मेरा सन्तानले सिकाएका चार पाठ

मेरो ५ जनाको परिवार (११, ९ र ७ वर्षका तीन सन्तान) एउटा स्थानीय पार्कमा घुम्दै थियौँ । घुमिसकेपछि उनीहरूले एउटा उपहार पसलमा गएर केही सामान हेर्न चाहे । मेरो ७ वर्षीय छोराले भन्यो, ‘आमा यो प्रवेशद्वार हामीले प्रयोग गर्न सक्ने छैन । कसैलाई सोधेर अर्को प्रवेशद्वार खोज्नुपर्छ ।’

मेरो ९ वर्षीय छोरा फरक क्षमताको छ; उसलाई ह्विलचियरको सहायता लिनुपर्छ । उसका लागि उपयुक्त हुने प्रवेशद्वार बन्द रहेछ । त्यसैले हामी अर्को प्रवेशद्वारमा पुगेका थियौँ‚ जहाँ सिँढी थियो ।

यो घटनाक्रमले के स्पष्ट हुन्छ भने मेरा सन्तानका लागि यो महत्त्वपूर्ण छ र उनीहरूलाई थाहा छ कि हामी सबै कतै पुग्न सक्षम छौँ । ती व्यक्तिमात्र सक्षम होइनन्‚ जो हिँडडुल गर्न सक्ने छन्, ती व्यक्तिहरू पनि सक्षम छन्‚ जो हिँडडुल गर्न सक्दैनन् । मेरा सन्तानलाई कसरी अरूको सहयोग माग्ने भन्नेबारे पनि थाहा छ । वकालत गर्नु उनीहरूको दोस्रो प्रकृतिजस्तो भइसकेको छ ।

यो व्यवहार मैले उनीहरूलाई सिकाएको भने होइन । म र मेरो श्रीमानको व्यवहार अवलोकन गरेर उनीहरू आफैँले सिकेका हुन् । मेरा सन्तानहरू परिवारको आवश्यकताबारे बोल्न पाउँदा गर्व महसुस गर्छन् । यो एक महत्त्वपूर्ण जीवनोपयोगी सीप पनि हो । उनीहरूले मेरो अघि यो सीप प्रस्तुत नगरेको भए उनीहरूले के सिकेका छन् मैले थाहा पाउने थिइनँ ।

म आमा बन्नुअघि भविष्यमा आफ्ना सन्तानहरूलाई सहयोग गर्छु र उनीहरूलाई कसरी आफ्नो ख्याल राख्नुपर्छ भन्नेबारे सिकाउँछु भन्ने सोचेकी थिएँ । तर‚ मैले उनीहरूबाट यति धेरै कुरा सिक्न पाउँछु भन्ने कहिल्यै अपेक्षा गरेकी थिइनँ ।

मैले आफ्ना सन्तानबाट सिकेका केही महत्त्वपूर्ण पाठहरूबारे यहाँ उल्लेख गरेकी छु ।

वकालत गर्नु अति आवश्यक छ
मैले शारीरिक रूपमा अशक्त छोराका लागि वकालत गर्न सिकेकी छु । मैले मेरो सन्तानलाई नियतवश केही कुरा सिकाइरहेको समयमा उनीहरूले सिक्नेमात्र होइन‚ म माथि निगरानी पनि गरिरहेका हुन्छन् भन्ने कहिल्यै महसुस नै गरेकी थिइनँ ।

मेरा सन्तानहरूले यदि मैले गरेका कुनै गतिविधि समावेशी भएन भने त्यसलाई औँल्याइहाल्छन् । त्यसपछि उनीहरू त्यस गतिविधिलाई आवश्यकताअनुसार परिमार्जन गर्ने काममा द्रुत गतिमा लागिहाल्छन् ।

जब ‘हलोवीन’को उत्सव मनाउने समय आउँछ‚ मेरा दुई सन्तानहरू दौडँदै छिमेकीको घरमा जान्छन् र ढोकाको घण्टी बजाउँछन् । जब छिमेकीले ढोका खोल्छन्‚ त्यसपछि उनीहरूलाई आफ्नो घरमा आएर शारीरिक रूपमा असक्षम दाजुसँग चकलेट र क्यान्डी लिन जान आग्रह गर्छन् । यसले मेरो शारीरिक रूपमा असक्षम छोरालाई अति खुसी बनाउँछ किनभने उसका सक्षम दाजुभाइले आफ्नो खुसीको क्षणमा उसलाई पनि समावेश गर्छन् ।

त्यतिमात्र होइन‚ उनीहरू मेरो वकालत गर्ने तरिकाको पनि नक्कल गर्छन् । जब रेस्टुरेन्टमा सबैका लागि सहज हुने टेबुल-कुर्सी हुँदैन‚ त्यति बेला म निराश हुनुको साटो सहज हुने कुर्सी, टेबल मगाउँछु । मैले चुनौतीहरू सामना गर्ने तरिका, शिक्षित व्यक्तिहरूसँग सहयोग माग्ने तरिकाले मलाई आफ्नो लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

अमेरिकाको न्यूजर्सीका एक क्लिनिकल मनोवैज्ञानिक हेदर वाटसन–पेरेजले भने, ‘हामीले आफ्नो आवश्यकताबारे स्पष्टसँग, प्रत्यक्ष र आत्मविश्वासका साथ अरू समक्ष सञ्चार गर्नु र सञ्चार गर्दा अरूको अधिकारको पनि सम्मान गर्नु अति नै महत्त्वपूर्ण हुन्छ । दृढताले बालबालिकामा उनीहरूको आवश्यकतालाई कसरी अरूसामु सञ्चार गर्ने‚ आफ्नै लागि कसरी खडा हुने भन्नेबारे सिकाउन मद्दत गर्छ ।’

नतिजाको रूपमा मैले मेरा बालबालिकाले गृहकार्य नबुझेको बेला बुझिएन भनेर प्रष्टसँग आफ्नो मनको कुरा राख्न सक्ने भएको देखेकी छु । उनीहरू अधिकारप्राप्त व्यक्तिसँग पनि बोल्न र आफ्ना कुरा राख्न डराउँदैनन् । यदि आफूले आफ्ना आवश्यकताहरू व्यक्त गर्न सकियो भने उनीहरू कहिलेकाहीँ परिस्थिति यथोचित रूपमा परिवर्तन हुन्छ भन्ने कुरासमेत बुझ्न सक्छन् ।

सबै पारिवारिक समयलाई गन्ती गर्ने
म एकल अभिभावकको संरक्षणमा एक्लो सन्तानको रूपमा नै हुर्किएँ । जब म अभिभावक बनेँ‚ ठूलो परिवारमा समाहित हुने कुराले उत्साहित भएकी थिएँ ।

बालबालिकामैत्री आकर्षण ठाउँ‚ जस्तैः पार्क, बाउन्सी घर, खेल्ने मैदान सधैँ मेरो छोराको आवश्यकता पूरा गर्न सक्ने खालको हुँदैन । त्यसैले हामी कहाँ जाने भन्ने कुरा मेरा प्रत्येक सन्तानले त्यहाँ हुने क्रियाकलापमा समान सहभागिता जनाउन सकुन् भन्ने आधारमा छनोट गर्नुपर्ने हुन्छ‚ जसले गर्दा पारिवारिक समय सबैका लागि गुणस्तरीय हुन सकोस् ।

यस्तै अरू क्षणहरू पनि जस्तै: ड्राइभिङ, वनभोज, चलचित्र हेर्ने, कायकिङ, समुन्द्रको किनारा पनि सबैका लागि सहभागी हुन सजिलो हुने बनाउनुपर्छ । घरको काम र जिम्मेवारीबाट विचलित नहुन यस्ता कार्यक्रममा सहभागी हुनु आवश्यक पनि छ । यस्तोबेला बालबालिकाहरू आफ्ना अभिभावकसँगै समय बिताउन चाहन्छन् र आमा-बुबाको पूरै ध्यान आफैँतिर मात्र होस् भन्ने चाहन्छन् ।

सिकागोका क्लिनिकल मनोवैज्ञानिक जो–एन फिन्केलस्टेन भन्छन्, ‘बालबालिकासँग आफ्नो महत्त्वपूर्ण समय बिताउनाले उनीहरूको बौद्धिक स्तर राम्रो हुनुका साथै मानसिक स्वास्थ्य र सामाजिक क्षमता पनि राम्रो हुँदै जान्छ । यसले बालबालिकाको कल्याणमा महत्त्वपूर्ण प्रभाव पार्छ ।’ हामी सबैलाई मनपर्ने र सजिलै रमाइलो गर्न सक्ने साहसिक कार्यहरू खोज्नु पनि मुख्य कुरा हो ।

व्यक्तिगत समय पनि महत्त्वपूर्ण छ
मेरो ९ वर्षीय छोराका लागि धेरै जना चिकित्सक र शारीरिक थेरापिस्ट राखेको छु‚ जसले उसलाई स्वस्थ रहन मद्दत गर्छन् र उनीहरूको मेरो छोरालाई आवश्यकता छ । त्यो बाहेक उसलाई बच्चा हुन र आफू रमाउने काम गर्न पनि समय चाहिन्छ‚ जस्तैः खेल्नका लागि पहुँचयोग्य बास्केटबल, स्विमिङ पुल आदि ।

त्यस्तै मेरा अन्य दुई छोराका लागि पनि उनीहरूको व्यक्तिगत रुचिलाई ध्यानमा राखेर पालनपोषण गर्न जरुरी छ । जस्तैः उनीहरू समूहमा खेल्ने, स्काउटको बैठकमा भाग लिने जस्ता कार्यमा सहभागी हुन चाहन्छन् । उनीहरूको चाहना पूरा गर्न स्वतन्त्र रूपमा छाडिदिनुपर्छ; जसले गर्दा उनीहरू आफ्ना साथीसँग भावनात्मक रूपमा जोडिन पाउँछन् ।

जब बालबालिकाहरू अरूसँग समूहमा समय बिताउँछन्‚ उनीहरू अझ उत्प्रेरित, ध्यान केन्द्रित गर्न सक्ने र जोखिम उठाउन साहस गर्ने हुन्छन् । त्यसैले सम्भव हुँदा म उनीहरूलाई रातको समयमा पनि यात्रामा लिएर निस्कन्छु । उनीहरूलाई रुचि भएको यात्रामा जोखिम हुँदा पनि लिएर निस्कँदा मेरो ध्यान भड्किन पाउँदैन ।

बालबालिकाहरू एक अर्कालाई उनीहरूको फरक खुबी भएको काम गर्दा पनि एक अर्कालाई सहयोग गर्न भने मन पराउँछन् । उनीहरूको यस्तै व्यवहारले एक अर्काको थेरापी सक्नका लागि सहयोग पुग्छ । मेरा सक्षम छोराहरूले आफ्नो भाइलाई घोडा चढ्ने थेरापी गर्न मद्दत गर्छन् भने असक्षम छोराले फुटबल खेल्दा उनीहरूलाई हेरेर समर्थन गर्छ । उसलाई छेउमा बल ड्रिबल गर्न मनपर्छ ।

हामी सधैँ बढ्ने र परिवर्तन हुने क्रममा हुन्छौँ
मेरा सन्तानले सधैँ नयाँ खेल खेल्ने र नयाँ समूह बनाउने कोसिस गर्छन् । उनीहरू आफूलाई के ठिक हुन्छ र केले मस्तिष्कलाई परिवर्तन गराउँछ, के गर्दा राम्रो महसुस हुन्छ‚ त्यही गर्छन् । जसले गर्दा उनीहरूलाई आफू के बन्न चाहन्छु र आफूमा के क्षमता छ पत्ता लगाउन सजिलो हुन्छ । उनीहरूलाई राम्रोसँग थाहा छ कि हरेक व्यक्ति फरक तरिका र गतिमा बढ्दै जान्छन् ।

त्यसले उनीहरूलाई आफ्नो व्यक्तिगत क्षमताअनुसारको फाइदा लिन सघाउँछ । मेरी छोरीले गत वर्ष आफूलाई सहभागी हुन मन लागेको नाटकमा भूमिका निर्वाह गर्न पाइन् । सो कुराले छोरीसँगै हामी सबैले उत्सव मनायौँ । यसले छोरीलाई ९ वर्षको उमेरमा नै आफू स्वतन्त्र र आत्मनिर्भर रहेको महसुस गरायो ।

म स्वयं पनि बढ्दैछु । म आफ्ना सन्तानसँग समय बिताउन सकूँ भनेर पहिले कहिल्यै रोचक नलागेका कुराहरूसमेत सिक्न र जान्न रुचि राख्न थालेको छु । मैले आफू सानो हुँदा भन्दा अहिले धेरै धैर्य गर्न सिकेको छु । मैले आफ्नो परिवर्तित जीवनसँगै लचिलो हुन समेत सिकेकी छु । मलाई थाहा छ‚ मैले मेरा सन्तानलाई आफूले जानिसकेको कुरा पनि सिकाउनुपर्छ । तर हामीसँगै जीवन बिताइरहेको हुनाले मैले पनि अझै बढी सिक्ने मौका पाउनेछु । –सीएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *