श्रीलंकाको पोस्टमा नेपालको ६ गोल

काठमाडौँ । बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गरेको छ । साफ यू-१९ महिला फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले प्रभावशाली जित निकालेको हो ।
अधिकांश समय नेपालले दबाबमा राखेको खेलमा श्रीलंकाविरुद्ध नेपालले निरन्तर आक्रमण गरेको थियो ।
नेपाललाई रश्मीकुमारी घिसिङले पाँचौं मिनेटमा नै एक डिफेन्डर बिट गर्दै डिबक्स बाहिरबाट गरेको लङ रेन्च शक्तिशाली प्रहार गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।
पहिलो गोल गरेको एक मिनेट नबित्दै सविता राना मगरले नेपालको अग्रता दोब्बर बनाइन् भने मध्य भागमा पाएको फ्रिकीकलाई डिबक्समा रहेको सविताले वान टच प्रहार गर्दै गोल गरिन् ।
सविता रानामगरले गरेको क्रसलाई गोललाइनमा रहेकी मेनुकाकुमारी आलेमगरले खाली पोस्टमा ‘फाइनल टच’ दिँदै नेपालको अग्रता ३-० मा पुर्याएकी थिइन् ।
दोस्रो हाफमा पनि सुरुवातबाटै दबाब बनाएको नेपालले सलोनी रानामगरको क्रसमा वान ड्रप बललाई हेड गर्दै रजनी थोकरले ४७औँ मिनेटमा नेपालको अग्रता ४-० मा पुर्याएकी थिइन् । नेपालको अग्रता फराकिलो बनाउने क्रममा सलोनी राना मगरले ५२औँ मिनेटमा पाँचौं गोल गरिन् । उनले डी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणात भएको थियो ।
नेपालका लागि छैटौँ तथा व्यक्तिगत दोस्रो गोल भने रश्मीकुमारी घिसिङले ८६औँ मिनेटमा सम्भव बनाएकी थिइन् । घिसिङले फ्रिकिक मार्फत आकर्षक गोल गरिन् ।








