जातीय विभेदविरुद्धको लघु चलचित्र प्रतियोगिता हुने

काठमाडौँ । जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता हुने भएको छ । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूएनडीपीसँग मिलेर गर्न लागेको प्रतियोगिताको जारी सूचनाअनुसार चलचित्रले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेटभित्रमा प्रस्तुत गर्नुपर्नेछ ।

‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जाति प्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएनडीपीद्वारा जारी सूचनामा भनिएको छ । भिडिओको प्राविधिक गुणस्तर १०८० पीक्सेलसम्म हुनुपर्ने‚ मोबाइलले खिचेका चलचित्र पनि प्रतियोगितामा स्वीकार गरिने, अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्यमात्रै पनि सहभागी हुन पाउने प्रावधान राखिएको छ ।

इच्छुक सहभागीले आउँदो डिसेम्बर १० तारिखसम्म भिडिओ निर्धारित ठेगानामा पठाइसक्नुपर्नेछ । यसरी प्राप्त भिडिओलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र ३ सदस्यीय निर्णायकले समितिको मूल्याङ्कनका आधारमा विजेता घोषणा गर्नेछ ।

सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन चलचित्र छनौट हुनेछन् । प्रतियोगितामा पहिलो हुने चलचित्रले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *