शरदको आत्मविश्वासको कथामा ‘उठ्न सकिन्छ’ (भिडिओ)

काठमाडौँ । २०७२ सालमा आएको भूकम्प र त्यसको क्षतिको विषयमा सबैलाई जानकारी छ । जनजीवन नै अस्तव्यस्त बनाएको यो घटनाले धेरैले घर परिवार गुमाए । केहीले भने आफूभित्रको आफैँलाई गुमाए । आफ्नो शरीरका अङ्ग गुमाए र आफूभित्रको आत्मविश्वास पनि गुमाए ।
जस्तो परिस्थितिमा पनि आफूलाई बचाउनुपर्ने कुरालाई मध्यनजर गर्दै कसैले पीडाबीच आफूलाई जीवन सबल बनाए । शरद पौड्याल, त्यस्तै एक नाम हो‚ जसले शरीरको महत्वपूर्ण अङ्ग त गुमाए तर हिम्मत गुमाएनन्, आत्मविश्वास गुमाएनन् । ७२ सालको भूकम्पमा उनी घरले पुरिएका थिए ।
उनको खुट्टाले काम गर्न छोड्यो । केही समय त लाग्यो‚ उनलाई सामान्य जीवनमा फर्किन । तर आफ्नो हिम्मतमा श्रीमतीको साथ पनि थपिएपछि भने उनले पछाडि फर्केर हेर्नै परेन । उनले राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय पारा भारोत्तोलन च्याम्पियनसीप २०७५ को उपाधि हासिल गरे ।
यही सत्य घटनालाई आधार मानेर सुरेन्द्र सिंह नेपालीले भिडिओ ‘उठ्न सकिन्छ’ निर्देशन गरेका छन् । शरदको भोगाइलाई दिनेश अधिकारीले शब्द माला उनेका छन् । पुष्पन प्रधानको स्वर र सङ्गीतले ती शब्दलाई अमर बनाएका छन् । शरद बनेका नीराजन प्रधानले गरेको मेहनत भिडिओमा देख्न सकिन्छ । उनलाई अभिनयमा रुविना थापाले साथ दिएकी छन् । बाबु श्रेष्ठले खिचेको भिडिओ भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।
समग्रमा, यो गीत गीत नभएर धेरैको आत्मविश्वास बढाउने कथा बनेको छ ।








