राखेपले नयाँ सदस्यसचिव आज पाउला ?

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको दौड तीव्र बनेको छ । तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेको डेढ महिनापछि सरकार नयाँ सदस्यसचिव नियुक्त गर्ने अन्तिम तयारीमा छ ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने सम्भावना रहेको खेलकुद मन्त्रालय निकट स्रोतले जनाएको छ । खेलकुदमन्त्रीले सदस्यसचिवका लागि आवेदन बुझाएका र कार्ययोजना पेश गरेका १८ जनामध्येबाट तीन जनाको नाम पठाइसकेको मन्त्रालय स्रोतले जनाएको छ । नयाँ सदस्यसचिवमा टंकलाल घिसिङको सम्भावना धेरै रहेको मन्त्रालयका समाचार स्रोतहरू बताउँछन् ।

नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ नेकपा माओवादी केन्द्रका नेता पनि हुन् । उनी माओवादी केन्द्रका बागमती प्रदेश सदस्य छन् । घिसिङले हितबहादुर तामाङ खेलकुद मन्त्री हुँदा उनको स्वकीय सचिवका रुपमा पनि काम गरेका थिए । उनी एसियाली रग्बी महासंघको कार्यसमितिमा समेत निर्वाचित भएका व्यक्ति हुन् ।

मन्त्रालयले माग गरेको आवेदनमा १८ जनाले फर्म बुझाएका थिए । जसमध्येबाट सिफारिस समितिले टंकलाल घिसिङ, ममता श्रेष्ठ र अच्युतम लामिछानेको नाम क्याबिनेटमा पठाइसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव राजनितिक नियुक्तिको पद भएकाले स्वभाविक रुपमा टंकलाल घिसिङ अब मुख्य दाबेदार मानिएका छन् । घिसिङ सशस्त्र विद्रोहकै बेलादेखि नै माओवादी पार्टीमा लागेका व्यक्ति हुन् ।
उनी प्रचण्डका परिचित र नजिकका पात्र हुनुका साथै माओवादीभित्र खेलकुद बुझेकामध्ये सबैभन्दा माथिल्लो तहका व्यक्ति भएकाले माओवादीले उनैलाई अघि सारेको माओवादी नेताहरू बताउँछन् ।

सरकारले गत कात्तिक १ मा तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेपनि नयाँ सदस्यसचिव नियुक्तिको प्रकृया ढिलोमात्र सुरु भएको हो । मन्त्रालयमा सचिव नहुँदा नयाँ सदस्य सचिव नियुक्ति प्रक्रिया करिब एक महिनासम्म सुरू नै हुन सकेको थिएन । दामोदर रेग्मी सचिव भएर आएसँगै मन्त्रालयले परिषदको सदस्यसचिव नियुक्तिको प्रकृया सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *