यस्ता छन् १९ औँ ‘किम्फ’मा देखाइने लघु चलचित्र

काठमाडौँ । १९ औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) यही मङ्सिर २३ गते देखि २७ गतेसम्म हुने भएको छ । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी २८ देशका ६० भन्दा चलचित्र देखाइने आयोजकले जनाएको छ । यस पटक अनलाइन र प्रत्यक्ष गरी मिश्रित दुई माध्यमबाट चलचित्र देखाउने तयारी छ ।

‘जलवायु कर्म’ उपशीर्षक रहेको महोत्सवको उद्घाटन समारोहमा लघु चलचित्र ‘ड्रीम माउन्टेन’ प्रदर्शन गरिनेछ । महोत्सवमा ‘ग्रिन ग्रोथ-ग्रिन रिकभरी’ अन्तर्गत लघु चलचित्रसँगै ‘कल टु एक्सन’अन्तर्गत टिकटक च्यालेन्ज र नेपाल पानोरमाअन्तर्गत केही चलचित्र प्रस्तुत गरिनेछ । यस पटकको किम्फमा स्विजरल्यान्डका पत्रकार तथा पर्वतारोही मारियो कासेल, स्विजरल्यान्डकै पत्रकार तथा चलचित्र निर्माता क्यारोलिन फिङ्क र कलाकार तथा निर्देशक अनुप बराल निर्णायक मण्डलमा रहेका छन् ।

महोत्सवमा देखाइने केही लघु चलचित्र यी हुन्

जिउँदो मोदो (द लिभिंग कोप्स)
दुर्गाबहादुर कार्कीको निर्देशनमा बनेको लघु चलचित्र ‘जिउँदो मोदो’ किम्फको १९ औँ संस्करणमा देखाइँदै छ । दार्चुला जिल्लामा छायांकन गरेको यो चलचित्र १२ मिनेटको छ ।

चलचित्रमा ढुङ्गा कुटेर एक वृद्धाले जिविको चलाएकी छन् । उनीसँग सम्पत्ति र साथीको नाममा एउटै थारो बाख्रा छ । यार्सागुम्बा खोज्न माथिल्लो पाटनको यात्राबाट निस्केको आफ्ना नातिको बारेमा उनी चिन्तित देखिन्छिन् । तर उनलाई गाउँलेले नातिको निधनको खबर सुनाउँछन् । उनी आफ्नो नातिको अनुहार अन्तिम पटक भए पनि हेर्न चाहन्छिन् । तर, गाउँलेहरूले उनलाई दाहसंस्कारमा जानबाट रोक्छन् ।

एटरपियन एटरी (ड्राइरिफ्युजी)
रुबेन क्रेस्पोको निर्देशनमा बनेको चलचित्र एटरपियाब एटरी (ड्राइ रेफ्युजी) अमेरिकी चलचित्र हो । ५ मिनेटको यो लघु चलचित्रमा विश्वभर फैलिएको कोरोना भाइरसको कारण संसार नै ठप्प हुँदा कैदी झैँ बनेको माइकलको राम्रो समयको सम्झना गर्दै नयाँ साहसिक सपनाहरूमा डुबेको जीवन कथाको सम्झनालाई देखाइएको छ ।

ह्वेन ग्ल्यासियर गो
अमेरिकी निर्देशक कोरी रोविन्सनले निर्देशन गरेको चलचित्र हो ह्वेन ग्ल्यासियर गो । धे नेपालको मुस्ताङ क्षेत्रको एउटा दुर्गम गाउँ हो जुन जलवायु परिवर्तनको प्रभाव धेरै परेको स्थान मध्येमा पर्छ । हिमनदीमा पानीको अभावले स्थानीय मानिसहरू घर छोड्न बाध्य छन् । भावी पुस्तालाई सोचेर गुरुङ परिवारले पनि आफ्नो बाटो तताएको छ । यो कथालाई कोरीले करिब १७ मिनेटको चलचित्र मार्फत प्रस्तुत गरेका छन् ।

‘अग्वा देस्गास्ता रोका’
स्पेनी लघु चलचित्र ‘अग्वा देस्गास्ता रोका (वाटर वेर्स रक)’ २२ मिनेट २१ सेकेन्डको छ । निर्देशक अल्भारो क्रेस्पोले वाटर वेयर्स रकमार्फत १७ वर्षको उमेरदेखि मल्टिपल स्क्लेरोसिसबाट पीडित आरोही अल्बर्टो गार्सियाको कथा लाई देखाएका छन् । उनले खेलकुदमा जीवन खोजेका छन् जसले एक योग्य व्यक्तिको रूपमा प्रस्तुत गर्न आफ्नो रोगलाई बेवास्ता गर्न मद्दत गर्दछ । शारीरिक असक्षमताका बाबजुद, उनको लक्ष्य अस्टुरियास, स्पेनको नारान्जो डे बुल्नेस (हिमाल) चढ्ने हो जुन २५१० मिटर अग्लो छ । यो शिखर युरोपको आरोहण गर्न सबैभन्दा कठिन शिखर मध्येको एक मानिन्छ ।

ड्रिम माउन्टेन
१८ मिनेट लामो लघु चलचित्र ‘ड्रिम माउन्टेन’ अमेरिकी निर्देशक काइल रुदिकले नेपाली कथामा नेपालमा नै छायांकन गरेको चलचित्र हो । चलचित्रले पासाङ ल्हामु शेर्पाले अकिताको मातृत्वसँग पर्वतारोहणलाई सन्तुलनमा राख्नको लागि गरेको सङ्घर्ष र आफ्नो परम्परागत संस्कृतिलाई सम्मान गर्ने दबाबको विषयमा स्पष्ट पार्ने प्रयास गर्छ । अकिता नेपालकी पहिलो महिला पर्वतारोहण प्रशिक्षक हुन् । त्यस्तै उनी माउन्ट केटुसम्म पुग्ने पहिलो नेपाली महिला हुन् । “सबैलाई आफ्नो सपना पछ्याउने अधिकार छ।” भन्ने थिममा यो चलचित्र निर्माण गरिएको छ ।

ब्ल्याक पिक्स
१८ मिनेट ४४ सेकेन्डको चलचित्र ‘ब्ल्याक पिक्स’ मा नेपाल, एसिया र विश्वमा जलवायु परिवर्तनको असरबारे चर्चा गरिएको छ । यो चलचित्रले हिउँ पग्लिएर बन्ने पानीले गर्ने हानीसँगै वर्षामा हुने परिवर्तनका कारण एसियाका ठुलो जनसङ्ख्यामा पर्ने असरलाई केन्द्रित गरेको छ । अनुसन्धान, फोटोग्राफिक प्रमाणहरू र विशेषज्ञहरूसँग अन्तर्वार्ताहरू प्रयोग गरेर, चुचुराहरू काला किन हुँदै छन् र यस विषयमा हामीले किन चिन्तित हुनुपर्ने छ भन्ने कथा बताउँछ ।

मिग्रान्ट्स
८ मिनेट १७ सेकेन्ड लामो लघु चलचित्र मिग्रान्ट्समा दुई पोलार बियर (ध्रुवीय भालु) को कथा भन्छ । ह्यूगो केबी, एन्टोइन डुप्रिज, औबिन कुबियाक, लुकास लेर्मिटे र झो डिभाइज ले निर्देशन गरेको चलचित्र फ्रान्सेली चलचित्र हो । जलवायु परिवर्तनको कारण दुई भालु सुरक्षित वासस्थानको खोजीमा निस्कन्छन् । बाटोमा भेटिएका खैरा भालुको समूहले उनीहरू माथि आक्रमण गरेर सहवास गर्न खोजेको कथा चलचित्रमा समेटिएको छ । वासस्थान खोज्न निस्किएका ध्रुवीय भालुको अस्तित्व नै गुम्न सक्ने खतरालाई निर्देशकले देखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *