भुटानलाई फराकिलो अन्तरले हराउँदै फाइनल नजिक नेपाल

काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसीपमा नेपाल आफ्नो तेस्रो खेलमा भुटानविरुद्ध प्रभावशाली जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले भुटानमाथि ४-० को जित निकाल्दै आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा सम्पन्न खेलमा नेपालले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । नेपालका लागि मेनुका कुमारी आलेमगरले सविता रानामगरको पासलाई हेड गर्दै पहिलो गोल गर्दै नेपालाई अग्रता दिलाएकी थिइन् ।

नेपालका लागि दोस्रो गोल कुसुम खतिवडाको नाममा रह्यो । उनले १८औँ मिनेटमा गोलरक्षक अघि बढेको अवस्थामा आकर्षक चिप गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् ।

त्यसको ३ मिनेटपछि नै रजनी थोकरले नेपाललाई ३-० को अवस्थामा पुर्‍याइन् । उनले भुटानी खेलाडीले अपसाइड कल गर्दै उनलाई खुल्ला छोडेपछि सहज रुपमा डी-बक्सबाट गोल गरेकी थिइन् ।

दोस्रो हाफमा नेपालले थप १ गोल गरेको थियो । ७२औँ मिनेटमा कुसुम खतिवडाले गोलरक्षक बिट गर्दै कटाएको बललाई मेनुकाकुमारी आलेमगरले खाली पोस्टमा सहज गोल गरेकी थिइन् । उनको यो व्यक्तिगत दोस्रो गोल हो ।

जितसँगै नेपाल अङ्क तालिकामा बंगलादेश समान ७ अंक बनाएको छ । नेपालले तेस्रो खेलमा दोस्रो जित निकाल्दै बंगलादेश समान ७ अंक बनाएको हो । शुक्रबार नै भएको अर्को खेलमा साविक च्याम्पियन बंगलादेशले भारतलाई १-० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको थियो ।

नेपाल र बंगलादेश अहिलेसम्म शीर्ष २ मा रहेका छन् । अन्तिम खेलमा नेपालले १९ डिसेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेलमा नेपालले भारतलाई बराबरीमा रोकेमात्रै पनि फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *