काठमाडौँ महानगरका निर्देशक बोगटीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
गलत लिखत तयार गरी सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा बोगटीसहित पाँच कर्मचारीमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
जसमा बोगटीसहित महानगरपालिकाका खरिद इकाई प्रमुख बखतबहादुर साउँद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकी रहेका छन् ।
महानगरपालिका वडा नम्बर १२, टेकुस्थित एक भवन निर्माण गर्नका लागि गरिएको ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरेर निर्माण व्यवसायी छनौट गरेको उजुरी आयोगमा परेपछि, गरिएको अनुसन्धानमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरी भ्रष्टाचार गरेको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अनुसन्धानको क्रममा टेकुस्थित भवन निर्माणका लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा पाँच जनाकै संलग्ननता पाइएपछि उनीहरूमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको हो ।








