सातदोबाटोसँग बराबरीमा रोकियो आर्मी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लब सँग १-१ गोलको बराबरी खेलेको छ । शुक्रबार दशरथ रंगशालामा भएको पाँचौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मीले सुरुवाती अग्रता लिए पनि जोगाउन नसक्दा अङ्क बाँडेको हो ।

सुरुवाती अग्रता लिने क्रममा खेल सुरु भएको १०औँ मिनेटमा नै आर्मीका दिनेश हेम्जनले टीमका लागि पहिलो गोल गरे । टेकबहादुर बुढाथोकीको क्रसमा जारी सिजन पहिलो पटक सुरुवाती ११ मा परेका हेम्जनले आकर्षक गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

आर्मीले खेलमा अग्रता बनाए पनि लामो समय टिकाउन सकेन । ६ मिनेटपछि नै सातदोबाटोले बराबरी गोल फर्कायो । सातदोबाटोका गोलरक्षक अभिषेक बरालले गरेको लामो प्रहारलाई मार्टिन अजाइजले ‘वान टच’ प्रहार गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

त्यसपछि पनि आर्मीले निरन्तर खेलमा दबाब बनायो । २१औँ मिनेटमा टेकबहादुरले गरेको क्रस सातदोबाटोका गोलरक्षक अभिषेकले ‘वान टच’ समाउन नसक्दा पाएको रिबाउन्डलाई सन्तोषले गरेको ‘एक्रोब्याट्रिक’ प्रहार सफल हुन सकेन ।

त्यसपछि पनि खेलको पहिलो हाफमा अधिकांश समय आर्मीले सातदोबाटोलाई दबाबमा राख्दै खेल नियन्त्रणमा लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा जर्ज प्रिन्स कार्कीले अर्को एक मौका चुकाएका थिए ।

दोस्रो हाफमा आर्मीले खेलमा दबाब बढाए पनि गोल गर्न भने सकेन । दुवै टीमले सीमित अवसर पाए पनि गोल गरनय भने सकेन । ५१औँ मिनेटमा सातदोबाटोको अग्रता बनाउने मौका सुदीप गुरूङले खेर फाले । लगत्तै आर्मीका टेकबहादुर बुढाथोकीको प्रहार पनि सफल हुन सकेन । ६९औँ मिनेटमा आर्मीले अग्रताको अर्को मौका खेर फाल्यो ।
टेकबहादुर बुढाथोकीले ‘डी बक्स’मा पाएको राम्रो अवसर बाहिर फाल्दा आर्मी अग्रताबाट विमुख भयो ।
इन्जुरी समयमा आर्मीले गोलको अर्को मौका खेर फाल्यो । दुवै टीम अन्तिम समयमा निकै आक्रामक भए पनि गोल गर्न असफल भएका थए । खेलपछि आर्मीले पाँच खेलबाट ९ अङ्क बनाएर तेस्रो स्थानमा आफूलाई कायमै राख्दा सातदोबाटोले भने ८ अङ्क बनाउँदै चौथो स्थानमा उक्लिन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *