सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र र संकटाको बराबरी

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मच्छिन्द्र फुटबल क्लब र संकटा क्लबले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा प्रतिस्पर्धात्मक भिडन्तमा गोलरहित बराबरी खेल्दै दुवै टीमले अपराजित यात्रा कायम राखेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुवै टीमले आक्रामक खेल खेले पनि गोल भने गर्न सकेनन् । दुई छिमेकी क्लबबीच खेल प्रतिस्पर्धात्मक बन्दा दुवैले अन्तिम समयसम्म गोलका लागि प्रयास गरेका थिए ।

खेलको पहिलो हाफमा संकटाले सुरूवातमा नै गोलको सानदामर मौका चुकायो । पहिलो मिनेटमा नै फोडे फोफनले मध्य भागबाट लगेको बल वान भर्सेस वानमा गोलरक्षक विशाल श्रेष्ठले बचाउँदा मच्छिन्द्रको संकट टरेको थियो ।

२१औँ मिनेटमा मच्छिन्द्रले गोलको राम्रो मौका पाएको थियो । विशाल राईले गरेको शक्तिशाली प्रहार अफ टार्गेट हुँदा संकटा गोल खानबाट जोगिएको थियो । पहिलो हाफको अन्ततिर मच्छिन्द्र र संकटाले केहि मुभहरू बनाए पनि गोल भने निकाल्न सकेनन् ।

दोस्रो हाफमा पनि आक्रामक बनेको खेलमा संकटाले ८२औँ मिनेटमा गोलको मौका चुकायो । फोडे फोफानाले गरेको उत्कृष्ट प्रहार दोस्रो बार भन्दा केहि ईन्च परबाट बाहिरिँदा संकटा अग्रताबाट चुकेको थियो । त्यस्तै खेलको ८८औँ मिनेटमा विशाल श्रेष्ठले शानदार हेड गरे पनि फ्रेममा राख्न नसक्दा संकटाले अर्को मौका गुमाएको थियो ।

त्यसअघि दोस्रो हाफमा नै मच्छिन्द्रले गोल गरे पनि मान्यता पाउन असफल रह्यो । ६१औँ मिनेटमा सुनिल बलको क्रसलाई मनिष डाँगीले गोल गरे पनि उक्त बललाई अफसाइड घोषित गरिएको थियो । उक्त निर्णयमा मच्छिन्द्रका खेलाडी तथा अफिसियलले चर्को असन्तुष्टि देखाएका थिए ।

बराबरीपछि पनि मच्छिन्द्र शीर्ष स्थानमा कायम रह्यो । मच्छिन्द्रले पाँच खेलबाट ११ अंक बनाउँदा संकटा भने चौथो स्थानमा उक्लिएको छ । उसको आर्मीको समान ९ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *