सूर्तिजन्य पदार्थ प्रतिबन्धसम्बन्धी कानुन ल्याउँदै न्यूजिल्यान्ड

न्यूजिल्यान्डले धुम्रपानलाई अन्त्य गर्न सूर्तिजन्य पदार्थ खरिद तथा बिक्रीमा प्रतिबन्ध लगाउने भएको छ । न्युजिल्यान्डले लागू गर्न लागेको यो कानुन विशेषगरी युवा पुस्ताहरूप्रति लक्षित गरिएको छ ।
२०२३ देखि लागू गर्नेगरी बनाइएको कानुनमा सन् २००८ पछि जन्मिएका जो कोहीले पनि आफ्नो जीवन कालभरि सूर्तिजन्य पदार्थ खरिद तथा बिक्री गर्न नपाउने कुरा उल्लेख गरिएको छ ।
न्युजिल्यान्डकी स्वास्थ्यमन्त्री डा आयशा भेरलले युवा पुस्ताले धुम्रपान कहिल्यै नगरुन् भन्ने अपेक्षालाई सुनिश्चित गर्न यस्तो कानुन ल्याएको बताएकी छन् ।
न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले बिहीबार धुम्रपानविरुद्धको कार्यक्रममा सो कानुनसम्बन्धी घोषणा गरेको थियो ।
यो कदमलाई चिकित्सक र अन्य सरोकारवालाहरूले युवामा निकोटिनको लत घटाउन चालिएको सही कदम भन्दै विश्लेषण गरेका छन् ।
अहिले न्युजिल्यान्डमा १३ प्रतिशत वयस्कले धुम्रपान गर्छन् । यो दरलाई निकै उच्चदर मानिन्छ । देशले सन् २०२५ सम्ममा यो दर घटाएर ५ प्रतिशत पुर्याउने र अन्त्यमा धुम्रपान निषेधित देश बनाउने लक्ष्य राखेको छ ।








