पहिलो भारतीय रक्षाध्यक्ष विपिन रावतः यस्तो छ उनको करिअर कथा

काठमाडौँ । सन् २०१९ को भारतीय स्वतन्त्रता दिवस (अगस्ट १५) को दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षाध्यक्ष (चिफ अफ डिफेन्स स्टाफ) नियुक्त गर्ने सार्वजनिक घोषणा गरे । भारतीय पूर्व सेना प्रमुख भीपी मलिकले त्यसको स्वागत गरे । इन्डियन एक्सप्रेससँग उनले सन् १९९९ को पाकिस्तानसँगको कार्गिल युद्ध पछि बनेको ‘कार्गिल समीक्षा समिति’बाटै रक्षाध्यक्ष हुनुपर्ने कुरा आएको बताएका थिए ।
घोषणा भएको साढे चार महिनापछि मोदीले भारतको सैन्य इतिहासमै पहिलो पटक रक्षाध्यक्षमा विपिन रावतलाई नियुक्त गरे । सन २०१९ डिसेम्बर ३० मा नियुक्त भएका रावतले २०२० जनवरी १ बाट औपचारिक रूपमा पदभार ग्रहण गरेको एनडीटीभीले उल्लेख गरेको छ । इन्डिया टुडेकाअनुसार उनको कार्यालय साउथ ब्लकको भुईँ तल्लामा थियो ।

सन् १९५८ मार्च १६ मा भारत उत्तराखण्डको गढवालको राजपूत परिवारमा जन्मेका रावतले भारतीय सेनामा ३५ वर्ष सेवा गरेका थिए । उनी भारतको २७ औँ प्रधान सेनापति हुन् । रक्षाध्यक्ष नियुक्त हुनु अगाडि तीन वर्षसम्म उनी भारतको प्रधान सेनापति थिए । उनको परिवारका धेरै पुस्ताले भारतीय सेनामा काम गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनका बुबा भारतीय सेनाको लेफ्टिनेन्ट जनरल थिए ।
सन १९७८ मा भारतीय सेनामा प्रवेश गरेका रावत ११ गोर्खा राइफल्स (लेभेन जीआर)को पाँचौँ बटालियनमा आबद्ध भएका थिए । जुन बटालियनमा उनका बुबासमेत आबद्ध थिए ।
भारतले पाकिस्तानदेखि म्यानमारको भूमिमा गरेको हवाई हमलादेखी चिनिया सेनासँगको घम्साघम्सीलगायत घटनाका बेला भारतीय सेनाको नेतृत्वमा रावत थिए । सन १९७८ मा उनले उत्कृष्ट शिक्षार्थीले पाउने सम्मान ‘स्वर्ड अफ अनर’ पाएका थिए ।
युद्धको विषयमा कडा धारणा दिने उनलाई बीबीसी अनलाइनले ‘टफ जनरल’ भनेर भनेर ओबिच्यिुरी लेखेको छ । बुबा सेनाका लेफ्टिनेन्ट जनरल र आमा राजनीतिज्ञकी छोरी भएकाले पनि रावतसँग सैन्यदेखि राजनीतिक दुवै मुद्दामा दक्षता भएको भारतीय टिप्पणीकारहरूले बताएका छन् । रावतको उचाइ क्षेत्रको युद्धदेखि युद्ध प्रतिरक्षा क्षेत्रमा विशेष दख्खल रहेको बीबीसीले लेखेको छ ।
उनी नेपाली सेनाको पनि मानार्थ प्रधान सेनापति थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ चैत्र १६ मा रावतलाई नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि दिएकी थिइन् । रावतको बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । दुर्घटनामा उनकी श्रीमतीसहित ११ जनाको निधन भएको थियो ।








