स्वास्थ्यले साथ नदिएपछि अगुएरोले लिए खेल जीवनबाट संन्यास

म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेको ६ महिनामा नै अर्जेन्टिनी स्टार सर्जियो अगुएरोले खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय अगुएरोले बार्सिलोनाबाट केवल ५ खेलमात्रै खेलेका छन् । उनी स्पेन पुगेसँगै स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।

३० अक्टोबरमा अल्भेससँग १-१ गोलको बराबरी भएको खेलका दौरान मुटुको रक्तचापमा अचानक समस्या भएपछि उनी केहि समय मैदानमा ढलेका थिए । त्यसपछि उनलाई तत्काल एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मुटुमा समस्या भएको बताइन्छ । जसले गर्दा उनी ३३ वर्षमै फुटबल करिअरबाट बिदा हुने मनस्थितिमा पुगेका हुन् ।

अगुएरोले समग्रमा ७८६ खेल खेल्दै ४२७ गोलका साथ करिअर अन्त गरेका छन् ।

मुटुको समस्याकै कारण तीन महिनादेखि मैदान बाहिर रहेका अगुएरो खेल जीवनबाट बिदा माग्दै गर्दा निकै भावुक देखिएका थिए । भावुक हुँदै उनले अझै केहि समय खेल्ने चाहना हुँदाहुँदै पनि खेलाडी जीवन छाड्नुपरेको बताए । उनले भने‚ ‘मसँग अझैपनि कन्ट्रयाक कायम छ । मैले धेरै कुरा सोचेर बार्सिलोनामा खेल्ने योजना बनाएको थिएँ । तर‚ उक्त सपना अधुरो रहन पुग्यो ।’

म्यानचेस्टर सिटीका लागि सर्वाधिक गोलकर्ताको रुपमा रहेका अगुएरो यसै सिजन बार्सिलोनामा अनुबन्ध भएका थिए । सिटीमा १० वर्ष बिताएर उनी स्पेनिस क्लबमा फ्री ट्रान्सफरमा अनुबन्ध भएका थिए ।

उनले सिटीका लागि तीन सय ९० खेल खेल्दा दुई सय ६० गोल गरेका थिए‚ जसमा उनले क्लबबाट १५ मुख्य उपाधिसमेत जितेका थिए । अब अगुएरोलाई भविष्य कस्तो रहने अन्यौल भएको छ ।

उनको उपचारमा खटिएका चिकित्सकले उनी फेरि मैदानमा फर्कन कठिन भएको बताएका छन् ।

अगुएरोको योगदान हाइलाइट्स
अगुएरो प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने चौथो खेलाडीमा पर्छन् । उनले २७५ खेलमा १८४ गोल गरे । उनीभन्दा अघि एलन शेरर (२६०), वायन रूनी (२०८) र आन्द्रे कोले (१८७) रहेका छन् ।

अगुएरोले हरेक १०८ मिनेटमा प्रिमियर लिगमा गोल गरेका छन् । जुन कुनै पनि खेलाडीको सर्वाधिक राम्रो इतिहास हो । यदि उनले प्रिमियर लिगमा अरु २५२० मिनेट अर्थात् २८ खेलमा गोल गर्दैन थिए भने पनि उनकै कीर्तिमान रहने थियो ।
अगुएरोले करिअरमा १८ ह्याट्रिक गरे, जहाँ १२ प्रिमियर लिग ह्याट्रिक रहेको छ‚ जुन प्रिमियर लिग ह्याट्रिकको रेकर्डसमेत हो ।

उनले १२८ फरक प्रतिद्वन्द्वीविरुद्ध गोल गरेका छन् ।

अगुएरोले करिअरको पहिलो गोल गरेको १६ वर्ष ३३२ दिन (नोभेम्बर, २००४) पछि करिअरको अन्तिम गोल बार्सिलोनाबाट रियल म्याड्रिडविरुद्ध (अक्टोबर २०२१) मा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *