राष्ट्रिय सभा सदस्यको निर्वाचन : यस्तो छ कार्यतालिका

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गराउनुपर्ने छ ।

निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

यसैगरी पुस १८ र १९ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

फागुन २१ गते राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालसहित एकतिहाइ सदस्यहरूको पदावधि सकिँदैछ । पदावधि सकिनेहरूमा विषयगत समितिहरूको सभापतिसमेत रहेका छन् । सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यात्मक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =