मतमा ओ‌लीलाई उछिन्ने ‘माधव नेपाल समूह’का यी पाँच नेता‚ कसको कति प्रतिशत ?

काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनले अर्को कार्यकालका लागि केपी ओलीलाई नै अध्यक्ष निर्वाचित गरेको छ । पदाधिकारीमा धेरैजसो अनुहार दोहोरिएका छन् । केहीको बढुवा भएको छ भने केही त्यहि पदमा दोहोरिएका छन् भने केही बाहिरिएका छन् ।

महाधिवेशनमा सकेसम्म निर्वाचन नगर्ने अध्यक्ष ओलीको योजना रहेपनि निर्वाचन भइछाड्यो । सर्वसम्मत हुन उनले गरेको भरमग्दुर प्रयासमा खासगरी नेता भिम रावल तगारो बने । उनले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली चुनावमा जान बाध्य भए । सँगै उपाध्यक्षमा घनश्याम भुसालले र सचिवमा भिम आचार्य तथा टंक कार्कीले उम्मेदवारी दिए ।

अध्यक्षमा रावलले हार्ने ‘ओपन सेक्रेट’जस्तै भएपनि उनले कति मत ल्याउलान् भन्ने चासो सबैलाई थियो । उनले २२३ मत ल्याए । यो सम्मानजनक रहेको उनी पक्षका नेताहरूले बताएका छन् । ‘ओलीको सिन्डिकेटमात्र होइन‚ मतदानको समयमा मतदान स्थलमा रावललाई नहाल्न उर्दी नै जारी गरिनु तथा र पूर्वअध्यक्ष माधव नेपाल पक्ष अर्को पार्टी खोलेर गएको अवस्थामा रावलले यति भोट आउनु सम्मानजनक हो‚’ रावल पक्षका एक नेताले भने ।

२ हजार १५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मतदान गरेकोमा अध्यक्षमा निर्वाचित ओलीले १ हजार ८ सय ३७ मत ल्याए । यो ८७ दशमलव ६ प्रतिशत हो ।

मतदान हुने निश्चित भएसँगै अर्को विषय पनि चासोका साथ हेरिएको थियो । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुले जित्लान् कि हार्लान् ? यो शंका जब हावी भयो‚ जब पूर्वमाओवादी नेताहरू उम्मेदवार रहेका पदमा एमालेकै नेताहरूले उम्मेदवारी दिए । जस्तो उपाध्यक्षमा रामबहादुर थापा लडेका थिए । उपाध्यक्ष मै घनश्याम भुसालले उम्मेदवारी दिए ।

एमाले महाअधिवेशन प्रतिनिधिले भुसाललाई मत दिए बादल बाहिरिने पक्काजस्तै थियो । त्यो कुरा मत परिणामले पनि देखायो । सातौँ नम्बरमा पर्दै भुसाल पराजित हुँदा थापा छैटौँ नम्बरमा रहँदै विजयी भए ।

यस्तै सचिवमा पनि शंका त्यस्तै थियो । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू लेखराज भट्ट र टोपबहादुर रायमाझी उम्मेदवार थिए । सचिव पदमै एमालेका बहालवाला सचिव भिम आचार्य र एमालेभित्र बौद्धिक नेताको छवि बनाएका पूर्वराजदूतसमेत रहेका टंक कार्की उम्मेदवार थिए । अर्थात् यसमा पनि एमाले प्रतिनिधिलाई आफ्ना पुराना नेताहरू छान्ने सुविधा थियो ।

यसकारण पनि कतै ओलीले पूर्वमाओवादी पृष्ठभूमिका तीनैजना नेतालाई हराउने चाल चलेका त होइनन् भन्ने शंकासम्म गर्नेहरू पनि थिए । तर मत परिणामले त्यो आशंकालाई गलत ठहर्‍यायो । ओलीले सार्वजनिक गरेको सूचीविरुद्ध मनोनयन गरेका चारैजना पराजित भए ।

महाधिवेशनमा अर्को एक पक्ष पनि रोचक रह्यो । निर्विकल्प नेता बनेका ओलीले भन्दा बढी भोट चारजना नेताहरूले ल्याए । र, संयोग उनीहरू सबै एमालेभित्र माधव नेपाल पक्षका नेताहरु थिए । तर नेपाल एमाले विभाजन गरेर गएपनि एमालेमै बस्ने निर्णय गरेका नेताहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र युवराज ज्ञवालीले ओलीभन्दा बढी मत ल्याए ।

एक समय ओलीको कट्टर आलोचक रहेकी शाक्यलाई पछिल्लो समय बागमती प्रदेशको मुख्यमन्त्री बनाउँदै ओलीले आफ्नो कित्तामा ल्याएका थिए । उपाध्यक्षमा उनै शाक्यले सबैभन्दा बढी अर्थात् १९७६ मत ल्याइन् । जुन करीब ९४ प्रतिशतभन्दा बढी हो ।

यसैगरी दोस्रो बढी मत ल्याएर उपाध्यक्षमा विजयी भएका सुरेन्द्र पाण्डेले पनि १९२५ मत ल्याए । जुन करीब ९२ प्रतिशत हो ।

त्यस्तै सचिवमै दोहोरिएका विजयी भएका गोकर्ण विष्टले १९७६ मत ल्याए । यो करीब ९४ प्रतिशत हो । सचिवमै दोहोरिएका योगेश भट्टराईले १९६४ मत प्राप्त गरे; यो पनि करीब ९३ प्रतिशत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *