एमाले अध्यक्षका दुई आकांक्षी : ओली ढुक्क, रावललाई धपेडी

रावललाई प्रतिनिधिको व्यंग्य- चुनाव हारेपछि पार्टीबाटै भाग्न पाइन्न है

चितवन । चितवनमा चलिरहेको दसौँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल अध्यक्षका लागि चुनाव लड्दैछन् । पदाधिकारी चुन्ने सर्वाधिकार पाएका ओलीले सर्वसम्मतिमै टुङ्ग्याउन खोजे पनि उनी असफल रहे । अन्ततः उनी आफैँ पनि चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नुपर्ने भएको छ ।

रावलले अध्यक्ष पदका लागि आफ्नो अडान नछाडेसँगै ओलीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यद्यपि ओलीले जित्ने निश्चितजस्तै देखिएकाले ओलीले रावललाई आफ्नो प्रतिद्वन्द्वीको रूपमा नै नहेरेको उनीनिकट नेताहरू बताउँछन् । ओलीले केन्द्रीय सदस्यमा समेटेका एक नेता भन्छन्, ‘उहाँ (ओली) ले भीम कमरेडलाई खास प्रतिद्वन्द्वीको रूपमा हेर्नुभएको छैन । तपाईँ पनि यसो हेर्नुस् न । आखिर जित्ने त उहाँले नै हो । त्यो त सहजै भन्न सकिने कुरा हो नि ।’

आफ्नो जितमा विश्वस्त भएकै कारण ओली दिनैभरि आफू बसेको पार्क सफारी होटलमै छन् । रावलले उम्मेदवारी दर्ता गराएपछि साढे ९ बजे महाधिवेशनस्थल सेभेन स्टार होटल छिरेका ओली उम्मेदवारी दर्ता गराएपछि लगत्तै पुन: पार्क सफारी नै पुगेका छन् । उनले त्यहाँ दिनैभरि नेताहरूसँग छलफल गरिरहेका छन् । उनले महाधिवेशनस्थलमा एकै जनासँग पनि भोट मागेका छैनन् । उनले स्वयंसेवकसमेत खटाएका छैनन् । किन यत्ति ढुक्क ? मकालुखबरको जिज्ञासामा केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘जित्ने भएपछि ढुक्क त जो कोही पनि भइन्छ ।’

यता रावलले भने दिनैभरिजसो प्रतिनिधिहरूसँग भोट मागेका छन् । उनले महाधिवेशनस्थलका सबै प्रतिनिधिलाई भेटेर हात जोड्दै भोट मागिरहेका छन् । कतिपय महाधिवेशन प्रतिनिधिले उनलाई उम्मेदवारी फिर्ता लिन आह्वानसमेत गरेका थिए । त्यतिबेला उनको जवाफ थियो, ‘जनताको बहुदलीय जनवादको मर्म र सिद्धान्तअनुरूप अध्यक्ष पदको उम्मेदवार बनेको हुँ । तपाईँहरूले विवेक प्रयोग गर्नुपर्छ, विवेक गुमाउनुहुँदैन ।’

महाधिवेशनस्थलमा भेटिने प्रत्येक प्रतिनिधिलाई भेट्दा रावलले हात जोड्न भुलेका छैनन् । कति प्रतिनिधिले त उनलाई ठट्यौलो शैलीमा ‘चुनाव हारेपछि पार्टीबाट भाग्न पाइँदैन है कामरेड’ समेत भनेका छन् । त्यसबखत हाँसेरै टारेका रावल साँझ आफू बसेको होटल पुगेका छन् । त्यहाँ पनि उनले आफूनिकट नेताहरूसँग भेटिरहेका छन् भने प्रतिनिधिहरूले पनि रावललाई भेटिरहेका छन् ।

नेतृत्व चयनका लागि राति ९ बजेबाट ई-भोटिङ सुरु हुँदैछ । एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार ७८ वटा भोटिङ मेसिनबाट मतदान  हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *