सञ्चार माध्यममा अलि बढी उपस्थित हुन थालिन् । उनले गाएको ‘ए मेरो हजुर ३’ चलचित्रको गीत ‘जिन्दगी नै भन्दिन’ले सुहाना थापालाई दर्शकमाझ परिचित गरायो ।

त्यस्तै प्रदर्शनका लागि तयार चलचित्र ‘प्रेम गीत ३’ को गीत ‘हर युग’ मा पनि प्रविशाको स्वर छ । यी चलचित्रमा काम गरेसँगै उनी आफूलाई दर्शकसँग केही निकट बनाउँदै थिइन् । यस्तोमा ‘द भोइस अफ नेपाल’मा उनको प्रस्तुति र ‘भोइस अफ नेपाल किड्स’को कोचको रूपमा आएसँगै उनलाई प्रत्यक्ष रूपमा चिन्ने दर्शकको सङ्ख्या ह्वात्तै बढेको छ ।

सामान्य बोलीचालीमा मोटो स्वर भएकी प्रविशा गीत गाउन थालेपछि भने आवाज धागो झैँ पातलो र सियो झैँ तिखो हुने संगीतकारहरू बताउँछन् । उनको यही स्वरको कारण पनि उनलाई धेरैले ‘प्ले ब्याक गायनकै लागि जन्मिएकी’समेत भन्ने गर्छन् ।

केही समयअघि मात्रै उनले विवाह गरेकी छन् । निर्माण सिटौलासँग मागी विवाह गरेकी उनी आगामी जीवन नेपाल या अमेरिका बस्ने भन्ने टुङ्गो नभएको बताउँदै आएकी छन् । सिटौला अमेरिकामा बस्दै आएका छन् । जहाँ बसे पनि गीत-सङ्गीतमा भने निरन्तर लागिरहने प्रविशा बताउँछिन् । उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने सपना बुनेकी उनलाई शायद विवाहपश्चात् भए पनि उता जान जुरेको रहेछ, त्यो पनि यति धेरै सफल गीत दर्शक श्रोतालाई दिएपछि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *