पुबुदु राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । पुबुदु दासानायके नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
क्यानको प्रशिक्षक छनोट समितिले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिवार बिहान बसेको क्यान बोर्डको बैठकले अनुमोदन गरेसँगै उनी मुख्य प्रशिक्षक बनेका हुन् ।
५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए । सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए ।
पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो । नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए ।
उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए ।
Pubudu Dassanayake has been endorsed as the Head Coach of Nepal Men’s Cricket Team from the Board meeting held this morning.
More to follow.. pic.twitter.com/cvv5axW7iY
— CAN (@CricketNep) December 11, 2021








