‘अस्ट्रेलियाको संसद्‌मा एक तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार’

अस्ट्रेलियाको संसद्‌का एक तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको खुलेको छ । हालै सार्वजनिक भएको एक प्रतिवेदनमा अस्ट्रेलियाको संघीय संसद्‌का एक तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको उल्लेख गरिएको छ ।

संसद्‌की पूर्वकर्मचारी ब्रिट्नी हिगिन्सले मन्त्रालयकै एक सहकर्मीबाट यौन दुर्व्यवहारमा परेको आरोप लगाएपछि गरिएको अध्ययनपश्चात प्रतिवेदनसार्वजनिक गरिएको हो । ‘सेट द स्टान्डर्ड’ शीर्षकको उक्त प्रतिवेदनमा ५१ प्रतिशत कर्मचारी बुलिङ र यौन दुर्व्यवहारको शिकार बनेको उल्लेख छ ।

मंगलबार संसद्‌मा पेश गरिएको प्रतिवेदन तयार गर्ने क्रममा १७ सय २३ जना व्यक्ति र ३३ वटा संघसंस्थासँग अन्तर्वार्ता लिइएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार यौन दुर्व्यवहारमा परेका महिलाको संख्या पुरुषको संख्याभन्दा बढी अर्थात् ६३ प्रतिशत छ । यौन हिंसाका पीडितमध्ये महिलाको संख्या उच्च रहेको प्रतिवेदन तयार पार्ने केट जेनकिन्सले बताइन् ।

यस्ता क्रियाकलापले काम गर्ने समूहलाई दीर्घकालसम्म असर गर्नेसँगै संसद्‌को कार्यसम्पादनसमेत कमजोर हुने जेनकिन्सले बताएकी छन् ।

हिगिन्सले बलात्कार भएको घटना सार्वजनिक गरेपछि अस्ट्रेलियाको संसद्‌मा भएका यौन दुर्व्यवहारसम्बन्धी विभिन्न घटना सार्वजनिक भएका थिए ।

यसअघि अस्ट्रेलियाका प्रधान मन्त्री स्कट मोरिसनमाथि संसद्‌मा कार्यरत महिलामाथि भएको हिंसाप्रति ध्यानाकर्षण नगरेको आरोप लागेको थियो । यसैबीच अहिले पनि प्रतिवेदनमा उल्लेखित विषय ‘डरलाग्दो’ भएको भन्दै उनले आफू अचम्ममा परेको बताएका छन् ।

बिबिसीबाट

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *