त्रिविसभा बालुवाटारमा बस्दै, पूर्वभीसी भन्छन्- अशोभनीय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक अर्थात् त्रिवि सभा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

विश्वविद्यालयका महत्वपूर्ण निर्णय र कार्यदिशा पारित हुने बैठक त्रिविको इतिहासमै सम्भवतः पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

त्रिवि सभाका लागि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनमा विशेष स्थान नै छुट्याइएको भए पनि यसपटक बैठक बालुवाटारमा बस्न लागेको हो ।

कुलपतिको निर्णयअनुसार नै प्रधानमन्त्री कार्यालयमा सिनेट बैठक बस्न लागेको त्रिविका प्रवक्ता सूर्य अधिकारीले मकालुखबरलाई जानकारी दिए । बैठकमा बजेट र नियमावली संशोधनसम्बन्धी प्रस्ताव पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।

बैठक बालुवाटारमा बस्नु अशोभनीय भएको त्रिविका पूर्व उपकुलपति प्रा. डा. तिर्थ खनिया बताउँछन् ।

त्रिवि सिनेटको बैठक अत्यन्तै महत्वपूर्ण हुने भएकाले यस्तो बैठक जहाँ पायो त्यहीँ बस्नु अशोभनीय रहेको भन्दै आफूले पहिलोपटक सिनेट त्रिवि बाहिर बस्न लागेको भन्ने सुनेर छक्क परेको बताए । ‘यो एउटा विधि हो । यही बैठक बस्नका लागि त्रिविमा छुट्टै हल छ । त्रिभुवन विश्वविद्यालयका लागि धेरै अर्थपूर्ण हुने यो बैठक बालुवाटारमा बस्ने नै होइन‚’ उनले भने ।

कोरोना महामारीको कारण यसअघिको बैठक भने भर्चुअल माध्यमबाट बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *