एमाले महाधिवेशन : बन्ला एकताको महाधिवेशन ?

चितवन । नेकपा (एमाले)ले सौराहामा जारी १०औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ भन्दै आएको छ । एमाले नेताहरूले यो महाधिवेशनपछि पार्टीलाई अझै सुदृढीकरण गर्ने र राजनीतिक रूपमा थप सङ्गठित गर्ने दोहोर्‍याउँदै आएका छन् ।

तर, महाधिवेशन स्थलको मञ्चनले भने त्यो पटक्कै बताउँदैन । महाधिवेशनबाट पार्टीको नेतृत्वपङ्ति जाने ठूलो धोको पालेर बसेका नेताहरूले ओलीलाई दबाब बढाएका छन् । यो सन्दर्भमा हेर्ने हो भने ओलीलाई आफ्नै निकट नेताहरूले दबाब दिइरहेका छन् । फलतः ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्न समय लगाएका हुन् । उनले आइतबार दिनभरि नेताहरूसँग भेटघाट गरेर आफ्नो तर्फबाट सूची तयार पारेका छन् । अध्यक्ष मण्डलको बैठकले ओलीकै सूचीमा छलफल गरिरहेको छ ।

एमालेलाई अझ सुदृढ बनाएर लाने उद्देश्य लिएको एमालेमा बढी नेताहरू पदका आकाङ्क्षी देखिए पनि उल्टै गुट बन्ने र नेतृत्वसँग च्याँठिने सम्भावना बढ्दै गएको हो । सुवासचन्द्र नेम्वाङ्ग, ईश्वर पोखरेल, विष्णु पौडेललगायतका नेताहरूले ओलीको सूचीसँग चित्त बुझाएका छैनन् । यसो हुँदा पार्टी झनै भाँडिँदैन भन्ने प्रश्नमा एमाले कार्यालय सचिव शेरबहादुर तामाङ भन्छन्, ‘एकताकै महाधिवेशन बनाउन त हामी लागिपर्‍या छौँ । त्यो सम्भव हुन्छ ।’

त्यसो त महाधिवेशनअन्तर्गतका सबै कार्यक्रमहरू ढिलोगरी शुरू भइरहेका छन्, कारण हो- पदकै रस्साकस्सी । लोकतान्त्रिक पद्धतिमा यसलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ । यद्यपि यसकै कारण समस्या बढेको अन्य नेताहरू स्विकार्छन् । नेता विष्णु रिजाल भन्छन्, ‘एकताकै महाधिवेशन हो । एकताकै महाधिवेशन हुन्छ । अलिक ढिलो हुनुलाई अन्यथा लिनुहुन्न ।’

त्यसो त एमालेभित्र अध्यक्षको दाबेदारी उपाध्यक्ष भीम रावल चरम असन्तुष्ट छन् । उनी ओलीले आफूलाई छाडिनुपर्ने बुझाइमा छन् । यो आफ्नो बुझाइ उनले घोषणापत्रमार्फत पोखेका छन् । कतिपयले रावलले वरिष्ठ उपाध्यक्षको ‘बार्गेनिङ’ गरिरहेको ठान्छन् भने कसैले पार्टी छाड्ने वा एकीकृत समाजवादीतिर डेरा सार्न लागेको विश्लेषण गर्छन् ।

यो एकताको महाधिवेशन कसरी हुन्छ ? भन्ने मकालुखबरको जिज्ञासामा रावलनिकट एक नेता भन्छन्, ‘महाधिवेशन त एकताकै हो । भनिएको पनि त्यसै हो । तर हुन चाहिँ हुन्छ कि हुँदैन हेर्न बाँकी छ । पेलेर चाहिँ एकता हुँदैन भन्ने मेरो बुझाइ छ ।’ पदाधिकारी टुङ्ग्याउने जिम्मा पाएका ओली पार्टीमा टुटफुट निम्तिन सक्नेतर्फ सचेत रहेको उनीनिकट नेताहरू दाबी गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *